काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैंकले नेपालका जलविद्युत् क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपालका जलविद्युत् आयोजनामा विश्व बैंकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।
उनले अप्पर अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको कार्यलाई चाँडो टुंगोमा पुर्याउनसमेत विश्व बैंकसँग आग्रह गरेका थिए । यस्तै, विद्युत्को आपूर्ति सुदृढीकरण गर्ने विषयमासमेत बैठकमा छलफल भएको थियो ।
भेटमा विश्व बैंकका क्षेत्रीय निर्देशक गुप्ताले विश्व बैंकले अप्पर अरुण जलविद्युत् आयोजनालाई विश्व बैंकले प्राथमिकतामा राखेको बताएका थिए ।
भेटमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिवद्वय चिरञ्जीवी चटौत, सागरराज गौतम, विश्व बैंक नेपालका देशीय निर्देशक डेभिड सिस्लेनलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया