राष्ट्रिय स्क्वास च्याम्पियनसिप : महिला टिम इभेन्टको उपाधि बागमतीलाई

काठमाडौँ । १३औँ एनआरएनए राष्ट्रिय स्क्वास प्रतिगोयताको महिला टिम इभेन्टको उपाधि बागमती प्रदेशले जितेको छ । च्याम्पियन बन्ने क्रममा नेपालका नम्बर १ बिपना ब्लोन र नम्बर २ स्वस्थानी श्रेष्ठ सामेल बागमतीले कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई नै समान ३–० ले हराएर समूहको शीर्ष स्थानमा रहेर च्याम्पियन बनेको हो ।

४ प्रदेश सहभागी महिला टिम इभेन्टको उपाधिको टुंगो राउन्ड रोबिनको आधारमा लागेको हो । कोसी प्रदेशविरुद्धका खेलमा बागमतीका लागि स्वस्थानीले डोल्मा तामाङलाई ११–८, ११–५ र ११–४, विपनाले रचना प्रजालाई ११–४, ११–५ र ११–४ तथा अस्मिता नगरकोटीले तारादेवी गुरुङलाई ११–३, ११–१ र ११–२ ले पराजित गरे ।

यसै गरी गण्डकीविरुद्ध ३ खेल जित्ने क्रममा स्वस्थानीले रेसना महर्जनलाई ११–३, ११–५ र ११–३, विपनाले समीक्षा खाँडलाई ११–२, ११–२ र ११–५ तथा अस्मिताले नियुक्ति श्रेष्ठलाई ११–१, ११–५ र ११–६ ले हराए ।

कर्णालीविरुद्धको खेलमा स्वस्थानीले भगवती जिसीलाई ११–२, ११–१ र ११–३, विपनाले प्रतीक्षा प्रजालाई ११–३, ११–५ र ११–५ तथा साक्षी सुनुवारले अर्पणा प्रजालाई ६–११, ११–७, ११–६ र ११–३ ले निराश बनाए ।

गण्डकी प्रदेशले कोसी प्रदेशलाई २–१ ले हरायो । गण्डकीकाका लागि नियुक्तिले कृषा राईलाई ११–२, ११–१ र ११–३ तथा रेनेशाले डोल्मालाई १५–१३, ११–४ र ११–२ ले पराजित गरे । कोसीकी रचनाले भने गण्डकीकी समीक्षालाई ११–७, १२–११ र १४–१२ ले हराएकी थिइन् ।

नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगितामा पुरुष टिम इभेन्टमा बागमती प्रदेश र कोसी प्रदेश फाइनलमा पुगेका छन् । बुधबार भएको सेमिफाइनलमा बागमतीले मधेस प्रदेश र कोसीले प्रदेशले लुम्बिनी प्रदेशलाई समान २–१ ले हराए ।
सातदोबाटोस्थित नेपाल स्क्वास संघको एकेडेमी हलमा भएको सेमिफाइनलमा बागमतीका लागि राकेश परियार र प्रोज्ज्वल प्रधानले जित हात पारे । राकेशले सञ्जीव थापा मगरलाई १२–१०, ९–११, ११–८ र ११–० तथा प्रोज्ज्वले हेलिस घिसिङलाई ११–६, ११–६ र ११–४ ले हराए । पहिलो खेलमा भने मधेसका दीपक थापाले बागमतीका पासाङ ब्लोनलाई ३–११, १२–१०, १३–११ र ११–५ ले पराजित गरेका थिए ।

अर्को सेमिफाइनलमा सुदीपबहादुर सिंहले कोशीका नैनबहादुर मगरलाई ५ सेट लम्बिएको खेलमा ४–११, ११–५, १२–१४, ११–७ र ११–९ ले हराएर लुम्बिनीलाई अगाडि पारेका थिए । त्यसपछिका २ खेलमा सूर्यकुमार राईले गौरव कटवाललाई ११–७, ११–५, ९–११ र १३–११ तथा खेमराज राईले यम रानालाई ११–६, ११–७, ४–११ र ११–४ ले हराएर कोसी प्रदेशलाई फाइनलमा पुर्याए ।

प्रतिक्रिया