
जनकपुरधाम । ‘परम पवित्र भूमि जनक नगरीया स, हमरोके कहा लेने जाइछे रे कहरीया’ (अर्थात्, ‘मेरो जनकको पवित्र भूमिबाट मलाई कहाँ लिएर जाँदै छौ, हे कहरिया ?’) भन्ने मार्मिक लोकगीत परम्परागत विश्वासअनुसार भगवान् रामसँग विवाह सम्पन्न भएपछि माता सीताको जनकपुरधामबाट हुने बिदाइका बेला यस गीतका भावहरू अभिव्यक्त भएका मानिन्छन् । समयको परिवर्तनसँगै यही गीत मिथिला समाजमा छोरीको विवाहपछिको बिदाइ संस्कारसँग जोडिएको छ । आज पनि विवाह सम्पन्न भएपछि माइतीघरबाट बिदा हुने क्रममा छोरीहरूले यस गीतमार्फत आफ्नो भावनात्मक पीडा, माया र बिछोडको अनुभूति व्यक्त गर्ने गर्दछन् । यस गीतमा प्रयोग भएको ‘कहरीया’ शब्दको अर्थ पालकी बोक्ने व्यक्ति हो । विगतमा मिथिलाञ्चल क्षेत्रमा विवाहका लागि दुलहा पालकीमा चढेर दुलहीको घर जाने परम्परा थियो । विवाह सम्पन्न भएपछि दुलहा र दुलही दुवै सोही पालकीमा बसेर घर फर्किने गर्दथे । पालकीलाई अगाडि र पछाडिबाट काँधमा बोकेर लैजाने व्यक्तिहरूलाई ‘कहरीया’ भनिन्थ्यो ।
मिथिला सभ्यता हजारौँ वर्ष पुरानो सांस्कृतिक परम्पराले समृद्ध क्षेत्र हो । यस क्षेत्रको विवाह संस्कार, लोकगीत, लोककला र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको एउटा महत्वपूर्ण परम्परा हो पालकी (डोली, पल्की, कहार) । आज आधुनिक यातायातका साधनहरूको विकाससँगै यो परम्परा लोपोन्मुख अवस्थामा पुगेको छ । तर पालकी केवल यातायातको साधन नभई मिथिलाको सांस्कृतिक पहिचान, भावनात्मक सम्बन्ध र सामाजिक इतिहासको जीवित प्रतीक हो । इतिहासकारहरूका अनुसार पालकीको प्रयोग भारतीय उपमहाद्वीपमा प्राचीनकालदेखि हुँदै आएको थियो । ‘पालकी’ शब्द संस्कृतको पल्यंकबाट विकसित भएको मानिन्छ, जसको अर्थ यात्राका लागि प्रयोग हुने शय्या वा आसन हो । रामायणकालमै पालकीको उल्लेख पाइन्छ भने मध्यकालीन भारतमा राजा, रानी, सामन्त तथा धनी वर्गको प्रमुख यातायात साधनको रूपमा यसको प्रयोग हुन्थ्यो । मुगल शासनकालमा समेत पालकी सैनिक, प्रशासनिक तथा विशिष्ट व्यक्तिहरूको आवागमनका लागि प्रयोग हुने गरेको इतिहासमा उल्लेख छ । पछि रेल, सडक र मोटर यातायातको विकास भएपछि यसको प्रयोग क्रमशः घट्दै गयो ।
मिथिलामा पालकीको सबैभन्दा बढी सम्बन्ध विवाह संस्कारसँग रहेको पाइन्छ । परम्परागत रूपमा विवाह सम्पन्न भएपछि दुलहीलाई माइतीघरबाट ससुराली लैजान पालकी प्रयोग गरिन्थ्यो । यसलाई स्थानीय भाषामा ‘डोली’ वा ‘पालकी’ भनिन्थ्यो । दुलहीको बिदाइसँग जोडिएको यो क्षण अत्यन्त भावुक मानिन्थ्यो, जसलाई लोकगीतहरूले अझ मार्मिक बनाउने गर्थे । मिथिला चित्रकलामा समेत पालकीको उल्लेखनीय स्थान छ । धेरै मधुबनी तथा मिथिला चित्रहरूमा विवाह जाँत, दुलहा र पालकीमा बसेकी दुलहीको चित्रण पाइन्छ, जसले पालकी मिथिला संस्कृतिको अभिन्न अंग रहेको पुष्टि गर्छ ।

करिब ३ दशकअघिसम्म पालकीमा चढेर विवाह गर्न जानु युवाहरूको ठुलो रहर र प्रतिष्ठाको विषय मानिन्थ्यो । आर्थिक अवस्थाअनुसार निम्न आय भएका परिवारहरूले साधारण किसिमका पालकी भाडामा लिने गर्दथे भने सम्पन्न परिवारहरूले आकर्षक डिजाइन र सजावट गरिएका महँगा पालकी प्रयोग गर्थे । यद्यपि दुलहा–दुलहीका लागि पालकीमा यात्रा गर्नु गौरव र खुसीको विषय भए पनि कहरीयाहरूका लागि यो निकै कठिन श्रम थियो । एकातिर पालकीको आफ्नै तौल, अर्कोतिर त्यसमा बसेका दुलहा वा दुलहा–दुलहीको भार काँधमा बोकेर लामो दुरी पार गर्नु उनीहरूका लागि चुनौतीपूर्ण कार्य हुन्थ्यो । तर जीविकोपार्जनको बाध्यताले उनीहरू यो पेसामा संलग्न रहन्थे ।
समयसँगै परिस्थितिमा परिवर्तन आयो । वैदेशिक रोजगारीका अवसर विस्तार हुन थालेपछि अशिक्षित तथा आर्थिक रूपमा कमजोर वर्गका मानिसहरू पनि रोजगारीका लागि विदेश जान थाले । फलस्वरूप पालकी बोक्ने जनशक्ति अभाव हुन थाल्यो । अर्कोतर्फ, हिन्दी चलचित्र र आधुनिक जीवनशैलीको प्रभावसँगै विवाहमा जिप, कार तथा अन्य सवारी साधनहरूको प्रयोग बढ्दै गयो । यसले परम्परागत पालकी संस्कृतिलाई क्रमशः विस्थापित ग¥यो । आफ्नो परम्परा जोगाउन र जीविकोपार्जनका लागि पुस्तौँदेखि यो पेसा अपनाएका कहरीयाहरू अन्ततः पेसा परिवर्तन गर्न बाध्य भए । कहरीयाहरू हराउँदै जाँदा पालकी अर्थात् कहारको प्रयोग पनि लगभग समाप्त भयो । आजभोलि मिथिलाको विवाह संस्कृतिसँग जोडिएको यो ऐतिहासिक सम्पदा केवल संग्रहालय तथा म्युजियमहरूमा मात्र देख्न पाइन्छ । कुनै समय विवाह संस्कारको अभिन्न अंग रहेको कहार अहिले मिथिलाको हराउँदै गएको सांस्कृतिक विरासतको प्रतीक बनेको छ ।
पालकी (डोली)मा आएकी दुलहीलाई भगवती सीता स्वरूप मानी मिथिलामा प्रख्यात लोकगीत अहिले पनि विवाहको समयमा गुञ्जेको हेर्न सकिन्छ :
सीता डोलीमे सबार, रामचन्द्र नीचा मे छथि ठाढ़
ई नहि उचित विचार, अवधपुरमे
सीता होउ ने बहार, कते करै छी सम्हार
होयत बिध–बेवहार, अवधपुर मे
जगमग दीप जराउ, सखि सख मंगल गाउ
कौशल्या गूड खोआउ, अवधपुर मे
आजु सोन लुटायब, अवधपुर मे

मिथिला तथा मधेसको सांस्कृतिक पहिचानसँग जोडिएको पालकी (कहार) परम्परा आधुनिक यातायातको विकाससँगै विस्तारै लोप हुने अवस्थामा पुगेको छ । एक समय विवाह, धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण मानिने पालकी आज संग्रहालय र लोकस्मृतिमा सीमित बन्दै गएको छ ।
यस परम्पराको संरक्षणका विषयमा विभिन्न विद्वान तथा संस्कृतिकर्मीहरूले आ–आफ्नो धारणा व्यक्त गरेका छन् । प्राडा राजेन्द्र विमलका अनुसार पालकी केवल यातायातको साधन मात्र नभई मिथिलाको सभ्यता, संस्कृति र सामाजिक इतिहासको महत्वपूर्ण दस्तावेज हो । उनले पालकीसँग सम्बन्धित लोकगीत, लोककथा र परम्पराहरूलाई समेत संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनका अनुसार विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय संस्कृति र पालकी परम्पराबारे अध्ययन सामग्री समावेश गरिनुपर्छ । साथै, स्थानीय तहले सांस्कृतिक उत्सवहरूमा पालकी प्रदर्शनलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ ।

त्यसैगरी प्राडा भोगेन्द्र झाले पालकी परम्परा मिथिलाको सामूहिक जीवनशैली र सामाजिक सम्बन्धको प्रतीक रहेको बताए । उनले पालकीसँग जोडिएका कहार समुदायको योगदानलाई सम्मान गर्नुपर्ने उल्लेख गर्दै राज्यले यस परम्परालाई अमूर्त सांस्कृतिक सम्पदाको रूपमा अभिलेखीकरण गर्नुपर्ने बताए । उनका अनुसार पालकी निर्माण गर्ने कारिगरहरूको सीपलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिनुपर्छ । साहित्यकार नित्यानन्द मण्डलका अनुसार पालकी मिथिला लोकसंस्कृतिको जीवित प्रतीक हो । उनले विवाह तथा सांस्कृतिक कार्यक्रममा प्रतीकात्मक रूपमा पालकी प्रयोग गर्ने परम्परालाई पुनर्जीवित गर्नुपर्ने बताए ।

पालकीसँग सम्बन्धित लोकगीत, विशेषगरी विवाहमा गाइने कहरिया गीतहरूको संरक्षण र दस्तावेजीकरण आवश्यक रहेको उनको भनाइ छ । उनले साहित्य, नाटक तथा चलचित्रमार्फत पालकी संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउन सकिने धारणा व्यक्त गरे । पत्रकार कैलाश दासका अनुसार पालकी परम्पराको संरक्षणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहन्छ ।
उनले पालकीसँग सम्बन्धित इतिहास, परम्परा र सांस्कृतिक महत्वबारे नियमित रूपमा समाचार, लेख, वृत्तचित्र तथा विशेष कार्यक्रम प्रसारण गर्नुपर्ने बताए । उनका अनुसार सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रयोग गरी युवापुस्तालाई पालकी संस्कृतिप्रति आकर्षित गर्न सकिन्छ । राज्य, स्थानीय तह, संस्कृतिकर्मी र सञ्चार क्षेत्रबीच समन्वय भएमा पालकी परम्पराको संरक्षण सम्भव हुने उनको विश्वास छ ।
यद्यपि पालकी दैनिक जीवनबाट हराएको छ, यसको सांस्कृतिक महत्व भने अझै जीवित छ । भारतको बिहार तथा नेपालका मिथिलाका केही ग्रामीण क्षेत्रमा विवाहमा प्रतीकात्मक रूपमा पालकी प्रयोग हुने गरेको पाइन्छ । मिथिलामा विलुप्त भइसकेका यस्ता कैयौँ परम्परालाई पुनः जीवित गर्नका लागि आफ्नो संस्कृति आफैँ बचाउ बन्ने नाराका साथ अगाडि बढ्नु आवश्यक छ, किनभने मिथिला संस्कृतिको धनी भूगोलको रूपमा चिनिन्छ र यसलाई बचाइराख्न निरन्तर पहलको आवश्यकता रहेको छ ।

जनकपुर
प्रतिक्रिया