विद्यालय र सरकारी कार्यालयदेखि टोलटोलमा योग

फैलिँदै योग

काठमाडौँ । परापूर्वकालदेखि सुरु भएको योग पछिल्लो समय विश्वव्यापी बन्दै गएको छ । शरीर र मनको प्रशोधनको रूपमा लिइने योग पछिल्लो २ दशकयता व्यापक रूपमा विस्तार हुँदै गएको हो । सन् १०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाइँदै आएको छ । पछिल्लो समय विश्वभर योग गर्नेहरूको संख्या बढ्दो छ । एसिया मात्रै होइन, युरोप, अमेरिकालगायत विश्वका धेरैजसो देशका मानिस योगबाट प्रभावित छन् । भौतिक शरीरिक सन्तुलन मात्रै होइन मष्तिस्कलाईसमेत सन्तुलित बनाइराख्न धेरैजसोले योग गर्ने गरेका छन् ।

पतञ्जलि योग समिति नेपालका संरक्षक ज्ञानेन्द्र विक्रम महतले नेपालमा योगको इतिहास हजारौँ वर्ष पुरानो रहेको बताए । उनले भने, ‘योगको सुरुआत हिमाली काखमा बस्ने ऋषिमुनिहरू तथा स्वयं शिवजी भगवान्बाट भएको मानिन्छ । आधुनिक समयमा, विशेष गरी २०६४ सालमा पतञ्जलि योगपीठ हरिद्वारका स्वामी रामदेव र आचार्य बालकृष्ण नेपाल आएर टुँडिखेलमा बृहत् योग शिविर सञ्चालन गरेपछि यसको प्रचारप्रसार व्यापक बनेको हो । तत्कालीन प्रधानमन्त्रीहरू समेत योग सत्रमा सहभागी भएकाले यसले सरकारी तहमा पनि प्राथमिकता पाएको देखिन्छ ।’

सरकारी नीति तथा कार्यक्रमहरूमा योगको विषयले स्थान पाउँदै गएको छ । वार्षिक नीति तथा कार्यक्रममा धेरैजसो स्थानीय तह, प्रदेश सरकार मात्रै होइन केन्द्र सरकारले समेत समेट्ने गरेको छ । जसअनुरूप विभिन्न स्थानीय तहले विद्यालय तहका विद्यार्थीहरूमा स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । कतिपय प्रदेशले योग अभ्यासलाई विद्यालय स्तरमा र वडा तहमा विस्तार गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गर्न थाले छन् ।

अझ २०८० असोजमा गृह मन्त्रालयले आफ्ना कर्मचारीहरूलाई बिहान कार्यालय समय सुरु भएपछि १५ मिनेट योग अभ्यास गर्न भन्दै परिपत्र नै गरेको थियो । परिपत्र जारी गर्दै मन्त्रालयले महाशाखाहरू अन्तर्गतका अधिकृत स्तरका सबै कर्मचारीहरूले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रूपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको थियो । मन्त्रालयले सबै कर्मचारीलाई योगाभ्यास प्रशिक्षण दिएपछि सोही अनुरूप योग र ध्यान गर्ने वातावरण बनाउन पनि भनेको थियो । त्यसको कार्यान्वयन भने दीगो भएन । स्वस्थ रहन सहरियाहरूले जाने जिम खानामा पनि पछिल्लो समय योग अभ्यासको कोर्स थप गर्नेे क्रम बढेको छ । जिम जानेहरूको ध्यान पनि योगतर्फ खिचिएको छ ।

सबै उमेर समूहमा लोकप्रिय

अहिलेको बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न शारीरिक तथा मानसिक रोगको समाधान गर्ने विकल्पका लागि योग अत्यन्तै प्रभावकारी मानिन्छ । दिनप्रतिदिन योगको लोकप्रियता बढ्दै गएको पाइन्छ । योग जुनसुकै उमेर वर्गले पनि गर्न सक्छन् । चिकित्सकहरूले पनि कतिपय स्वास्थ्य समस्याको समाधानका लागि योग पनि सुझाउने गरेका छन् । पछिल्लो समय मानिसहरूमा स्वास्थ्यप्रति चासो बढेकाले योगलाई एक सकारात्मक जीवनशैली, औषधि (मेडिसिन) र ‘एन्टि–एजिङ’ प्रक्रियाका रूपमा स्वीकार्न थालिएको महतको भनाइ छ । योगले शारीरिक र मानसिक दुवैरूपमा बलियो बनाउने भएको कारण युवादेखि वृद्धवृद्धासम्म सबै यसमा आबद्ध छन् । पतञ्जलि योग समिति नेपालअन्तर्गत हाल करिब २ लाखभन्दा बढी प्रशिक्षित योग शिक्षकहरू रहेका छन्, जसले गर्दा देशका ७७ वटै जिल्लाका टोलटोल, चौर, सार्वजनिक स्थल र नदी किनारहरूमा दैनिक योग सत्रहरू सञ्चालन भइरहेको महतको दाबी छ ।

विभिन्न मठमन्दिर, सामाजिक भवन र खुला मञ्चहरूमा योग अभ्यास गर्नेहरू बढेका छन् । अचेल विद्यालय, कलेज, सरकारी कार्यालय र अदालतहरूमा समेत योगको अभ्यास भइरहेको छ । भारतमा अलग्गै आयुष मन्त्रालय गठन गरिएजस्तै नेपालमा पनि योग र मानव स्वास्थ्यलाई मध्यनजर गर्दै सरकारले संस्थागत रूपमै यसको विकासमा थप ध्यान दिनसके थप राम्रो हुने महतको तर्क छ ।

त्यस्तै, योग समिति नेपालका संस्थापक एवं परिकल्पनाकार योगगुरु आयुर्वेदाचार्य गिरिराजले टोलटोलमै योग केन्द्र स्थापना गर्ने आफूहरूको अभियान रहेको बताए । पछिल्लो समय सबै क्षेत्रमा योग चर्चा पाउँदै गएकोमा खुसीव्यक्त गर्दै उनले भने, ‘कुनै समय थियो योगवाला आयो भन्दै हाँस्नेहरू अहिले आफैँ योग गर्नमा व्यस्त देखिन्छन्, यो सकारात्मक कुरो हो ।’ २०७६ सालमा दर्ता भएको योग समिति नेपालले हालसम्म बाँकेमा ३७, बर्दियामा ६, रूपन्देहीमा १, नवलपरासीमा १, सुर्खेतमा १, जाजरकोटमा १ गरी १० वटा केन्द्र, अन्तर्राष्ट्रिय योग केन्द्र भारतमा (रुपइडिहा)मा १ योग केन्द्रसहित ५८ वटा शाखा (केन्द्र) सञ्चालनमा ल्याइसकेको जनाइएको छ । हरेक केन्द्रमा दैनिक ४० देखि ५० जनासम्म योग गर्न आउने गरेको गिरिराजले सुनाए ।

फोटो खिचाउनकै लागि योग दिवसमा मात्रै योग गर्ने परिपार्टी विकृतिको रूपमा रहेको उनको धारणा छ । ‘सरकारी बजेट खर्च गर्नका लागि कहिलेकाहीँ योग दिवसको दिन फोटो खिचाउन योग गर्ने चलन मौलाएको छ, यो गलत छ ।’ उनले भने, ‘योग र साधना गर्न सरकारले बजेट छुट्याउनै पर्दैन । योग र साधना कुनै पनि व्यक्तिले आफ्नालागि गर्ने हो ।’ विद्यालय पाठ्यक्रममा योगलाई राखिए पनि विद्यार्थीहरूलाई योग गराउने समय र स्थानको व्यवस्था नहुँदा सार्थक हुन नसकेको उनले सुनाए । योग गाउँगाउँमा पुगे पनि समय, स्थान तथा परिवेशअनुसार त्यो गुणस्तरीय र सार्थक हुन नसकेको गिरिराजको तर्क छ ।

अन्तर्राष्ट्रिय योग दिवस

सन् २०१५ देखि हरेक वर्ष जुन २१ तारिखका दिनलाई विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९औँ महासभामा ।।।योग सबैका लागि सधैँका लागि आवश्यक’ भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । उक्त प्रस्तावमा ३ महिनाभित्र १७७ देशले समर्थन जनाएका थिए । त्यसपछि २१ जुनका दिन अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइँदै आइएको छ । नेपालमा भने १ माघ, २०३६ देखि नै योग दिवस मनाउन थालिएको थियो । सुरुआती चरणमा यसलाई एउटा अभियानका रूपमा मनाइए पनि २८ साउन, २०७२ मा तत्कालीन मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस’ का रूपमा औपचारिक मान्यता दिएको थियो ।

प्रतिक्रिया