एक्लोपनको सुरुआत

स्वास्थ्य समस्यामात्रै होइन श्रवणशक्ति ह्रास

६५ वर्षीय रामप्रसाद श्रेष्ठलाई केही वर्षअघिसम्म आफूले ‘ठिकै सुन्छु’ भन्ने लाग्थ्यो । तर, पछिल्ला दिनमा अवस्था फेरिन थाल्यो । घरमा नातिनातिनीले केही सोध्यो भने उनी ‘के भन्यौ ?’ भनेर पटक–पटक दोहोर्याउन लगाउँथे । टेलिभिजनको आवाज परिवारका अरू सदस्यलाई असह्य लाग्ने गरी बढाउन थालेका थिए । तर, उनलाई भने त्यो सामान्य नै लाग्थ्यो । सबैभन्दा ठुलो समस्या भने कानले कम सुन्नु मात्र थिएन । उनलाई लाग्थ्यो— ‘म कम सुन्छु भन्ने अरूले थाहा पाए के भन्लान् ? मानिसले मलाई बुढो र अशक्त ठान्लान् कि !’ यही संकोचले उनी सामाजिक भेटघाटमा कम जान थाले । बिस्तारै उनी एक्लिँदै गए ।

मानिसको शरीरका हरेक अंग उत्तिकै महत्वपूर्ण हुन्छन् । कुनै पनि अंगको महत्व कम छैन । अझ साना बालबालिकालाई विद्यालयमै ५ ज्ञानेन्द्रियका बारेमा पढाइन्छ, जसमा कान पनि एक हो । कानको प्रमुख काम सुन्नु हो । हामीले सुनेका कुराअनुसार नै प्रतिक्रिया जनाउँछौँ, सिक्छौँ र समाजसँग सम्बन्ध गाँस्छौँ । तर पछिल्ला, वर्षहरूमा यही महत्वपूर्ण अंगले अपेक्षित काम गर्न नसक्ने समस्या बढ्दै गएको छ ।

आज विश्वभर श्रवणशक्ति कमजोर हुने अर्थात् ‘हियरिङ लस’को समस्या तीव्र रूपमा बढिरहेको छ । यो समस्या नेपालमा मात्र सीमित छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हाल विश्वभर झन्डै ४६ करोड मानिस कुनै न कुनै प्रकारको श्रवणशक्ति ह्रासबाट प्रभावित छन् । यही प्रवृत्ति कायम रहने हो भने सन् २०३० सम्ममा यो संख्या ६० करोड पुग्ने अनुमान छ । नेपालमा यकिन तथ्यांक उपलब्ध नभए पनि करिब १५ देखि १७ प्रतिशत मानिसमा कुनै न कुनै रूपमा सुन्ने क्षमता कम भएको अनुमान छ । स्वास्थ्य विज्ञहरूका अनुसार यो समस्या दिनप्रतिदिन बढ्दो क्रममा छ ।

के हो हियरिङ लस ?

विज्ञहरूका अनुसार सुन्ने शक्तिमा कमी आउनु वा सामान्यभन्दा कम सुनिन थाल्नु नै ‘हियरिङ लस’ अर्थात् श्रवणशक्ति गुम्नु हो । मानिसको सुन्ने क्षमता २० देखि ३५ डेसिबलभन्दा कम भयो भने श्रवणशक्तिमा समस्या आएको मानिन्छ । मानिसको कान मुख्यतः ३ भागमा विभाजित हुन्छ— बाह्य, मध्य र भित्री कान । बाहिरी वा मध्य कानमा समस्या आयो भने त्यसलाई ‘कन्डक्टिभ हियरिङ लस’ भनिन्छ । यस्तो अवस्थामा आवाज कानसम्म आइपुग्छ । तर, भित्री भागसम्म पर्याप्त रूपमा पुग्न सक्दैन । भित्री कानको नसामा समस्या आयो भने भने सुन्ने क्षमता झन् गम्भीर रूपमा प्रभावित हुन्छ ।

किन हुन्छ हियरिङ लस ?

हियरिङ लसका पछाडि विभिन्न कारण छन् । भाइरल संक्रमण, दादुरा, ठेउला, कानमा चोटपटक तथा अन्य संक्रमणका कारण कानको जाली प्वाल पर्न सक्छ । यसले सुन्ने क्षमतामा असर पुर्याउँछ । कतिपय अवस्थामा समस्या जन्मजात पनि हुन सक्छ । विज्ञहरूका अनुसार मध्य कानमा रहेका तिनेटा साना हाड संक्रमण वा वंशाणुगत कारणले असामान्य रूपमा जोडिन सक्छन् । आमाबुबामा हियरिङ लस छ भने बच्चामा पनि जन्मजात रूपमा यो समस्या देखिन सक्छ ।

डब्लुएचओका अनुसार जन्मिँदा कम तौल भएका, समय नपुगी जन्मिएका, गर्भावस्थामा आमालाई संक्रमण भएको वा विशेष औषधि प्रयोग गरिएको अवस्थामा बच्चामा श्रवणशक्ति कमजोर हुने जोखिम बढी हुन्छ । त्यसैले बच्चा जन्मिएलगत्तै सुन्ने क्षमताको परीक्षण गरिनुपर्ने विज्ञहरूको सुझाव छ । बच्चाले १ वर्ष पुग्दासम्म बोल्न थालेको छैन भने पनि अभिभावक सतर्क हुनुपर्छ । कतिपय अवस्थामा भाषाको विकास नहुनुको कारण कान नसुन्नु पनि हुन सक्छ । विद्यालय जानुअघि बच्चाको श्रवण परीक्षण गरिनु आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

आधुनिकताले बढाउँदै छ हियरिङ लस

हियरिङ लसको अर्को महत्वपूर्ण कारण हो— ध्वनि प्रदूषण । कारखाना, विमानस्थल, ट्राफिक व्यवस्थापन, चर्को संगीत बज्ने स्थान तथा अत्यधिक सवारी चाप भएका क्षेत्रमा लामो समय काम गर्ने व्यक्ति बढी जोखिममा हुन्छन् । यस्ता व्यक्तिले नियमित परीक्षण नगरे कानको नसा स्थायी रूपमा क्षतिग्रस्त हुन सक्छ । ६० वर्षपछि उमेरकै कारण पनि सुन्ने क्षमता घट्दै जान्छ । मधुमेह र उच्च रक्तचापका बिरामीमा समेत कानको नसा कमजोर भएर श्रवणशक्ति ह्रास हुने सम्भावना बढी हुन्छ ।

यस्तै, प्रविधिले जीवन सजिलो बनाएको छ । तर, यही प्रविधिले नयाँ चुनौती पनि थपेको छ । आज मोबाइल फोन र इयरफोन अधिकांश मानिसको दैनिक जीवनको हिस्सा बनिसकेका छन् । सडकमा, बसमा, कलेजमा वा कार्यालयमा— जहाँसुकै कानमा इयरफोन लगाएका मानिस सजिलै देख्न सकिन्छ । संगीत सुन्न, भिडियो हेर्न वा गेम खेल्न प्रयोग गरिने इयरफोन तथा हेडफोनले कानमा प्रत्यक्ष असर पार्छ । लामो समयसम्म चर्को आवाजमा इयरफोन प्रयोग गर्दा कान दुख्ने, कान कराउने र क्रमशः सुन्ने क्षमता घट्ने समस्या देखिन सक्छ ।
एक अध्ययनअनुसार दिनमा २ घन्टाभन्दा बढी समय इयरफोन प्रयोग गर्ने वा अत्यधिक चर्को आवाजमा संगीत सुन्ने व्यक्तिमा बहिरोपनको जोखिम बढ्छ । विज्ञहरूका अनुसार मानिसको कानले सुरक्षित रूपमा सुन्न सक्ने सीमा करिब ९० डेसिबल हो । लगातार चर्को ध्वनि सुन्दा समयसँगै सुन्ने क्षमता ४०–५० डेसिबलसम्म घट्न सक्छ । त्यसैले विज्ञहरू इयरफोनको आवाज मध्यम राख्न, लगातार लामो समय प्रयोग नगर्न, अरूले प्रयोग गरेको इयरफोन सीधै प्रयोग नगर्न र सकेसम्म गुणस्तरीय उपकरण प्रयोग गर्न सुझाव दिन्छन् ।

सुन्ने शक्ति कम हुँदा के हुन्छ ?

श्रवणशक्ति कमजोर हुनु केवल स्वास्थ्य समस्या मात्र होइन, सामाजिक र मानसिक स्वास्थ्यसँग पनि जोडिएको विषय हो । सुन्ने क्षमता कम भएपछि मानिसलाई अरूका कुरा बुझ्न गाह्रो हुन्छ । कुराकानीमा सहभागी हुन नसक्दा उनीहरू बिस्तारै सामाजिक गतिविधिबाट टाढिन थाल्छन् । एक्लोपन, हीनताबोध र आत्मविश्वासको कमी हुन सक्छ । कतिपय अवस्थामा डिप्रेसनसमेत हुन्छ । विशेष गरी ६० वर्षभन्दा माथिका व्यक्तिले नियमित कान परीक्षण गराउनुपर्ने र आवश्यकताअनुसार श्रवण सहायक उपकरण (हियरिङ एड) प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

विज्ञहरूका अनुसार संक्रमणका कारण भएको श्रवण समस्या धेरै अवस्थामा उपचारयोग्य हुन्छ । मध्य कानमा संक्रमण वा पानी जमेको छ भने औषधिबाट निको हुन सक्छ । जाली प्वाल परेको वा हड्डी खिइसकेको अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । तर, भित्री कानको नसा सुकिसकेपछि वा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सुन्ने क्षमता फर्काउन निकै कठिन हुन्छ । त्यसैले समस्या सुरु भएकै अवस्थामा पहिचान गर्नु नै सबैभन्दा महत्वपूर्ण उपाय हो ।

कानले कम सुन्न थालेको संकेत सधैँ स्पष्ट हुँदैन । तर, यदि टेलिभिजनको आवाज पहिलेभन्दा धेरै बढाउनुपर्ने भएको छ, मानिसहरूले भनेको कुरा पटक–पटक दोहोर्याउन लगाउनुपरेको छ वा भिडभाडमा कुराकानी बुझ्न गाह्रो भइरहेको छ भने त्यसलाई सामान्य रूपमा लिनुहुँदैन । किनकि कानले केवल आवाज मात्र सुन्दैन, यसले मानिसलाई परिवार, समाज र संसारसँग जोडिराख्छ । र, त्यो सम्बन्ध कमजोर हुन थालेपछि समस्या कानमा मात्र सीमित रहँदैन, जीवनका धेरै आयाममा फैलिन थाल्छ ।

०००

श्रवणशक्तिसँगै मानिसको मनोबल पनि घट्छ : डा. सुमन अधिकारी, इएनटी विशेषज्ञ

डा. सुमन अधिकारी, इएनटी विशेषज्ञ

कान नसुन्ने समस्या बढ्नुमा विभिन्न कारण छन् । कानमा पानी परेमा कान पाक्ने समस्या बढ्छ र त्यसले पनि श्रवण शक्ति कम हुन सक्छ । अर्को— उमेरअनुसार कुनै रोग लागेमा पनि कानमा समस्या देखिन सक्छ । कैयाँै एलर्जीले पनि कानको सुन्ने क्षमतामा कमी ल्याउन सक्छ । नसा कमजोर भएर वा उमेरजन्य कारण पनि श्रवणशक्ति कमजोर हुन सक्छ ।

युवा वा बच्चामा चाहिँ कान पाक्ने समस्या बढी भएका कारण पनि सुन्ने क्षमतामा कमी आउन सक्छ । यसैगरी जाली च्यातिँदा, बढी उमेरको मान्छेमा नसा सुक्दै जाँदा सुन्ने क्षमता कम हुन सक्छ । कान नसुन्ने समस्या वंशाणुगत पनि हुन सक्छ । कोही बच्चा जन्मिँदै कम सुन्ने हुनसक्छ । बाबुआमामा कान नसुन्ने समस्या छ भने सन्तानमा पनि समस्या हुन सक्छ । अरू वंशाणुगत रोग जस्तै यो पनि तल्लो पुस्तामा सर्दै जान सक्छ ।

कान नसुन्ने समस्या सामान्यजस्तो लागे पनि यसले पार्ने असर भने गम्भीर हुन सक्छ । स्कुलमा सुन्ने विद्यार्थीसँगै बसेको नसुन्ने विद्यार्थीको मनोबल कमजोर हुन्छ । कान नसुन्ने बच्चामा बोल्न पनि समस्या हुन सक्छ । कैयौँ नसुन्ने बच्चाले बोल्न सक्दैन । कम श्रवणशक्तिले बोल्ने विकासको बाटोमा असर पर्छ । त्यसैले नसुन्नु मात्रै समस्या होइन, पढ्ने, लेख्नेदेखि अन्य विकासमा पनि यसले असर पुर्याउँछ । अरू बच्चामा भन्दा क्षमता पनि कम देखिन्छ । त्यसको मुख्य कारण हीनताबोध हो । उनीहरूलाई काम गर्ने ठाउँको वातावरणले पनि असर पुर्याउँछ । कम सुन्ने वा नसुन्ने मान्छेलाई बुझाइदिने वातावरण छैन ।

कान नसुन्नुको धेरै कारणमध्ये ध्वनि प्रदूषण पनि एक हो । अर्को— अहिलेको युवामा इयरफोनको बढ्दो प्रयोग पनि हो । जब हामीले कानभित्र आवाज दिन केही वस्तु राखेर बाहिरको आवाज थुन्छौँ, त्यसले श्रवणशक्तिलाई असर गर्छ । हामीले चर्को आवाज भएको स्थानमा कम जानुपर्छ । एकै पटक ठुलो आवाज भएको ठाउँमा जाँदा श्रवणशक्ति पूरै जान पनि सक्छ । त्यस्तो आवाजले कानलाई सोझै असर पुर्याउँछ । अर्को कुरा सामान्य आवाजभन्दा इयरफोनको आवाजले कानलाई बढी असर पुर्याउँछ । अहिले नयाँ पुस्तामा सुन्ने क्षमता कमी हुनुको कारण यो पनि हो । त्यसैले हामीले यस्ता कुरामा ख्याल गर्नुपर्छ । अझ साना बच्चालाई यस्ता चिजबाट टाढा राख्नुपर्छ ।

प्रतिक्रिया