रास्वपालाई गगन थापाको सुझाव– पार्टीभित्र दाइ वा बा भनेर नेतृत्वलाई प्रश्नभन्दा माथि नराख्नुस्

चितवन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तालाई आफ्नै पार्टीभित्र हुने गलत कदमविरुद्ध पनि खुलेर आवाज उठाउन सुझाव दिएका छन् । चितवनमा आजबाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको गलत कार्यको विरोध गर्न नसक्नेले देशमा सुशासन स्थापित गर्न नसक्ने बताए ।

विगतमा आफूहरूले आफ्नै नेताहरूलाई दाइ वा बा भनेर प्रश्नभन्दा माथि राख्दा सुशासन कमजोर भएको आत्मसमीक्षा गर्दै उनले रास्वपाभित्र पनि गलत हुँदा चुप लागेर नबस्ने र नेतृत्वलाई प्रश्न गर्न सक्ने संस्कारको विकास गर्न सुझाव दिए । बाहिरका राजनीतिक प्रतिस्पर्धीसँग लड्नुभन्दा आफ्नै पार्टीभित्रका कमजोरी र विकृतिविरुद्ध संघर्ष गर्न झन् कठिन हुने उल्लेख गर्दै कांग्रेसले विगतमा नसच्चिएकै कारण पार्टीभित्रै विद्रोहको कठिन बाटो रोजेको उनको भनाइ थियो ।

सम्बोधनका क्रममा सभापति थापाले रास्वपाले छोटो समयमै प्राप्त गरेको जनमत असाधारण र लोभलाग्दो भएको भन्दै बधाई ज्ञापन गरे । साथै, पार्टीको सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा वालेन शाह निर्विरोध हुन लागेको भन्ने जानकारीले आफूलाई खुसी तुल्याएको बताउँदै उनले शुभकामना समेत व्यक्त गरे ।

लोकतन्त्र र विधिको शासन लेखिने विषय मात्र नभएर मन, वचन र कर्ममा उतार्नुपर्ने आधारभूत मूल्य भएकोमा उनले जोड दिए । विगतमा पनि विभिन्न राजनीतिक दलहरूले यस्तै ठूलो जनमत प्राप्त गरेको तर नेताहरूबीचको विवाद र उनीहरूमा देखिएको उन्मादकै कारण राजनीतिक दुर्घटना भएको स्मरण गराउँदै सभापति थापाले रास्वपामा त्यस्तो प्रवृत्ति देखिन नहुने चेतावनी दिए ।

नेतृत्वको उन्मादका कारण हुने राजनीतिक दुर्घटनाको क्षति सम्बन्धित पार्टीले मात्र नभई देश, जनता र लोकतन्त्रले नै व्यहोर्नुपर्ने उनको तर्क थियो । नेपाली कांग्रेस र रास्वपाबीच राजनीतिक प्रतिस्पर्धा भए पनि कुनै शत्रुता नरहेको स्पष्ट पार्दै सभापति थापाले रास्वपा नेतृत्वको सरकारले राम्रो काम गरे कांग्रेसले समर्थन गर्ने र गलत बाटोमा गए खबरदारी गर्न पछि नपर्ने प्रतिबद्धता जनाए ।

जहाँ विधि मिचिन्छ, त्यहाँ कांग्रेसले सधैँ प्रश्न उठाउने उनको भनाइ थियो । नयाँ पुस्तालाई इतिहास र लोकतान्त्रिक आन्दोलनका बलिदान नबिर्सन आग्रह गर्दै थापाले चितवनको भूमिमा लोकतन्त्रका लागि बगेको सहिदहरूको रगतकै कारण आज सबै राजनीतिक दलले स्वतन्त्र रूपमा आफ्ना झण्डा फहराउन पाएको उल्लेख गरे ।

नयाँ राजनीतिक शक्तिहरूतर्फ लक्षित गर्दै उनले ‘निलो झण्डा फहराउँदा भुइँमा रातो इतिहास पनि छ’ भन्ने सत्यलाई आत्मसाथ गर्दै विगतका संघर्ष, बलिदान र योगदानलाई बिर्सेर अगाडि बढ्न नसकिने स्पष्ट पारे ।

प्रतिक्रिया