शक्ति राष्ट्रहरूले आप्रवासन नीतिमा कडाइ गर्दा बढ्यो नेपाल भित्रिने पैसा

रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक रेकर्ड

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक प्रतिवेदनले रेमिट्यान्समा नेपालले ऐतिहासिक फट्को मारेको देखाएको छ । प्रतिवेदनअनुसार गत वैशाख महिनामा मात्र १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो एकै महिनामा भित्रिएको हालसम्मकै सबैभन्दा बढी हो ।

गत वर्षको वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै, चालु आर्थिक वर्षको १० महिनासम्म मुलुकमा रेमिट्यान्समार्फत् १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १३.९ प्रतिशतले बढी हो । जनगणना २०७८ को तथ्यांकअनुसार करिब २२ लाख नेपाली परिवारमा अनुपस्थित रहेको अर्थात् विदेशमा बसोबास गर्छन् । त्यस्तै, ४० देखि ५० लाख हाराहारी नेपाली नागरिक विश्वका ९० भन्दा बढी देशमा श्रमिकका रूपमा कार्यरत छन् भने झन्डै १० लाख हारहारी अध्ययनका लागि बिदेसिएका छन् । भिजिट भिसाको दुरुपयोग गरेर तथा अवैध रूपमा बिदेसिनेको संख्या पनि उत्तिकै छ । तर, यसको यकिन तथ्यांक छैन ।

यसरी हेर्दा विदेशमा रहेका करिब ८० लाख नेपाली नागरिकले नेपालमा आफ्नो कमाइ पठाउने गरेका छन् । तर, अहिले जति रकम रेमिट्यान्सका रूपमा भित्रिने गरेको छ, विदेशमा भएका नेपाली नागरिकको तुलनामा त्यो निकै कम हो । विभिन्न अध्ययनले देखाएअनुसार नेपालमा भित्रिने रेमिट्यान्स भनेको ६० प्रतिशत मात्र हो । ४० प्रतिशतले हुन्डीजस्ता अवैध बाटोबाट नेपालमा पैसा पठाइरहेका छन् ।

विश्व राजनीतिको अस्थिरताले रेमिट्यान्स बढायो : डिल्लीराज खनाल, अर्थविद्

डिल्लीराज खनाल

रेमिट्यान्सको आँकडा बढ्नुलाई सकरात्मक र नकरात्मक दुवै पाटोबाट विश्लेषण गर्नुपर्छ । बिदेसिनेको संख्या बढेर मात्रै रेमिट्यान्स बढ्ने होइन । विश्व राजनीतिमा देखिएको अस्थिरता र अमेरिका तथा युरोपियन देशहरूको नयाँ आप्रवासन नीतिका कारण पनि रेमिट्यान्सको आँकडा बढेको छ । प्रायजसो देशले विदेशी नागरिकलाई स्वदेश फिर्ता गरिरहेका छन् । कमाएको पैसा त्यहीँ लगानी गर्न डराउने अवस्था बनेपछि आफ्नो कमाइ सुरक्षित गर्न नेपाल पठाउँदा पनि रेमिट्यान्स बढेको हो ।

०००००

विश्वमा नेपालीले आफ्नो हैसियत बढाउँदा रेमिट्यान्स बढ्यो : अनलराज भट्टराई, अर्थविद्

अनलराज भट्टराई,

रेमिट्यान्ससँगै विदेशमा गएका श्रमिकको तथ्यांक पनि प्रस्तुत गर्ने र बिदेसिनेको संख्या बढ्यो भनेर विश्लेषण गर्ने परम्परा अर्थहीन र विरोधाभाषपूर्ण छ । बढेको रेमिट्यान्सको आँकडाले विदेशमा भएका नेपालीहरू ‘मेच्योर’ हुँदै गएको देखाउँछ । श्रम स्वीकृति लिएर गएकाले मात्र रेमिट्यान्स पठाउँदैनन् । विकसित देशमा पनि नेपालीहरू प्रतिष्ठित रोजगारीमा छन् । यसमा गलत भाष्य सिर्जना गर्नुभन्दा पनि विश्वमा नेपालीहरूले आफ्नो हैसियत बढाएका छन् भन्ने कोणबाट पनि विश्लेषण गर्नुपर्छ ।

०००००

रेमिट्यान्स बढ्दैमा खुसी हुने अवस्था छैन : नरबहादुर थापा

नरबहादुर थापा

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी प्रमुख नरबहादुर थापा रेमिट्यान्स बढ्यो भन्दैमा खुसी हुनु मुर्खता भएको टिप्पणी गर्छन् । रेमिट्यान्समा भर पर्दा देशको अर्थतन्त्र चौपट हुने दिशातर्फ उन्मुख भएको र रेमिट्यान्टमा मात्रै देशको अर्थतन्त्र टिकाउन खोज्नु भनेको अर्थतन्त्र चौपट बनाउन खोजेको रूपमा बुझ्नुपर्ने उनी जस्ता अर्थतन्त्रलाई नजिकबाट नियालेकाहरूको धारणा छ । वर्तमान अवस्था हेर्ने हो भने नेपालको आन्तरिक उत्पादन एकदमै न्यून र आयात अत्यधिक छ । यस्तो अवस्थामा रेमिट्यान्सले गरिबी घटाउन मद्दत गरे पनि अर्थतन्त्रलाई दीर्घकालीन रूपमा दिगोपना दिन सक्दैन । भित्रिएको रेमिट्यान्स खाद्यान्नलगायत वस्तुमा मात्र सीमित हुँदा उत्पादनमूलक क्षेत्रमा लगानी भएको छैन । ‘रेमिट्यान्सले देश विकास गर्न सक्ने ल्याकत सरकारमा पुगेकाहरूसँग भएन । जसका कारण पनि अर्थतन्त्र चौपट हुने बाटोमा छ,’ थापाले भने ।

प्रतिक्रिया