नेता अनन्यमा, जनता भिन्न अन्तर्यमा

नेता त नीतिमा हिँड्छ, नीति र स्थितिको दिशातिर डो¥याउने अगुवा व्यक्तित्वको नाम ‘नेता’ हो । म नेता हुँ, फूलमाला लिएर आऊ, मेरो जयजयकार गर भनेर कोही भन्छ भने बुझौँ— ऊ नेता होइन, नेता दाबी गर्ने नाटकीय मञ्चमा नेपथ्यबाट निस्केको अभिनेता मात्र हो ।

उपेन्द्र प्रेमी

नेता हुनु, जानीबुझी ज्ञानी बनी राजनीतिको बाटो समात्नु जनताको सेवा र राष्ट्रको हितमा उत्रनु हो । देशको माटो, देशको वैभव र देशवासीका आशा–आकांक्षा देखेर, बुझेर र हेरेर सेवाको आदर्शलाई बोकेर जोकोही पनि राजनीतिमा आउँछ, नेतृत्व लिन्छ भने त्यो राम्रो कुरा हो । राष्ट्रसेवक भनेर केवल कर्मचारीलाई मात्र मानिने, राष्ट्ररक्षक सेना वा सशस्त्र प्रहरी मात्र होइन, अनि शिक्षक मात्र शिक्षादाता, पुजारी मात्र धार्मिक, मजदूर मात्र श्रमिक, नायक मात्रै प्राविधिक, हलोको कुरो चलाउने मात्र कृषक भन्ने होइन । राष्ट्र बनाउन, समाज उठाउन सबै–सबैको चेतना ती सबै सीप, कर्म र सेवामा हुनुपर्छ ।

यी सबै–सबै र जनताका साझा सरोकारका कुरामा समुचित संयोजन, समन्वय र सन्तुलन ल्याउने, विश्वासप्राप्त विज्ञ र विवेकी व्यक्तित्व नै वस्तुतः ‘नेता’ हो । त्यस्तो नेतृत्वबाट नै देश र समाजको सर्वतोमुखी उत्थान हुँदै जान्छ । तर हाम्रो नेपालमा, हाम्रो यो पूर्वीय प्रणालीमा नेता र नेतृत्वको आशय, अर्थ र आदर्शलाई अलिक अर्कै ढंगमा लिइन्छ वा अगालिन्छ । नेता भनेको अर्को कुनै जातको जस्तो, कुनै मातको, छुट्टै मतको वा उत्पातको व्यक्ति हो भन्ने अर्थमा अथ्र्याउन खोजिन्छ ।

नेता सामान्यजन होइन, सम्मानको स्थानमा भन्दा उपरी आसनमा आसीन असाधारण व्यक्तित्व भनेर बुझ्नपर्छ भन्ने बोध गराउन खोजिन्छ । वास्तवमा अर्थ त्यो होइन । हरेक सन्दर्भ, अवसर, आन्दोलन, उपद्रव, विद्रोह, विग्रह, प्रथा, विरोधको हुरी, भेल, मल र वादबाट खडा हुने हाम्रा नेता प्रायः आफूलाई विशिष्टीकृत अर्थले बुझून् भन्ने धारणा राख्दछन् ।

प्रत्येक व्यस्त प्रहरमा उदाएका नेताहरू आफूलाई अन्यभन्दा, अघिकाभन्दा अलिक बढी नै अब्बल ठान्दछन् । हामी जेल परेका, जेल फोडेर उम्केका, कडा विरोध गरेर लडेका, परिवर्तनका खातिर शिरमा कात्रो बाँधेर हिँडेका वीर योद्धा हौँ भन्दै त्यस्ता कतिपय नेता वीरताको गाथा गाएर विगत र आगतका अरू मनुष्यभन्दा आफ्नो स्थान उच्चस्थ होस् भन्ने आकांक्षा राख्छन् । वस्तुतः नेता र नेतृत्वको त्यस्तो परिभाषा अनुभूतिजन्य हुन सकोस्, त्यस्तै अभिमानीचाहिँ होइन । नेता र नेतृत्व अर्थ, मानका खातिर मात्र होइन, अरूभन्दा अझ देश र जनताको हितचिन्तन तथा सेवासाधना नै हो । सेवामा उद्यत पात्र नै नेता हो ।

नेता नीतिको, बेथितिको होइन

हो, नेता नीतिको निर्माता पनि हो, तर ऊ स्वयं आफैँ नीति होइन । मेरा वाक्य, मेरा भाषण, मेरा वाचा र मेरा घोषणा जब्बर छन्, मेरा यी कुरा वेद, पुराण, कुरान, बाइबल, त्रिपिटक र मनुस्मृतिभन्दा पनि उच्च कोटीका छन् भनी अहं दाबी गर्ने नेता सही नेता हुँदै होइन । उफ्रिएर, हाम्फालेर, कुर्लेर र वाग्द्वन्द्वको चमत्कार देखाएर नेताजीको पगरी गुथ्नेहरू हामीकहाँ तथा हाम्रा वरपर धेरै आए, तर सदा सम्झिइरहने ‘टावरिङ पर्सनालिटी’ का नेता निकै थोरै भए ।

नेता त नीतिमा हिँड्छ, नीति र स्थितिको दिशातिर डो¥याउने अगुवा व्यक्तित्वको नाम ‘नेता’ हो । म नेता हुँ, फूलमाला लिएर आऊ, मेरो जयजयकार गर भनेर कोही भन्छ भने बुझौँ, ऊ नेता होइन, नेता दाबी गर्ने नाटकीय मञ्चमा नेपथ्यबाट निस्केको अभिनेता मात्र हो । नाटक, चलचित्र, कथा, वा जात्रापर्व सन्दर्भका धारणा, सन्दर्भ, पात्र, दृश्य वा संवाद प्रायः काल्पनिक नै हुन्छन्, तर ती हो क्यारे जस्ता लाग्दछन् र रोमाञ्चक पनि हुन्छन् ।

त्यस्तै तालसुरबाट नेता हुनेहरूको स्थिति कालन्तरमा आफैँ फजुल भएर जान्छ । त्यसैले नेता नीतिमा हुन्छ । नीतिभित्र सबैलाई स्थितिमा ल्याउने, सबैलाई यथास्थानमा स्थित गराउने, निषेध, विभेद, पूर्वाग्रह र प्रतिशोध नराखेर चल्ने–चलाउने त्यस्तो उच्च चरित्र हो नेता । नेता भएर स्थिति बिगार्ने, भद्रगोल मच्चाउने, पुरपुरोको खाडल खन्ने र देशलाई रसातलमा पु¥याउने नेता के नेता ? त्यस्ता नेता कति आए, कति गए, आकाशमण्डलमा एकछिन चम्किएर गिर्ने ताराहरू कति छन् कति !

‘अनन्य’ मा मग्न नेता

हाम्रा प्रायः नेताहरू ‘अनन्य’ भावमा मग्न देखिन्छन् । उताउताका, कता–कताका सिद्धान्त र दर्शन बोकेर भविष्य सुधारका जादुगरी चर्तिकला देखाउने कतिपय नेताहरू आफ्नो देशको प्रकृति, संस्कृति र विधिलाई अनदेखा गर्दछन् । कतिले भने – हामी छिट्टै सिंगापुर बन्छौँ, कतिले फलाके, यो देश छिट्टै स्विट्जरल्यान्ड हुन्छ । कुनै ल्यान्ड वा कुनै अर्को ल्यान्ड बन्ने होइन । कुनै समूहका नेताका ग्याङ आएर हाम्रो ल्यान्ड अर्को ल्यान्डमा अन्यत्र बदलिने होइन । नेपाल नेपाल नै रहने हो ।

नेपाललाई नेपालमै राख्ने हो, कागलाई मयुरको रूपमा रूपान्तर गरेर के गर्ने ? हाम्रो रीतिस्थिति, प्रकृति, संस्कृति र प्रवृत्ति नेपालीमै हो । नेपाल परिवेशमा नेपालीको स्थितिमा सुधार ल्याउने परिपाटी नेपाली नेताले बसाल्ने हो । तर हाम्रा प्रायः नेताहरू अनन्य भावमा मग्न भएर अन्य–अन्यकै बखान गर्छन् । मन्त्री, प्रधानमन्त्री र नेता भएर प्रथमतः भारत जाने र त्यहाँ पुग्नेहरू सधैँ नै ‘अनन्य’ गान गर्दछन् । मैले सम्झौता लिएर आएँ, विकासको सन्धि गरेँ, अरूले नगरेको विकास साझेदारीको पारदर्शी कुरा गरेँ – अनुदानको आश्वासन लिएर आएँ आदि–आदि कुरा गरेर म अरूभन्दा फरक अर्थात् अनन्य भन्ने अहं भाव हाम्रा नेताहरूमा देखिन्छ ।

देशभित्र पनि त्यस्ता नेताहरूको रवाफ त्यस्तै छ । ती पुराना, ती बूढापाका र ती आधुनिक नवयुवक भन्दै, ‘हामी–हामी नयाँ, अब तिनको होइन हाम्रो हुकुम–हैकम’ भन्दै चरण–चरणका चलनचल्तीका नेता अद्यापि चम्किइरहेका छन्, भविष्यकाहरू पनि चम्कने तरखरमा छन् । हालै उज्यालो नेपालका शीर्ष नेताले, ‘घण्टी थन्किएपछि चम्किने पालो हाम्रो’ भनेर आफ्नो अनन्य भाव पोखेका छन् । अनन्यमा मग्न हुने सस्तो चरित्रबाट नेताहरूले आफूलाई मुक्त राख्नुपर्छ ।
हाम्रो जस्तो देश बहुलवादी देश स्वभावतः नेता धेरै हुने देश । २–४, ८–१० होइन, डेढ सयसम्मले थरीथरीका दल खोलेको देश । ‘नश्यन्ति बहुनायकाः’ भनिए पनि नाश न आस, नेता बन्ने ख्वाइस । तैपनि हामीकहाँ अहिले मूलतः राष्ट्रिय दलका रूपमा ६ वटा छन् । ती ६ पार्टीभित्र ६०० भन्दा बढी वरिष्ठ, मध्यम, कनिष्ठ तहका शिष्ट, अशिष्ट, भद्र, अभद्र अनेक नेताहरूको गोलमाल छ । कोही पुरातनका कुरा गर्छन्, कोही आधुनिक विज्ञानका ।

कोही–कोही चिल्ला कुरा गर्छन्, कोही खस्रा । खासगरी प्रत्येक चरण र प्रहरमा आउँदै बक्दै गर्ने नेताहरूमा यथास्थितिवादी, प्रगतिवादी, छलाङवादी, यथार्थवादीको कित्ता–कित्तामा नेताजीहरूको आफूखुसीको पंक्तिबद्धता पाइन्छ । नयाँ आउनेले हिजोकालाई नीति, संस्था र प्रक्रियाको कुरा गर्ने पुरातनपन्थी भन्छन् भने पुरानियाहरू नयाँउपर दर्शन र दिशाविहीन क्रमभंगी भन्ने गर्दछन् । देशलाई यथास्थिति पनि चाहिन्छ, परिवर्तन पनि चाहिन्छ । तर नेपाली नेताजीहरू, जता छल्को उतै मल्कोको झल्को दिन्छन् ।

फलतः न यता न उता – चाल हाँसको न कुखुराको । पुरातनका, इतिहासका र पुर्खाका कुरा न भुल्न हुन्छ, न त नवीनताका नाममा सारा कुरा भत्काउँदै बिगार्दै लैजान मिल्छ । नमिल्दा कुरा मिलाउने, सबै–सबै मिलेर कर्म–उपक्रममा तालमेल मिलाउने गरे पो देश बन्छ । देश बनोस् नबनोस्, समाजले मानोस् नमानोस, परस्पर दोषारोप गरेर नेताजीको उपाधि रहिरहोस् भन्ने दलपन्थी तथा आत्मवादी दृष्टिकोण र दिशाबोध नै ज्यादा देखिन्छ ।

परिवर्तनकारी र लाभग्राही

‘हामी यो देशका परिवर्तनकारी शक्ति हौँ; अनेक तुजुक, अनेक ताकत, अनेक त्याग र अनेक यातना भोग गरेर हामीले निर्माण गरेको यो परिवर्तन हो’ भन्ने एकथरी नेताको अहं दाबी छ भने, ‘तिनले थुपारेका फोहोर सफा गर्दै, नौलो बाटोको काम गरेर देश र समाजलाई समृद्ध पार्न आएका हामी कार्यकर्मी हौँ’ भन्ने अन्यान्यको चहकिलो र अहं वाणी सुनिन्छ । को कब्जाकारी नेता, को लाभग्राही हो, को निर्माता र को उपभोक्ता, दलभित्र फसल त्यसैको छ ।

फैसलाको पूर्ण पाठ धेरै वर्ष भयो आएको छैन र यसप्रकार आउने हो, त्यो पनि यकिन छैन । निर्माणकर्ता नेता र आधुनिकताका उपभोक्ता नेता भन्ने आरोप–प्रत्यारोप चल्दै आएको यो मुलुकमा अबको अर्थ–राजनीति उपभोक्तावादमा आधारित हुने उदारवादी धारणा अर्थमन्त्रीबाट व्यक्त भएको सुनिन्छ । मध्यमवर्गीय तहको स्तरोन्नति गरेर र पुँजीपतिको संरक्षण गरेर नै विश्वको धनी देश बन्छ भन्ने नयाँ भाष्य आएको छ । साम्यवाद, समाजवाद, मानवतावाद, गरिबी निवारण र ‘सर्वे भवन्तु सुखिनः’ को वेदवाद, अब पुरातन; भोगवाद नयाँ, लाभग्राही र लाभकारी नयाँ अर्थशास्त्रीय सूत्र ! त्यसैले को परिवर्तनकारी, को लाभग्राही, को गुणी, को बैगुनी, को कब्जाकारी र को मुक्तगामी ? नेता–नेताका मामिला खुट्याउनै कठिन ।

सत्यभन्दा ज्यादा प्रियता

हाम्रा शास्त्रीय श्रुति–स्मृतिको आदेश–उपदेश हो, सत्यम् वद, प्रियम् वद, धर्मम् चर । सत्य बोलेर सत्य, सही, स्वच्छ, निष्पक्ष प्रतिफल प्राप्त गर; मीठो बोलेर सबैलाई रिझाऊ, मीठो कुरा गरेर सबैको प्रिय पात्र नेता बन र धर्मको मार्गमा हिँडेर सबैको भलो गर र पुण्य कमाऊ भन्ने ती सदुक्तिको आशय हो । तर नेपाली नेतामा पहिलो र तेस्रो त्यो सनातनी होइन, ज्यादा जोड दोस्रोमा छ । अर्थात् ‘प्रियम् वद’ भन्ने स्तोत्र प्रायः हाम्रा धेरै नेताहरूमा कण्ठस्थ छ । सत्य जे होस्, जतासुकै होस, ३५–३६ को उमेरदेखि ७६–८६ सम्म आफ्नो नेतागिरी, आफ्नो नेतृत्व र आफ्नो प्रशस्ति रहिरहोस् भन्नेमै हाम्रा नेताहरूको ज्यादा आशक्ति छ ।

त्यसैले त दलहरूका मिठा–मिठा, स्वादिला चुनावी घोषणा, वाचा, करारनामा र कार्यक्रमहरू आउँछन् । सत्यता नभएका तथा सही सत्य परिणतिमा नआउने खालका ती सबै वचनबद्धता खल्लो भएर जान्छन् । मिठो बोल्ने हो, भोट तान्ने हो, सत्य–असत्य, सही, स्वच्छ र यथार्थ जे होस्, राजनीतिमा ‘प्रियतावाद’ मूल आवश्यकता हो । त्यसैले सत्यपथ र धर्मपथतिर भन्दा हाम्रा स्वनामधन्य नेताजीहरूको मूल कर्म ‘प्रियम् वदता’ नै हो, घण्टी बजाएर होस्, सुमधुर स्वर चर्काएर होस्, रुख, सूर्य, तारा देखाएर होस् वा बिजुली चम्काएर होस, प्रिय बन्ने, सत्ता हासिल गर्ने र चाटुकारी नेता बनेर आफ्नो समूहको पक्ष घोषणा गर्ने, यही हो हाम्रो राजनीति र नेतृत्वको स्थिति ।

हाम्रो राजनीति र हाम्रो नेतृत्व शक्तिभन्दा फरक छ हाम्रो देशको दशा र नेपाली जनताको अन्तर्य । नेता अनन्य छन्, तर जनताको अन्तर्य अर्कै छ । देश दशामा छ, देशमा देशीयता छैन । नेताहरूको दिशा–दृष्टि देशसम्मत छैन, छैन । हाम्रो ढुकुटी हाम्रो हातमा छैन, हाम्रो प्रकृति, हाम्रो आर्थिक स्थिति – हामीभित्र छैन । घरज्वाइँलाई भिœयाएर देशको सम्पत्ति स्वाहा नपार्न, अरूको भर नपर्न र आफ्नो स्रोत, सम्पत्ति, खानी, खनिज, औषधि आदिको खोजी गर्नु भन्ने देशीय धर्म नष्ट भएको छ ।

देशले त्यस्तो राम्रो गर्ने नेता खोजेको छ । नेतामा त्यस प्रकारको अनन्यता भइदिए हुन्थ्यो, खोक्रो, फोस्रो क्रमभंगता भन्दा त्यस खालको विशिष्टता भएको नेता आइदिए हुन्थ्यो भन्ने देशको अपेक्षा हो । त्यसैगरी जनताको भित्री मनको मत अर्थात् आत्माको आवाज पनि त्यही किसिमको हो, देशमै विकासको, रोजगारीको रेल र उद्यमको ढोका खुलोस्, परनिर्भरतातिरको भंगी अवस्थाको अन्त्य होस् र आत्मनिर्भरताको दिशातिर देश अघि बढोस् भन्ने जनताको अन्तर्य हो । देशका छोराछोरी बाहिर जाने, हाम्रो आफ्नो जन्मदर घट्ने तर विहारका कामदार, चाटुकार आएर हामीलाई ठगठाग गर्ने, तिनकै शाखासन्तान भरिएर यहाँ ठेलमठेल गर्ने यो खालको दशा जो देखिएको छ, त्यो नेपाल र नेपालीको हितमा छैन ।

नेपाललाई दोहन गरेर यहाँको वैभव बाहिर ओसार्ने र नेपालीलाई गलाएर, फकाएर, मक्याएर वा फुटफाटमा पारेर नेपाललाई आफ्नो प्रभावभूमि तथा क्रीडास्थल बनाउने प्रक्रिया जो चलिरहेछ, त्यसमा नेपालीहरूको चित्त बुझेको छैन । त्यस्तो नहोस, हाम्रा सन्तति यहीँ बसुन्, यहीँ बढुन्, यहीँ काम गरुन् र यही देशलाई सिंगारुन् भन्ने जनताको अन्तर्य हो । तर क्रमभंगता भन्दै, अरूभन्दा भिन्नता भन्दै र पुरानियामा भन्दा हामीमा अनन्यताको वैशिष्ट्य भन्दै हाम्रा नेताहरूमा, देशलाई कंगाल बनाउने खेल जुन चलिरहेको छ, त्यो घातक छ, विनाशक छ । देशको दशा, दोष नदेख्ने र जनअन्तर्य नबुझ्ने नेतृत्वबाट ती सारा कुरा पूरा हुँदैनन् ।

हिजो र आजका अगुवा

हिजोका केही कुरा हिजोकै खालका हुन्छन् । सधैँ उही, सधैँ त्यही, झ्याउलाग्दा पनि हुन्छन् । हिजो हिजो हो, गयो, बित्यो । आज भनेको नयाँ हो, ताजा हो, चम्किलो र चहकिलो पनि हो । त्यसैले नयाँ नेता, नयाँ फेता, नयाँ माना, नयाँ गाना राम्रै कुरा हो । नेपाली राजनीतिमा यस्तै तानाबाना अघि बढिरहेछ, नयाँ–नयाँ अगुवा नेताहरूको आगमनले नवीनतम आशा–अभिलाषा पनि बढिरहेछ । यो पनि राम्रै कुरा हो । तर हिजो गाउँ, सहर, बस्तीदेखि केन्द्रबिन्दुसम्मका नेताहरूमा जुन प्रकारको सेवा, निष्ठा र निस्वार्थता थियो, त्यो यता आएर छैन ।

तलब, भत्ता, दान, उपदान, अनुदान, सेवा–सुविधा अहिलेका नेताहरूको धन्दा हो । पञ्च नेताहरू पनि गाउँगाउँमा कुनै भत्ता, सुविधा, खाजा–खान्की नलिई सेवा गर्थे । अस्तिताका कता हो बेरुजु परीक्षण गर्दा विगत १० वर्षमा स्थानीय निकायले खाजापानी र म्याद नाघेका शीर्षकमा भनेर तीन ३ खर्ब रकम सखाप पारेको खबर आएको थियो । हिजो श्रमदानको कुरा हुन्थ्यो ।
गाउँवासीहरू ग्रामीण अगुवाको आग्रह वा योजनामा कुलो, पैनी, बाटो, गल्ली, पाठशाला, स्वास्थ्यचौकी, चौतारी, पाटी–पौवा, खेलमैदान आफैँ तयार गर्थे । आफ्नो माटो, आफ्नो प्रवृत्ति र आफ्नो सामान्य आवश्यकताको परिपूर्तिका निम्ति केन्द्र, अञ्चल वा जिल्लाको मुख ताक्ने होइन, राजनयिक र सांस्कृतिक आदर्श थियो । अब त्यो हराएर गयो । माटोलाई समातेर आफ्नै संस्कृतिको अवलम्बन गर्नुपर्छ भनेर आएको एउटा पार्टीका केही अगुवाहरूले खोटाङको एउटा दुर्गम सेवा क्षेत्रमा श्रमदानद्वारा काठेपुल बनाएको एउटा खबर पनि गत हप्ता आयो । त्यस्तो कुरा हाम्रो जस्तो देशका निम्ति एउटा उज्यालो पाटो हो । तर अनन्यताको अनेक थरी भाषणबाजी गर्ने र बिनामेसो आफ्ना अगुवाको बोलीलाई ताली बजाएर स्तुतिगान गर्ने आजको नेता–पद्धति त्यतिविधि स्तुतिलायक देखिन्न ।

अनन्यताको तात्पर्य, आशय र अधिक अन्तर्य

अरूभन्दा भिन्न, हामी पूरक, पुराना अगुवामा भन्दा हामीमा अनन्यता भन्ने कुरा नराम्रो कुरा होइन । अरूभन्दा थप सामथ्र्य जनाउने कुराले राष्ट्र निर्माणको महासंग्राममा राम्रै गर्छ । गीतामा श्रीकृष्णले अर्जुनसँग अनन्यताको विषय र आफ्नो सामथ्र्य धेरैपटक बताएका छन् । कतिभन्दा पनि नपत्याउँदा कुरुक्षेत्रको कुनामा लगेर आफ्नो विराट रूपसमेत देखाएका छन् । हाम्रा नेताहरूले २००७ सालदेखि २०८२ को फागुन २१, २०८३ को जेठ बित्दासम्म म अरूभन्दा भिन्न भन्दै ‘अनन्य गान’ गाइरहेछन् ।

कतिपय अहिलेका नेताहरू त्यही अनन्य शैलीमा, ‘हाम्रो ४–५ ठाउँमा घरद्वार छ, सयौँ रोपनी हाम्रो जग्गाजमिन छ, विभिन्न बैंक, कम्पनी र मार्केटमा हाम्रो लाखौँ–करोडौँ पुँजी, सञ्चिति, सेयर लगानी एवं साझेदारी छ’ भनेर आफ्नो पुख्र्यौली तथा आफ्नो औकातको विराट बखान–रूप देखाइरहेछन् । त्यसले नेपाली जनको अन्तर्यमा कृष्णको जस्तो ‘शरणम्’ भनेर धनञ्जय अर्जुनलाई गीतोपदेशमा भनेको कुराको कुनै माने राख्दैन ।

१ जना अगुवा नेता प्रभु साहले यसअघि भन्ने गर्थे, ‘नेपालको पुँजी सामथ्र्य केवल १० प्रतिशतले ओगटेको छ, नेपालको श्रीसम्पत्तिको एकतिहाइ अंश नेपालकै सन्ततिले विदेशतिर लगेका छन् ।’ हो, त्यस्तो नरोक्ने नेता अनन्य हुन सक्दैन । त्यसैगरी पुँजी पलायन, राष्ट्रको दोहन र राजनीतिक भागबन्डाका बारेमा बरोबर बोल्ने, पहिले रुखबाट सूर्यका, पछि स्वतन्त्र भएर आएका र अहिले घण्टी भिरेका अमरेशकुमारको अभिव्यक्ति पनि यो सन्दर्भमा मननीय मानिन्छ । तर गर्नु के ? अनन्यताको तात्पर्य र आशय बढी राजनीति प्रेरित, प्रियतावादी मात्र भइदिएपछि हुने के ? जनताको मनको अधिक अन्तर्य अर्कै छ, अधिकतर जनता करको बोझ ऋणको भार र भ्याटको चक्रव्यूहकै मारमा छन् ।

नेताहरू आफूलाई अहोरात्रकै ‘हुरहुरी पात्र’ ठान्दछन् । कसैलाई भेट्न, कसैसँग बोल्न, यताउती देखिन कतिलाई फुर्सदै छैन । काम, काम, कामको मन्त्रीस्तरीय एउटै मन्त्र, तर हुँदोखाँदो आमजनताको कामको छेको हेर्दा खासै देखिएको छैन । तर पनि नबोल्नु, नदेखिनु, तथापि भित्र–भित्र गुप्त काममा लागिरहनु, पुराना कुरालाई बिगारेर, भत्काएर अरूभन्दा फरक ढंगले सपार्न खोज्नु ‘अनन्य कर्म’ भनिएको छ । राम्रो–नराम्रो, समय र उमेरले देखाउँदै जाने कुरा हो । हेर्दै जाऊँ !

प्रतिक्रिया