
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१ अनुकरण मार्गमा एक युवकले अचानक छुरा प्रहार गर्दा प्रहरी सहायक निरीक्षक (असइ) सहित तीन जना घाइते भएका छन् ।
स्थानीय मोहन भट्टराईको घरमा कोठा भाडामा बस्दै आएका २९ वर्षीय रुविण कार्कीलाई काठमाडौंस्थित सुधार गृहमा पठाउने तयारी भइरहेका बेला यो घटना भएको प्रहरीले जनाएको छ ।
कार्कीले कोठा थुनेर आत्महत्याको प्रयास गर्न खोजेपछि सीआरभी भट्टाचोकबाट प्रहरी सहायक निरीक्षक भोजराज रेग्मीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । सुधार गृहका कर्मचारी, आफन्त र प्रहरीले उनलाई सम्झाइबुझाइ गर्ने क्रममा कार्कीले अचानक ओछ्यानमा लुकाइराखेको धारिलो छुरा निकालेर प्रहार गरेका थिए ।
छुरा प्रहारबाट सीआरभी भट्टाचोकमा कार्यरत असइ भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र साथीभाइ नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन् । घाइते तीनै जनाको टाउकोमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट थप प्रहरी टोली खटिएर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया