दलितभित्रको दलित : आफ्नै आँगनको अछूत !

गैरदलितसँग लडिरहेका दलित समुदायभित्रै छुवाछूतको डरलाग्दो कथा

लुम्बिनी । ‘गैरदलितबाट हेपिनु त हाम्रा लागि पुस्तैनी पीडा हो नै, तर आफ्नै समुदायभित्रको जात हेरेर पानीसमेत नचल्ने अवस्था देख्दा मन भक्कानिएर आउँछ,’ शुद्धोधन गाउँपालिका कपिलवस्तुका ३४ वर्षीय रमेश नटुवाले मलीन स्वरमा पीडा पोखे । केही दिनअघि एक साथीको घरमा बिहेभोज खान गएका उनी नटुवा जातको भएकै कारण छुट्टै लाइनमा बस्न बाध्य पारिए । कथित उपल्लो जातबाट हुने विभेदविरुद्ध लड्ने कसम खाएका रमेशले आफ्नै समुदायका अग्रजबाट यस्तो व्यवहार खेप्नुपर्ला भन्ने सोचेका पनि थिएनन् ।

नेपाली समाजको एउटा निकै कुरूप तर तितो यथार्थ हो— अन्तरदलित विभेद अर्थात् दलित समुदायभित्रै हुने छुवाछूतको कुप्रथा । सदियौँदेखि कथित उपल्लो जातबाट उत्पीडित रहँदै आएको दलित समुदायभित्रै मौलाएको यो छुवाछूतले दलित मुक्तिको मूल मर्ममै गम्भीर प्रश्न खडा गरेको छ । यो केवल सामाजिक विसंगति मात्र होइन, बरु एउटा गहिरो मनोवैज्ञानिक दासत्व पनि हो, जसले दलित आन्दोलनको नैतिक धरातललाई नै क्रमशः खिया लगाइरहेको छ ।

कोहलपुर, बाँकेकी सुन्तली परियार (परिवर्तित नाम) को भोगाइ पनि भिन्न छैन । छिमेकी विश्वकर्मा परिवारको घरमा आयोजित पूजा हेर्न उनकी ७ वर्षीया छोरी आँगनमा पुग्दा छिमेकीले ‘ए केटी ! पूजाको सामान छोइन्छ, तल गएर बस !’ भन्दै हकारे । सुन्तलीले आँसु पुछ्दै भनिन्, ‘गैरदलितले छुवाछूत गर्दा त कानुनी लडाइँ लड्ने हिम्मत आउँथ्यो । तर, आफ्नै दलित दाजुभाइले आँगनबाटै लखेट्दाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ ।’

‘समाजमा जातीय तथा वर्ण व्यवस्थाले मानिसको मगजमा एउटा यस्तो भाइरस हालिदिएको छ, जसले गर्दा प्रत्येक मानिस आफूभन्दा माथि को छ भनेर हेर्नुभन्दा पनि ‘मभन्दा तल कोही छ कि छैन’ भनेर खोज्न थालेको छ,’ सुन्तलीले भनिन् । छिमेकी विश्वकर्मा परिवारको घरमा पूजाको कार्यक्रम चलिरहँदा आँगनमा चहलपहल थियो, तर उनीसहित अन्य पानी नचल्ने भनिने तल्लो जातका दलितलाई त्यहाँ प्रवेशको अनुमति थिएन । ‘हामी पनि दलित, उनीहरू पनि दलित— तर सियो चलाउने (परियार) र खुकुरी अर्जाप्ने (विश्वकर्मा) भन्दै पानीसमेत चल्न दिँदैनन्,’ सुन्तलीले थपिन्, ‘दलितले गैरदलितबाट भोग्दै आएको अपमानभन्दा पनि तितो यथार्थ हो अन्तरदलित विभेद । जसले दलित मुक्तिको मूल मर्ममाथि नै प्रश्नचिह्न खडा गर्छ । यो आफैँभित्र सल्केको त्यो आगो हो, जसले दलित आन्दोलनको नैतिक आधारलाई जलाउँदै छ ।’

नेपालको दलित समुदायमा पहाडी र मधेसी गरी २ प्रमुख धार छन् । पहाडी दलितमा विश्वकर्मा (सुनार, कामी, लोहार, ओड, गहतराज, वाकले, टोमटा, गहतराज, चुनिया÷चुँदारा), दमाई (परियार, दर्जी), सार्की (मिजार र चर्मकार), गन्धर्व, बादी, च्यामे, पोडे आदि पर्छन् भने मधेसी दलितअन्तर्गत चमार (हरिजन), मुसहर, धानुक, खत्वे, चिडीमार, दुसाध (पासवान), धोबी, ढाढी, पासी, डोम, धरिकार, नटुवा, पथरकट्ट र हलखोर आदि पर्छन् । यिनमा पनि कतिपय जातले आफूलाई ‘चोखो र उपल्लो’ ठान्दै पानी बाराबार गर्ने प्रवृत्ति नेपाली समाजमा अझै पनि जीवित छ ।

अर्घाखाँचीका २४ वर्षीय रमेश मिजार (सार्की) लाई आफ्नै गाउँमा आयोजित एक विवाहको भोजमा उपल्लो समुदायका उनीसँगै पढ्ने साथीले ‘हाम्रो भान्सामा सार्कीहरू आउन पाउँदैनन्’ भन्दै छुट्टै बस्न लगाएको घटनाले यो सबै विद्रूप छताछुल्ल पार्छ । रमेशलाई लाग्यो— आफूहरू त एउटै वर्ग र समुदायका साथी हौँ, स्कुलमा सँगै पढेका भाइ हौँ । तर, उच्च जातको अहंंकारले यहाँ साथीलाई पनि पराई बनाइदिएको थियो ।

पहाडमा विश्वकर्मा (सुनार, लोहार, टोमटा) हरू आफूलाई ‘चोखो र उपल्लो’ श्रेणीको दलित ठान्छन् र सार्की, बादी, च्यामे वा पोडेहरूलाई पानी बाराबारको व्यवहार गर्छन् । रमेशले आक्रोश मिसाउँदै भने, ‘ठुल्ठुला मञ्चमा उभिएर ‘हामी सम्पूर्ण दलितहरू एक हौँ, राज्यले हामीलाई विभेद गर्यो’ भन्दै भाषण ठोक्ने नेताहरू घर फर्केपछि आफ्नै भान्सामा अर्को दलितलाई टेक्न दिँदैनन् । यही नै हाम्रो समाजको सबैभन्दा ठुलो ढोङ हो ।’

राष्ट्रिय दलित आयोगको परिभाषाले भन्छ, ‘दलित भन्नाले परम्परागत धार्मिक अन्धविश्वासका आधारमा पानी नचल्ने र अछूत भनी आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक रूपमा राज्यको मूल प्रवाहबाट वञ्चित, तर श्रम, सीप र कलाका माध्यमबाट राज्य र समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति वा समुदायलाई बुझाउँछ ।’ विडम्बना ! यही विविधताभित्रै जातिगत सोपानतन्त्र बनेको छ । हिमाल र पहाडमा कामीले दमाई÷सार्कीलाई तथा तराई–मधेसमा चमार (हरिजन) ले पासी, नटुवा, धरिकार र डोमलाई ‘तल्लो जात’ सम्झेर हेप्ने प्रवृत्ति कायमै छ ।

यद्यपि, नेपालका दलित अगुवाहरूले शताब्दिऔँदेखि गैरदलित शासक वर्गबाट हुँदै आएको उत्पीडनविरुद्ध निरन्तर संघर्ष गर्दै आएका छन् । विडम्बना यो छ कि, समाजशास्त्रमा ‘सांस्कृतिक प्रदूषण’ वा ‘मनोवैज्ञानिक दासत्व’ भनिने यो जातीय विभेदको प्रणालीलाई दलित समुदायले नै अनजानमै आत्मसात् गरिरहेको छ । फलाम वा सुनको काम गर्नेले छालाको काम गर्नेलाई वा कपडा सिउनेले फोहोर उठाउने जातिलाई हेयको दृष्टिले हेर्ने र पानी बाराबार गर्ने प्रवृत्ति अझै जीवित छ । पश्चिम नवलपरासीका रामु डोमले भने, ‘उपल्लो दलितसँग विवाहबारे त सोच्नै सकिन्न ।’

आन्दोलनहरूले अधिकारको माग गरे पनि आन्तरिक विभेदको आगो निभाउन पहल हुन सकेको छैन । दलित नेताहरूले गैरदलितको उत्पीडनविरुद्ध ठुल्ठुला भाषण गरे पनि, आफ्नै समुदायभित्रको छुवाछूतबारे मौन देखिएका छन् । दलित नागरिक समाज र विभिन्न संघसंस्थाको अध्ययनअनुसार नेपालमा हुने जातीय विभेदका घटनामध्ये १५ देखि २० प्रतिशत दलित समुदायभित्रै हुने गर्छ । यस्ता घटनालाई ‘आफ्नै भाइखलकको कुरा हो’ भन्दै गुपचुप मिलाइन्छ, जसले गैरदलितलाई ‘पहिले तिमीहरू आफैँभित्रको छुवाछूत हटाऊ’ भन्ने ओठे जबाफ दिने आधार मिल्छ ।

यो विडम्बनापूर्ण अवस्थाले गैरदलित कट्टरपन्थीहरूलाई दलित आन्दोलनमाथि खिल्ली उडाउने ठुलो हतियार थपिदिएको छ । जबजब दलितहरूले गैरदलितबाट हुने विभेदविरुद्ध आवाज उठाउँछन्, तबतब ‘पहिले तिमीहरू आफैँभित्रको छुवाछूत हटाऊ, अनि मात्र हामीसँग कुरा गर’ भन्ने ओठे जबाफ दिइन्छ । यो तर्क आफैँमा कुटिल र अन्यायपूर्ण भए पनि यसले दलित आन्दोलनको नैतिक जगलाई कमजोर भने पक्कै बनाएको छ ।

शासक वर्गका लागि दलित समुदायभित्रको यो आन्तरिक फुट ‘फुटाऊ र राज गर’ भन्ने पुरानो नीति लागू गर्न सधैँ अनुकूल वातावरण बन्ने गरेको छ । जबसम्म एकले अर्को दलितको अस्तित्व, श्रम र आत्मसम्मानलाई हृदयदेखि स्वीकार गर्दैन, तबसम्म दलित मुक्ति र समतामूलक समाजको निर्माण कोरा कल्पना मात्र बन्ने देखिन्छ । यो गहिरो सामाजिक घाउको उपचार केवल कानुनको डन्डा एवं दण्ड सजायले मात्र सम्भव छैन ।

यसका लागि दलित समुदायभित्रै एउटा बृहत् र निर्मम सांस्कृतिक क्रान्ति र आत्मसमीक्षाको अभियान सुरु हुनुपर्छ । ‘जुनसुकै समुदायभित्रको ठुलो रूपान्तरण नयाँ पुस्ता र शैक्षिक चेतनाबाट मात्र सम्भव छ,’ अधिकारकर्मी तथा लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँले भने, ‘पुराना पुस्तामा रहेको रूढीवादी र परम्परावादी सोचलाई नयाँ शिक्षित दलित युवाहरूले सीधै चुनौती दिनुपर्छ । युवाहरूले बुझ्नुपर्छ कि उनीहरूको लडाइँ कुनै निश्चित व्यक्ति वा जातसँग होइन, बरु सिंगो मानव अस्तित्वलाई नै वर्गीकरण गर्ने जात व्यवस्थाको विभेदकारी मानसिकतासँग हो ।’

पहाडी दलितहरूमा कामीले सार्की र डोमले छोएको पानी चल्दैन । त्यसैगरी मधेसी दलितमा चमारले दुसाध, नटुवा र डोम जातिलाई आफूभन्दा तल्लो दर्जाको मान्ने र उनीहरूले छोएको पानी नखाने चलन छ । एउटा कामीको छोरा वा छोरीले दमाई वा सार्कीसँग विवाह गर्दा परिवारले स्वीकार नगर्ने र गाउँ नै छाड्नुपर्ने स्थिति आउँछ । पासी, नटुवा र हल्खोर÷डोमबीचको विवाहमा कडा सामाजिक बन्देज आजसम्म कायमै छ ।

कोटहीमाई–१ रूपन्देहीका एक पासी युवकले चमार युवतीसँग प्रेम विवाह गर्दा आफ्नै घरपरिवार र गाउँसमाजबाट बहिष्कृत हुनुपर्यो । ‘तल्लो जातको केटासँग गएर कुलको इज्जत बिगार्यो’ भन्दै आफ्नै आमाबाबुले उनलाई घरमा पस्न दिएनन् । रुकुमका एक जना परियार थरका युवक र विश्वकर्मा थरकी युवतीबीच प्रेम विवाह हुँदा युवतीको परिवारले युवकको परिवारलाई ‘सियो चलाउने जात’ भन्दै तल्लो दर्जाको ठानेर स्वीकार गरेन । मधेसमा त यो समस्या अझै चरम अवस्थामा छ । मधेसी दलितमा चमार (राम), दुसाध (पासवान) र धोबीहरू सामाजिक र आर्थिक रूपमा केही अगाडि छन् । उनीहरूले मुसहर, डोम र हलखोरहरूलाई अमानवीय तल्लो दर्जामा राखेका छन् । विशेष गरी नटुवा र डोमले छोएको पानी वा खाना अन्य कुनै पनि दलितले नखाने कठोर नियम आजको आधुनिक भनिने युगमा पनि मधेसका ग्रामीण इलाकाहरूमा उस्तै छ ।

डोमलाई अझै पनि (अन्य) दलितहरूले छुइछाई गर्दा धर्म हराउने अन्धविश्वास पालेका छन् । सरसफाइ गर्ने वा मरेका जीवजन्तु उठाउने काममा डोमलाई प्रयोग गरिए पनि घरको मूल ढोकाबाट भित्र छिर्न निषेध गरिन्छ । कथित माथिल्लो जातका गैरदलितबाट आफूहरू उत्पीडित भएको गुनासो गर्ने पासवान र चमार जातले नै डोम समुदायमाथि गर्ने व्यवहार सामन्ती शासकको भन्दा कम नभएको समाजशास्त्रीहरूको विश्लेषण छ । विभिन्न राजनीतिक र सामाजिक आन्दोलनले राज्यसत्तासँग अधिकार र आरक्षणको माग निरन्तर गरिरहे पनि आफ्नै घरभित्र सल्किएको यो विभेदको आगो निभाउन कहिल्यै ठोस पहल भएन । दलित नेताहरू ठुल्ठुला मञ्चमा उभिएर गैरदलितले गरेको उत्पीडनको विरुद्धमा घन्टौँ भाषण गर्छन् । तर, आफ्नै समुदायभित्रको डोम वा मुसहरमाथि भइरहेको छुवाछूतका बारेमा मौन बस्छन् । राजनीतिक दलका दलित संगठनहरू केवल पार्टीका भ्रातृ संगठन÷भोट बैंकका रूपमा सीमित भए । उनीहरू आन्तरिक सुधारका अभियान चलाउन नसकेको अभियन्ता रमेश नटुवाले बताए ।

परिणाम स्वरूप दलित आन्दोलनको नेतृत्व र त्यसबाट प्राप्त भएका अवसरहरूमा पनि तुलनात्मक रूपमा ‘अगाडि बढेका’ र आफूलाई ‘माथिल्लो’ भन्ने दलित उपजातिको वर्चस्व स्थापित हुन पुगेको उनले बताए, जसका कारण पिँधमा रहेका अतिविपन्न दलितको मुद्दा ओझेलमै रहेको उनले गुनासो गरे । यस प्रकारको आन्तरिक छुवाछूतले दलित समुदायभित्रका झन् तल्लो तहमा पारिएका मुसहर, नटुवा, डोम र हलखोरजस्ता समुदाय शिक्षा, स्वास्थ्य र राजनीतिक प्रतिनिधित्वमा झनै पछाडि परेका छन् । उनीहरूले एकातिर राज्यको मूलधारबाट वञ्चितीकरण भोग्नुपरेको छ भने अर्कातिर आफ्नै समुदायका टाठाबाठाबाट थिचोमिचो सहनुपरेको छ । उनले भने, ‘राज्यले दिने दलित कोटा वा लक्षित कार्यक्रमको फाइदा पनि कथित माथिल्लो र क्रमशः पहुँचवाला पहाडी दलितले मात्रै पाउने गरेको र उत्पीडित दलित सधैँ किनारामा पर्ने गरेका छन् ।’

नेपालको संविधान र विभिन्न कानुनी दस्तावेजमा जातीय भेदभावलाई गम्भीर अपराध मानिएको छ । तर, कार्यान्वयनको तहमा भने ठुलो लाचारी देखिन्छ । नेपालको संविधानको धारा २४ ले स्पष्ट रूपमा ‘जातीय भेदभाव तथा छुवाछूतविरुद्धको हक’ लाई मौलिक हकका रूपमा ग्यारेन्टी गरेको छ । त्यसैगरी जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ ले कुनै पनि सार्वजनिक वा निजी स्थानमा जात, जाति वा उत्पत्तिका आधारमा गरिने कुनै पनि प्रकारको विभेदलाई फौजदारी अपराध मान्दै ३ महिनादेखि ३ वर्षसम्मको कैद र जरिमानाको व्यवस्था गरेको छ ।

‘हामीले अरूसँग समानताको कुरा गरिरहँदा आफ्नै आँगनमा उभिएको भाइलाई कुन मुखले तँ तल जा भनेर धकेल्न सक्छौँ ?’ यो प्रश्नको उत्तर नखोजिएसम्म समाजमा जातीय समताको नारा ‘ओठको दाना र कागजको पानामा’ मात्र सीमित रहने अधिकारकर्मी सुरज हरिजनको भनाइ छ । उनले भने, ‘हामीले गैरदलितबाट हुने विभेदविरुद्ध लड्न शक्ति खर्चिंदा आफैँभित्रको विभेदलाई इन्कार गर्छौँ, हाम्रो मुक्ति आन्दोलन कमजोर रहन्छ ।’ समानताको लडाइँ आफूबाटै सुरु गर्नुपर्नेमा उनले जोड दिए । उनका अनुसार उच्च जातको मानसिकताबाट ग्रसित भएर आफ्नै दाजुभाइलाई तल्लो ठान्नु सबैभन्दा ठुलो आत्मघाती सोँच हो । त्यसैले उत्पीडितभित्रको उत्पीडन समाप्त नभएसम्म समतामूलक समाजको कल्पना अधुरो रहन्छ ।

सामाजिक अभियन्ता एवं अधिवक्ता रक्षाराम हरिजनका अनुसार विभेदको जरो ‘वर्ण व्यवस्था’ हो । यो व्यवस्थाले हामीलाई नै खण्डखण्डमा बाँडेर सधैँ कमजोर बनाइराख्न चाहन्छ । जो मान्छे अर्को मान्छेलाई अछूत ठान्छ, उसले अझै पनि सामन्ती सोचको साङ्लो तोड्न सकेको छैन । उनले भने, ‘भान्छा र छुवाछूतको पर्खाल भत्काउनु केवल धार्मिक वा सामाजिक कार्य होइन, यो हाम्रो आत्मसम्मानको लडाइँ हो । दलित आन्दोलनले ‘हामी सबै एक हौँ’ भन्ने भावनालाई व्यवहारमा उतार्न सकेन भने हाम्रो भविष्य अनिश्चित छ ।’ अधिवक्ता शैलेन्द्र अम्बेडकरले भने, ‘जबसम्म दलित समुदायले आफ्नो जातीय तह, तप्का र छुवाछूतलाई पूर्ण रूपमा निषेध गर्दैन, तबसम्म हामीले अरूलाई न्यायको पाठ सिकाउने नैतिकता गुमाइरहन्छौँ ।’

नेपालको संविधानको धारा २४ र ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८’ ले यसलाई फौजदारी अपराध भनेको छ । तर, कानुनको डन्डाले मात्र यो समस्याको हल हुँदैन । दलित अधिकारकर्मी रिखिराम हरिजनका अनुसार राज्यलाई न्यायका लागि गुहारिरहँदा आफ्नै आँगनमा उभिएको भाइलाई ‘तँ तल जा’ भन्दै धकेल्नु निकै विरोधाभाषपूर्ण व्यवहार हो । गैरदलितबाट हुने विभेदविरुद्ध लड्न हामीले ठुलै शक्ति खर्चिनुपरे पनि आफैँभित्रको विभेदलाई इन्कार गर्दा दलित मुक्तिको आन्दोलन कमजोर हुने उनले बताए । ‘हामीले गैरदलितसँग समानता खोजिरहँदा, आफ्नै आँगनमा उभिएको हाम्रो दलित भाइलाई ‘तँ तल जा’ भन्न मिल्दैन ।’ समानताको लडाइँ आफूबाटै सुरु गर्नुपर्नेमा उनले जोड दिए ।

नटुवा उत्थान समाजका अध्यक्ष रामलखन नटुवाले भने, ‘विभेदविरुद्ध न्यायको प्रत्याभूतिका लागि त्यो सिस्टम नै बदल्ने प्रयास गर्नुको साटो आफूभन्दा कमजोर उपजाति खोजेर उनीहरूमाथि प्रभुत्व जमाउन खोज्ने तथा मानसिक तुष्टि लिने आत्मघाती प्रवृत्तिको अहिले विकास भएको छ ।’ उनले दलित आन्दोलनभित्रको यो प्रवृत्ति निकै हानिकारक रहेको बताउँदै भने, ‘कथित उपल्लो जातले दलितमाथि गर्ने विभेदजस्तै दलितले दलितमाथि गर्ने विभेदमा पनि सामूहिक बहिष्कार गर्ने, कुटपिट गर्ने र सामाजिक दण्डका सबै अस्त्रहरू उत्तिकै निर्ममतापूर्वक प्रयोग हुने गर्छन् ।’

मधेस मानव अधिकार गृह (माहुरी होम) कपिलवस्तुका अध्यक्ष रामदयाल ठाकुरका अनुसार, दलित समुदायभित्र व्याप्त विभेदको समस्याको समाधान केवल कानुनको डन्डाले मात्र सम्भव छैन, यसका लागि समुदायभित्रै एउटा बृहत् ‘सांस्कृतिक क्रान्ति’ आवश्यक छ । प्रत्येक दलितले आफूभित्र रहेको ‘उच्च जातको अहंकार’ को अन्त्य गर्नुपर्ने र दलितभित्रकै विभिन्न जातिबीच विवाह र सहभोजलाई प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ । जबसम्म एउटा दलितले अर्को दलितको अस्तित्व, श्रम र सम्मानलाई हृदयदेखि स्वीकार गर्दैन, तबसम्म दलित मुक्ति सम्भव नहुने उनले स्पष्ट पारे ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख कल्पना हरिजनका अनुसार स्थानीय सरकार र दलित नागरिक समाजले गाउँगाउँमा ‘अन्तरदलित संवाद’ जस्ता कार्यक्रमहरू सञ्चालन गरी विभेद र छुवाछूत हटाउने अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । दलित मुक्तिको लडाइँ तबसम्म अधुरो रहने उनको ठम्याइ छ, जबसम्म दलितले दलितलाई नै सम्मान गर्न सिक्दैनन् । तसर्थ, आत्मसम्मानको लडाइँ बाहिरबाट मात्र नभई आफ्नै घरको आँगन र भान्साबाट सुरु हुनुपर्ने सन्देश उनले प्रवाह गरेकी छिन् । नगरप्रमुख हरिजनले भनिन्, ‘परिवर्तनको सुरुवात आफैँबाट हुनुपर्छ ।’

प्रतिक्रिया