विज्ञान योगको सानो अंग हो

योगले दिने आनन्द डाक्टर, मेडिकल विज्ञान कहीँबाट पाउनु हुन्न । आज मात्रै होइन, २० हजार वर्षपछि पनि विज्ञानको अस्तित्व सकिएला योगको महत्व उत्तिकै रहन्छ । किनभने योगले बाहिर र भित्र दुवै ठाउँबाट व्यक्तिलाई पगालेर परम आनन्दित दिन्छ । विज्ञानले त बाहिरका सुख सुविधा मात्रै दिने हो ।

पछिल्लो समय मानिसको जीवन र दैनिकी व्यस्त मात्रै होइन, अस्तव्यस्त हुन थालेको छ । त्यसको कारण हो, व्यस्त र प्रतिस्पर्धी जीवन शैली । धन, पैसा, विलासी जीवन, उच्च महत्वाकांक्षाले मान्छेलाई व्यस्तबाट अस्तव्यस्त बनाएको छ । अझ डिजिटलबाटै काम हुन थालेपछि मान्छे शौचालयमा समेत इन्टरनेट प्रयोग गर्न थालेको छ । यसले मानिसको स्वास्थ्यमा समेत असर पुर्याउन थालेको छ । त्यसैले पछिल्लो समय कतिपयको ध्यान योगतिर आकर्षित भएको पाइन्छ । योगको विकास हेर्दा, भगवान् शिव र योगी ऋषिहरूले यतै कतै योगको विकास गरेको भेटिन्छ । त्यस कारणले योगको उद्गम भूमिमध्ये पर्छ नेपाल । हाम्रा लागि यो सबैभन्दा ठुलो निर्यातजन्य बस्तु हो । किनकि नेपाल भन्नेबित्तिकै योगीहरूको देश भनेर पनि बुझिन्छ । पछिल्ला दिनमा योगप्रति मान्छेको आकर्षण र यसले पार्ने प्रभाव लगायतका विषयमा केन्द्रित रहेर सौर्य दैनिकका लागि योग गुरु एलपी भानु शर्मासँग गरिएको संवादको मुख्य अंश:

योग भनेको के हो ?

– योग भनेको आफूभन्दा ठुलो इकाइसँग जोडिँदै जानु हो । जस्तो शरीरभन्दा अलि फरक हुन्छ, मन । शरीर र मनको जोड नै योग हो । मनभन्दा फराकिलो भित्रका भावना । भावनासँग जोडिँदै जानु योग हो । अनि भावनालाई पनि लगेर आफ्नो चेतना परम चेतनासँग जोड्नु नै योग हो । योगको शाब्दिक अर्थ नै जोड हो । आत्माको परमात्मासितको जोडलाई नै योग भन्ने गरिन्छ ।

योग मानव जीवनमा किन आवश्यक छ ?

–मान्छे वियोगी भएर किन बाँच्नु ? जब आफू भित्रबाट एक हुने, एक ढिक्का हुने । स्वस्थ्य शरीर शान्त मन, प्रशन्न भावनासहित प्रज्वलित चेतना भएर जिउने विधि र विज्ञान उपलब्ध छ भने, वियोगी भएर किन बाँच्ने ? योगको आवश्यकता किन भने, वियोगी नहुनका लागि । त्यसैले योगको आवश्यकता किन भन्ने प्रश्नै हुँदैन । यसको आवश्यकता कति भन्नै सकिन्न । मान्छे प्रज्वलित भएर बाँच्न योगको आवश्यकता छ । योग हरेक मानछेको जीवनका लागि आवश्यक छ । यसले सकारात्मक प्रभाव मात्रै दिने भएकाले पनि यसलाई ग्रहण गर्नुपर्छ ।

योग गर्ने कसले ? कुनै उमेर समूह वा कुनै रोगीले गर्न नहुने भन्ने छ ?

–रोग भनेको जो कसैलाई जुनसुकै लाग्न सक्छ । रोग उमेर वा पेसा हेरेर लाग्ने होइन । यो सबैका लागि सधँै हुने कुरा हो । तर, त्यस बारेमा आफूलाई थाहा हुनपर्छ र जानकार व्यक्ति विशेषज्ञले भन्नुपर्छ । मान्छेको शारीरिक र मानसिक अवस्था हेरेर कुन कुराको प्रयोग गर्ने ? कुन विधि प्रयोग गर्ने भन्ने हो । योग त सबै मान्छेका लागि आवश्यक छ । मान्छे कि योगी हुन्छ कि वियोगी । बीचमा त मान्छे नै हुँदैन । यसको सबैभन्दा सरल र प्राकृतिक विधि हो, योग । न हामी उपचार गरेर निरोगी हुन्छौँ, न औषधि सेवन गरेर नै । यद्यपि स्वस्थ खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउनुपर्छ, जसले हामीलाई निरोगी, जवान, ऊर्जावान् बनाउँछ । योगमा सबै कुराको सामाधान भएकाले हरेक मान्छेलाई आवश्यक छ । सबै समस्याको सामाधान योगमा हुन्छ ।

जस्तो उदाहरणका लागि ?

–जनुसुकै समस्याको सामाधानका लागि योगमा विधि हुन्छ । योगका विधिहरू व्यापक छन् । त्यसैले पनि बुझेर गर्दा राम्रो हुन्छ । यसमा हरेक समस्याको सामाधान छ । तर, यसलाई व्यवस्थित तरिकाले जानेर यसको प्रयोग गर्नुपर्छ । यसको प्रयोग गर्न भने जान्नुपर्छ । हरेक कुरामा नजानेर वा हचुवामा गरिएको प्रयोग त केही पनि सफल हुँदैन र परिणाम पनि राम्रो दिँदैन । त्यसैले योग पनि जानेर, बुझेर व्यवस्थित रूपमा प्रयोग गर्नुपर्छ ।

योगले मानव जीवनमा पार्ने प्रभाव के हो ?

–जुन विधिले हाम्रा सबै दुःखहरूको हरण गर्छ र हामीलाई आफ्नो आनन्दमा प्रशिक्षित गर्छ, त्यसलाई योग भनिन्छ । योगका यस्ता विधि छन् कि तपाईंको जीवनमा भएका दुःखहरूको हरण गर्न सक्छन् । त्यसकारण मानव जीवनमा सबैभन्दा मूल्यवान वस्तु नै योग हो । हामी व्यायाम गर्छौं र त्यसलाई अहिले योग भनिन्छ । व्यायाम त सयमा एक हो जम्मा, बाँकी ९९ पनि छन् । योगका समग्र विधि र प्रणालीमा जाने हो भने, तपाईंका जीवनमा भएका सबै समस्याहरू निर्मूल पार्ने एक मात्रै विधि नै योग हो । त्यसैले यो मानव जीवनमा अत्यन्तै महत्वपूर्ण छ ।

तपाईंको भनाइमा योगभन्दा बाहिर समस्याको सामाधान छैन ?

–योगमा तपाईंलाई कसैले न सुई दिन्छ न औषधि । व्यक्ति आफैँ सक्रिय भएर गरिने कार्य हो । आफू सक्रिय हुन जसलाई मन लाग्दैन ऊ स्वास्थ्य समस्या भएमा औषधि खान जान्छ वा बाहिरबाट अरू सहयोग खोज्छ । जसलाई म आफैँ गर्न सक्छु, मेरो जीवन म आफैँ सम्हाल्न सक्छु भन्ने हुन्छ उसले योगको बाटो लिन्छ । आजको दुनियाँमा त्यही भइरहेको त छ । जो व्यक्ति अलि सक्रिय र बुद्धिमान छन् उसले आफ्नो जीवनलाई योगमा ढाल्छ । कि योगको बाटोमा हिँड्ने, कि दुःख पाउने, त्यो भन्दाबाहेक अर्को विकल्प छैन ।

त्यसो भएर स्वास्थ्यका लागि भौतारिने, पैसा खर्च गर्ने होइन, योगी बन्नुपर्यो ?

–हो, योगले जीवनलाई सुन्दर, आनन्दित र भव्य बनाउँछ । वास्तवमा योगले तपाईं कस्तो जीवन जिउन चाहनुहुन्छ त्यस्तै जीवनको आधारशिला खडा गरिदिन्छ । त्यसैले हरेक समस्याको सामाधान यागबाट खोजिनु पर्छ । समस्या पर्यो भनेर भौतारिने होइन ।

योग, साधना र व्यायाममा के फरक छ ?

–योग शब्द त अत्यन्तै व्यापक हुन्छ । हाम्रो आफ्नो निजी अस्तित्वलाई ब्रम्हाण्डसँग जोड्ने विधि हुन्छ योगमा । त्यसको सानो अंश हो योगका आसन । साधना भनेको चाहिँ अभ्यास हो । कुनै पनि विषयमा म यस्तो ठाउँमा पुग्छु भनेर लक्ष्य राखेर गरिने अभ्यासलाई साधना भनिन्छ । कुनै पेसा, व्यवसाय वा सामाजिक कार्यमा लाग्नका लागि लक्ष्यसहित गरिने अभ्यास, कार्यलाई नै साधना भनिन्छ । त्यसकारण विनासाधना योगको उपलब्धि हुँदैन । तर, आसनचाहिँ योगको सानो भाग हो । प्राणायम सानो भाग हो । योग त मान्नुस् पृथ्वी हो । आसन एउटा भाग हो । व्यायामचाहिँ विभिन्न प्रकारका हुन्छन् । व्यायामकै रूपमा दौडन सकिन्छ । कोही जिम जान्छन्, कोही घरमै अरू प्रकारले गर्छन् । तर, योगचाहिँ शरीर मात्रै होइन मन, भावना, चेतना सबैसँग एकाकार गर्ने विधि हो । त्यस कारण योग अत्यन्तै विशिष्ट हुन्छ । तर, अरू प्रकारको व्यायाम गरेर योगले दिने फाइदा कहिल्यै लिन सकिन्न ।

योगबाट पाउने पाइदा कतै पाइन्न ?

–हो । योगले दिने कुरा अन्त्य खोज्यौँ भने भ्रम हुन्छ । योगले दिने आनन्द डाक्टर, मेडिकल विज्ञान कहीँबाट पाउनु हुन्न । आज मात्रै होइन, २० हजार वर्षपछि पनि विज्ञानको अस्तित्व सकिएला योगको महत्व उत्तिकै रहन्छ । किनभने योगले बाहिर र भित्र दुवै ठाउँबाट व्यक्तिलाई पगालेर परम आनन्दित दिन्छ । विज्ञानले त बाहिरका सुख सुविधा मात्रै दिने हो । योगले भित्रको आनन्दलाई प्रकट गर्न मद्दत गर्छ । अहिले मानिसहरूलाई शारीरिक तथा मानसिक समस्याले सताएको छ । प्रतिस्पर्धा गर्नु छ, व्यस्तता छ । यस्तो अवस्थामा शारीरिक रूपमा स्वस्थ्य, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउन योगले सहयोग गर्छ । योगबाट पाइने सन्तुष्टि र आनन्द अरू केहीबाट पाइन्न ।

त्यसो भए योग विज्ञानभन्दा माथि हो ?

–विज्ञान त योगको सानो अंग मात्रै हो । विज्ञानले सुख सुविधासँग हामीलाई जोडिदिन्छ । एउटा सानो जोड हो विज्ञान । विज्ञानले आफूभन्दा बाहिरको संसारसँग जोडिदिन्छ । मानौँ, यहाँबाट दिल्ली हिँडेर जान कति लाग्थ्यो ? विज्ञानले बाहिरी दुनियासँग जोड्छ । भूगोलको दुरीलाई विज्ञानले कम गरेको छ । तर, भित्रबाट अशान्त रहेको मनलाई त विज्ञानले पनि केही गर्न सक्दैन । मान्छेको चेतनामा भएका अभाव विज्ञानले पूरा गर्न सक्दैन । योगचाहिँ जतिसुुकै ठुलो टेक्नोलोजी, मेडिकल साइन्स, राजनीति अर्थशास्त्र, समाज शास्त्र जहाँ पुगे पनि योगको सान्दर्भिकता बढ्दै जान्छ । किनकि योगले मान्छेलाई आफैसँग जोड्छ । त्यसकारण यी अलग अलग प्रणाली हुन् ।

योगका बिस्तार कस्तो छ ? नेपाल र बाहिर यसको अवस्था कस्तो पाउनुभएको छ ?

–योग प्रतिको जागरण अत्यन्तै बढेको छ । यो समय क्रममा आरोग्य बन्दै छ । योगका बारेमा सुखद् कुरा भनौँ, नेपालको एकल प्रस्तावमा संयुक्त राष्ट्र संघबाट अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा भइसकेको छ । नेपाल सरकारले पनि आरोग्यको रणनीति सार्वजनिक गरेको छ । अब योगका सम्पूर्ण रणनीति आरोग्यमा रूपान्तरण हुँदै छन् । आरोग्य नचाहिने कोही छैन सबैलाई चाहिएको छ । त्यस कारणले योगको यति धेरै प्रभाव बढिरहेको छ कि संसारभरी प्रसिद्धी कमाइरहेको छ । यसमा अब नेपालको भूमिका के हो ? नेपालले यसलाई आर्थिक समृद्धिको बाटोे कसरी बनाउने भन्नेचाहिँ छ ।

योगलाई ग्रहण गर्ने कुन पुस्ता बढी पाउनुभएको छ ?

–यसमा अहिलेका युवाहरूमा पनि रुची छ । युवाहरू पनि योगसँग जोडिन थालेका छन् । मान्छेको चेतना पनि फरक हुन थालेको छ । योग गर्ने र नगर्ने मान्छेको बीचमा फरक छ । योग गर्ने व्यक्तिको अनुहार, व्यवहार, शान्ति, स्वास्थ्य, व्यक्तित्व र शरीर हेर्नुस् । अत्यन्तै सम्हालिएको, केन्द्रित, सानो सानो कुरामा नआत्तिने, नमात्तिने प्रकारको हुन्छ । जुन कुरा आममान्छेमा त्यत्तिकै सजिलोसँग आउँदैन । त्यसकारण योगमा रहेका व्यक्ति र योगमा नरहेका व्यक्तिमा फरक देखिन थालेको छ । योगले मान्छेलाई धेरै कुरा दिन्छ । त्यस मध्ये एउटा हो धैर्य । धैर्यले मान्छेले जीवनमा ठुला ठुला काम गर्न सक्छ र बाटामा आउने बाधा व्यवधानको सामाधान गर्नसक्छ ।

योगका बारेमा नेपालीको बुझाइ कस्तो पाउनु भएको छ ?

–योगका बारेमा हेर्ने, बुझ्ने र ग्रहण गर्ने कुरामा नेपालीको बुझाइ धेरै फरक भएको छ । योग अहिले हरेक नेपालीको घरमा प्रवेश गरेको छ । मलाई लाग्दैन कुनै नेपालीको घर होला, जहाँ कोही न कोही व्यक्तिले योगको कुनै पनि अभ्यास नगरेको होस् । अब योगको विरोध गर्ने होइन, मैले सुरु गरिसके, म बाँकी छु भन्ने मात्रै भेटिन्छ । अहिले जीवन ज्ञानले नेपालमा ५० प्रतिशतभन्दा बढी घरधुरीमा प्रवेश गरिसकेको छ । संसारभर पनि फैलिएको छ । त्यसकारण योगप्रतिको रुची असाध्यै बढेको छ । हाम्रालागि यो सुखद् कुरा हो ।

योगमा जोडिन बाँकी रहेकालाई के भन्नुहुन्छ ?

–योगमा जोडिन बाँकीलाई यसमा कसरी जोडिने ? कहाँबाट सुरु गर्ने भन्ने हुन सक्छ । कुनै पनि योग, ध्यान, आरोग्यको अभ्यास हुने ठाउँमा जोडिएर प्रारम्भ गर्दा हुन्छ । सुरुमा सामान्य विधिबाट प्रारम्भ गर्ने हो । हलुका विधिबाट प्रारम्भ गर्नुस् । तपाईंका प्रत्येक समस्याको सामाधान योगमा छ । योगले सामाधान गर्न नसक्ने समस्या बनेका छैनन र बन्दैनन् पनि । आर्थिक, मानसिक, शारीरिक, भावनात्मक, राजनीतिक सबै समस्याको सामाधान योगमा हुन्छ । त्यसकारण कहाँबाट कसरी प्रवेश गर्ने आफ्नो कुरा हो । म सबैलाई भन्छु, अभ्यास प्रारम्भ गर्नुस् भविष्य असाध्यै सुन्दर छ ।

प्रतिक्रिया