एमाले कसैको ‘पेवा’ होइन, म अघि बढिसकेँ

ओलीलाई विद्या भण्डारीकाे स्पष्ट सन्देश

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आएको स्पष्ट सन्देश दिएकी छिन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग उनले राष्ट्रिय आकांक्षा पूरा गर्न आफू सक्रिय हुने र त्यसका लागि एमालेबाहेकको बाटो नभएको बताइन् ।

आफ्नो सक्रियतालाई ‘स्वाभाविक’ भनेकी उनले आगामी दिनमा एमालेबाट राजनीतिमा क्रियाशील हुने जनाउ दिइन् । यसअघि उनले राजनीतिक सक्रियताबारे मुख खोलेकी थिइनन् । तर, उनको मंगलबारको अभिव्यक्तिपछि एमालेको संस्थापन पक्ष तरंगित बनेको छ । अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीच भनिँदै आएको ‘टसल’ पनि सतहमा देखिएको छ ।

‘मैले देश घुम्न एमालेलाई सोध्नुपर्दैन’

२५ जेठमा अध्यक्ष ओलीले अनेरास्ववियुको महाधिवेशनमा भण्डारीलाई राजनीतिक गतिविधि नगर्न चेतावनी दिँदै कार्यकर्तालाई पनि उनको पक्षमा नलाग्न भनेका थिए । महाधिवेशनमा यो अथवा त्यो अध्यक्ष हुने हल्ला चलाएर पार्टी कमजोर पार्न खोजिएको भन्दै त्यस्ता कुरा इन्कार गर्न निर्देशन दिएका थिए । पार्टीको तल्लो तहसम्म भण्डारीको गुट बनेको भन्दै त्यसरी कोही आए त्यसको जबाफ दिइहाल्न भनेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीले ओलीको सो अभिव्यक्तिको जबाफ मात्रै दिइनन्, एमाले राजनीतिमा आफूलाई कसैले रोक्न नसक्ने स्पष्ट सन्देशसमेत दिइन् । ‘विद्या भण्डारी पार्टीगत राजनीतिमा के हुन्छ ? कहाँ जानुहोला भन्ने प्रश्न होला,’ उनले भनिन्, ‘पार्टीगत रूपमा त म जुन पार्टीबाट जन्मेँ, हुर्कें र यो स्थानमा पुगेँ, त्योभन्दा फरक सोच्न सकिने कुरा भएन ।’

यद्यपि, उनले ओलीले आफूलाई नै तोकेर भनेजस्तो नलागेको बताउँदै आफूले पार्टी राजनीतिमा कहिल्यै पनि गुट नबनाएको जनाइन् । सधैँ मूलधारको राजनीति गरिराखेकाले ओलीले आफूलाई गुटबन्दी गरेको भन्न नमिल्ने बताउँदै उनले भनिन्, ‘अध्यक्षज्यूले विद्या भण्डारीलाई प्रतिस्पर्धी देखेर त्यस्तो धारणा राखेजस्तो मलाई पटक्कै लाग्दैन । महाधिवेशनमा नेतृत्व निर्माण हुन्छ, तिमीहरू चिन्ता नगर हामी मिलाएर गर्छौं भनेर कार्यकर्तालाई आश्वस्त गर्न खोज्नुभएको हुन सक्छ ।’

भण्डारीले पार्टीको संगठित सदस्यता लिनु अघिदेखि नै पार्टीमा काम गरेको भन्दै आफू कार्यक्रमहरूमा जानु र समाजसँग साक्षात्कार गर्नु स्वाभाविक भएको बताइन् । उनले आफूले देशभित्र घुमफिर गर्न एमाले पार्टी कमिटी र नेताहरूसँग अनुमति लिनुनपर्ने पनि बताइन् । ‘राष्ट्रिय आकांक्षालाई साकार बनाउन हामी लाग्नुपर्छ, हाम्रो परम कर्तव्य हो । हामीले नयाँ पुस्ता र देशका लागि बाचुन्जेल संघर्ष गर्नुपर्छ । त्यसकारण मैले देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्दैन,’ उनले भनिन् ।

विद्यालाई बाटो खोल्ने गरी पोखरेलको अभिव्यक्ति

७४ वर्ष पुगेका केपी ओली तेस्रो कार्यकाल पनि अध्यक्ष बन्ने दाउमा छन् । त्यसैले उनी उमेर हदको प्रावधान फेल भएको बताउन थालेका छन् । अनेरास्ववियुमा ३२ बर्से उमेर हदको डन्डा चलाएका ओलीले पार्टीमा भने लागू नगर्ने छाँट देखेपछि नेताहरू बिस्तारै उनीविरुद्ध खुल्न थालेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू उमेर हदको पक्षमा रहेको अभिव्यक्ति दिएका छन् । पार्टी अध्यक्ष र प्रधानमन्त्री २ कार्यकालभन्दा बढी नहुने पार्टीको अघिल्लो महाधिवेशनले तय गरेको कुरा पनि लागू हुनुपर्ने उनको भनाइ छ ।

००००

सहमतिका लागि दबाब : कृष्ण पोखरेल, विश्लेषक

विद्या भण्डारीले मैले कतै जाँदा पार्टी वा नेताको अनुमति लिनुपर्दैन भन्नुको अर्थ सहमतिबाटै मलाई नेतृत्वमा अघि सार भन्ने दबाब हो । दबाब ठुलो भयो भने कहीँ न कहीँ त सहमतिमै पुग्ला । तर, केपी ओलीको नाममा सहमति हुन गाह्रो छ, भण्डारीकै नाममा हुन्छ । अब उनी खुलेरै महाधिवेशनको तयारीमा देखिएकी छिन् ।

प्रतिक्रिया