सन्दर्भ मोड्न निरर्थक ‘झोले बहस’

साँच्चिकै यो झोले बहस आजको जरुरी बहस हो ? मेरो बुझाइमा किमार्थ होइन । अरू विभिन्न असफलताहरू, कमिकमजोरीहरू त कति छन् छन् जसको बयान १०० जिब्रा भएका भनिएका शेषनागले पनि गर्न नसक्लान् । हालसालै उजागर भएको मानव तस्करी काण्डले देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा समेत ओली सरकारको जुन बदनामी भइरहेको छ त्यसबाट सबैको ध्यान अन्यत्र मोड्न यो बहस चलाइएको कुरामा दुईमत नरहला ।

दिनेश रायमाझी

चल्नै नसकेको तर चलाउन अत्यन्तै प्रयास गरिएको ‘म झोले हुँ’ भन्ने अभियानलाई ‘अर्थ न बर्थ, गोबिन्द गाई’ भन्ने ठानेर खासै वास्ता गरिरहेको थिइनँ । देशको समस्या एकथोक छ तर बहस भने अर्कै विषयमा चलाउन खोजिएको यस्तो वाहियात विषयको बहसमा भाग लिनु समयको बर्बादी हो भन्ने लाग्दछ । यो एकप्रकारले देशका जल्दाबल्दा मुद्दाबाट जनताको ध्यान मोडेर अन्यत्र लैजानको निम्ति चलाउन खोजिएको बहस हो भन्ने मेरो बुझाइ हो र छ पनि । १ जना मेरा मित्रले झोले बहसमा सहभागी बन्दै आफ्नो धारणा मसित साझा गर्दासमेत मैले त्यसप्रति तटस्थ भाव राखी कुनै प्रतिक्रिया व्यक्त नगरिकन बसेको थिएँ । तर अनलाइन खबर डट कममा प्रकाशित पत्रकार बसन्त बस्नेतको ‘लु, आज झोले बहस गरौँ’ (२०८२ जेठ २६) आलेख पढेपछि भने मलाई पनि यस बहसमा हामफाल्ने रहर जाग्यो ।

झोले बहस किन चल्न सकेन भन्ने बारेमा उनी लेख्छन्, ‘प्रधानमन्त्रीकै तहबाट सुरु भएको झोले अभियान जतिसुकै डेसिबलको भए पनि यसले फिटिक्कै ध्वनि सिर्जना गर्न सकेन ।’ साँच्चिकै यो झोले बहस आजको जरुरी बहस हो ? मेरो बुझाइमा किमार्थ होइन । अरू विभिन्न असफलताहरू, कमिकमजोरीहरू त कति छन् छन् जसको बयान १०० जिब्रा भएका भनिएका शेषनागले पनि गर्न नसक्लान् । हालसालै उजागर भएको मानव तस्करी काण्डले देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा समेत ओली सरकारको जुन बदनामी भइरहेको छ त्यसबाट सबैको ध्यान अन्यत्र मोड्न यो बहस चलाइएको कुरामा दुईमत नरहला । उक्त काण्डबाट कस्तो अन्तर्राष्ट्रिय छवी बन्न गएको छ भन्ने कुरा त खबर सार्वजनिक हुनु लगत्तै अमेरिकाले अध्यागमन प्रमुखको भिसा रद्द गरेकोबाट थाहा हुन्छ । आफ्नो गिर्दो साख जोगाउन ओलीले यो बहसको चारोपासो फालेका हुन् । यस्तो कुटिल बहसबाट किन ध्वनि निस्किन सम्भव छैन भने ‘स्पन्जका काम नलाग्ने टुक्राहरूले भरिएको जतिसुकै ठुलो बोरा जतिसुकै उचाइबाट खसाले पनि त्यसबाट ध्वनि निस्किन्न बरु धुलो उड्छ ।’ ध्वनि यही भएर ननिस्किएको हो ।

यो खेतीपातीको समय हो । केही दिन पहिले ‘कृष्णनगरका जनताले प्रहरीकै हातबाट युरिया खोसेर लगे’ भन्ने खबर आएको थियो । ओली सरकारले किसानलाई मलखाद उपलब्ध गराउन के कदम चाल्यो त उक्त घटनाबाट पाठ सिकेर ? मलखाद कसरी सहज तरिकाले उपलब्ध गराउने भन्ने विषय बहसको मुद्दा बन्नुपर्ने होइन ? आफैँले संसद्को रोस्टममा उभिएर आरोप लगाएको मानिस दलगत सामिप्यताको कारणले जघन्य अपराधको कसुरबाट सफाइ पाएको छ । खोइ न्यायिक पुनरावलोकनमा गएको ? न्याय निरुपणमा कहाँ के समस्या रहेका छन् र यस्तो हुन जान्छ भनेर बहस चलाउनु पर्दैन ? भ्रष्टाचारमा नाम जोडिएपछि अथवा शंकाको घेरामा परेपछि गोकुल बाँस्कोटालाई राजिनामा गर्न लगाएकै हो । जिब्रो चिप्लिएपछि तामाङलाई पनि राजिनामा गराएको हो नि त । हिजो तिनै मानिसले प्रतिपादन गरेका नैतिकताका सिद्धान्तहरूलाई मानक मान्दा पनि भिजिट भिसामा नागरिक तस्करी गर्नेहरूसँग गृहमन्त्रीको सामिप्यता हेर्दा निजलाई राजिनामा गराउन वा पदच्युत गर्न सकिने ठाउँहरू छन् । तर ओलीमा त्यस्तो गर्नुपर्छ भन्ने मनसाय देखिएन । यहाँनेर नैतिकता के हो ? किन जरुरी छ भन्ने कुरा बहसको विषय बन्नुपर्ने होइन ? सरकार टिकाउन जे पनि गर्न मिल्दैन ।

नेपालको आजको यथार्थ भनेको बेरोजगारीको कारणले सिर्जना गरेको जनशक्ति (खास गरेर युवा जनशक्ति) को बढ्दो पलायन हो । महँगीले पुर्याएको दुःख, पीडा र अपमानको लेखाजोखा गर्न थाल्ने हो भने एउटा अर्कै कथा बन्छ । खोइ नेपालमा रोजगारी निर्माण गर्ने विषयमा बहस गरेको ? देशको सबैभन्दा सिर्जनशील युवाशक्ति देशको निर्माण र बिकास कार्यमा सहभागी नबनी ‘समृद्ध नेपाल र सुखी नेपाली’को चाहना वा लक्ष्य हासिल गर्न असम्भव छ । कसरी युवा पलायनलाई रोक्ने ? युवा पलायनलाई रोक्न के गर्नुपर्छ, के कस्ता उपायहरू अपनाउनुपर्छ भन्ने विषयमा बहस खोइ ? कस्तो वातावरण, कस्तो नीति, कस्तो पूर्वाधार, कस्तो लगानी, कस्तो प्रशासन, खोइ त बहस ? यस्ता विषयहरू बहसको विषय कहिले बन्ने ? राष्ट्र निर्माणको डिस्कोर्स त प्रधानमन्त्रीले नै बनाउनुपर्ने होइन र ?

‘खान पनि दिन्न र आफूले पनि खान्न’ भनेर भनेको सुन्दा नराम्रो होइन राम्रो लाग्छ । भयंकर ठुलाठुला घोटालाहरू, सुन्दा पनि आङ नै जिरिंग हुने किसिमका, भयो भनेर सार्वजनिक रूपमै आइसकेका छन् । अधिकांश घोटालामध्ये केहीमा ओलीजी स्वयंको पनि र अन्य घोटालाहरूमा उहाँका ‘राजनीतिक जर्नेलहरू जोडिएका छन् भन्ने आमचर्चा छ ।’ जर्नेलहरू पार्टीमा आवद्धहरू मात्रै हुँदैनन् भन्ने कुरा बताइरहनु पर्दैन । देशमा यो हदसम्मको र अकल्पनीय घोटालाहरू घटित हुन किन सम्भव भइरहेको छ ? नीतिमा, कार्यान्वयनमा, प्रशासनिक संयन्त्रमा, जिम्मेवारी दिने कुरामा केमा हो समस्या र कसरी काम गर्ने भनेर बहस गर्नु आवश्यक छैन र ?

ओलीको नीतिमा यस्ता विषयहरू प्राथमिकतामा परेको पाइन्न । उहाँका भाषण, छलफल, अन्तर्वार्ता आदिमा यस्ता विषयहरूले स्थान पाएको पनि देखिन्न । उहाँका भाषणहरूमा बाघे झप्पु हान्ने, अरिंगालले जसरी चिल्ने, कब्जा गर्नेजस्ता कुराहरू सुनिन्छन् जसले समाजमा झगडा, द्वन्द्व र हिंसालाई बढावा दिने काम गर्छन् । शिक्षा निजीलाई, स्वास्थ्य निजीलाई, उद्योग निजीलाई, पूर्वाधार निजीलाई, पर्यटन तिनैलाई, यातायात तिनैलाई, पानी, सञ्चार, आइटी तिनैलाई सुम्पिदिएपछि बहस किन चाहिन्छ (?), चाहिन्न । सबै निजीको जिम्मामा दिएपछि न राम्रो गर्नुपर्छ, न राम्रो बनाउनुपर्ने जरुरत पर्छ । जनतालाई रोजगारी दिनुपर्ने आवश्यकता पनि हराउँछ । किनभने सबै काम निजीले गरिदिन्छन् । यस्तो व्यवस्था मिलाएपछि लाख रुपैयाँ पर्ने चस्मा र घडी लाउन, चुनावमा पैसा बाँड्न, गुट चलाउन कहिल्यै समस्या पर्दैन । किनभने सबै कुरा तिनैले जुटाइदिन्छन् । एकसुको कमाइ छैन तर सबैजसो जहाजमा सयर गर्छन् । सबैका ओहो भन्ने किसिमका घर छन्, निजी गाडी वा ट्याक्सीमा घर पार्टी अफिस जाउ आउ गर्छन् । यो अपारदर्शी जीवन पद्धति कसरी बिताउन सम्भव बन्यो त भन्दा निजीसँगको साँठगाँठले सम्भव बनाएको छ ? यस्तो अवस्था बन्नु गलत हो, बेठिक हो । यस्तो प्रवृत्तिलाई रोक्न, अंकुश लगाउन र जनतालाई सरकार छ है भनेर आश्वास्त पार्न के गर्नु पर्छ भनेर खोइ बहस गरेको ? मलाई पूरा विश्वास के छ भने ज्ञानेन्द्रको आम्दानी वा कमाइ हाम्रा नेताहरूको भन्दा धेरैगुणा पारदर्शी छ ।

झोले बहस आफैँमा निरर्थक बहस हो । यस्तो बहस गराउन जसले उक्साएको भएता पनि उसले छिमेकतिरको सिको गरेको कुरामा दुईमत छैन । ‘म चौकीदार हुँ’ भन्ने कुरा र ‘म झोले हुँ’ भन्ने कुरामा तात्पर्यगत समानता छ । ‘म चौकीदार हुँ’ भन्ने नाराले छिमेकमा ठुलो सफलता प्राप्त गरेको कुरालाई ध्यानमा राखेर ओलिजीको गिर्दो साखलाई माथि उठाउन ‘म झोले हुँ’ को नारा क्वाइन गरिएको सहजै बुझ्न सकिन्छ । तर यो नारा क्वाइन गर्नेले नबुझेको कुरा के हो भने आजको समय झोलामा पर्चा र पार्टीका दस्तावेजहरू बोकेर गाउँ पस्ने नेता कार्यकर्ताहरूको समय होइन । क्याफे वा रेस्टुरेन्टमा बसेर लाट्टे, अमेरिकानो, वा क्यापाचिनोको चुस्की लिँदै संसारमा कहाँ कहाँ के कस्ता अवसरहरू छन् भनेर ल्यापटपमा सर्च गर्दै बस्ने युवाहरूको युग हो यो । यो झोले बहस ती मिलेनियल वा जेन जी युगका युवाहरूको मनमस्तिष्कमा प्रवेश नै गर्न सक्दैन । यस्तो बेतुकको बहसले उनीहरूको आकांक्षालाई सम्बोधन नै गर्दैन । कलेज पढ्दै गरेका योंग टक्र्स कोही फिनान्सियल मार्केटमा, कोही आइटीमा, कोही फेसनमा, कोही मोडेलिङमा, कोही होटेलमा त कोही केमा पार्टटाइम काम गरिरहेका भेटिन्छन् । यस्ता युवाहरूसित यो झोले बहसको साइनो–सम्बन्ध नै छैन । ओलीसँग नजिकिँदै, उनको नजरमा पर्दै पार्टीभित्रको कुनै जिम्मेवारी पाउने, राजकीय पदहरू प्राप्त गर्ने, वा यस्तै आयोग सायोगमा कुनै पद प्राप्त हुन्छ कि भन्ने लालसा राख्नेहरूको समूह यो बहसमा सक्रियतापूर्वक भाग लिइरहेका छन् । त्यस्ता मानिसहरू जोसँग स्वाभिमानको कमी छ, दास हुन मन गर्छन्, र आफ्नो क्षमतामा भर छैन तिनीहरूको लागि यो बहस उपयोगी हुन सक्ला । तर युवाहरूको निम्ति झोले बहस बकवास मात्रै हो । यो झोले बहसभित्र न अर्थतन्त्र पर्छ, न सामाजिक सांस्कृतिक बिकासका कुराहरू पर्छन्, न पूर्वाधार को विकास पर्छ, न ब्यापार, उद्योग र लगानीका कुराहरू नै पर्छन् । महँगाई किन छ, बेरोजगारी किन छ, बाटाहरू किन समयमा बन्दैनन्, सरकारी निकायहरूमा काममा ढिलासुस्ती र अन्डरटेबल लेनदेन किन हुन्छ, ठुलाठुला भ्रस्टाचार कसरी हुन सकिरहेको छ भन्ने विषयमा यो झोले बहसले प्रवेश नै गर्दैन ।

यो समयमा झोले बहस चलाउनुको एक मात्र उद्देश्य भनेको आफ्नो नाकामीमाथि छारो हाल्ने र जनतालाई अनावश्यक बहसमा अल्झाउनु हो । यो बहसमा सहभागी हुन कुनै बौद्धिकताको जरुरत पर्छ ? कुनै विशेषज्ञताको जरुरत पर्छ ? कुनै डाटा प्रयोग गर्नुपर्छ ? कुनै रिसर्च पेपर अध्ययन गर्नुपर्छ ? जबाफ हुन्छ– पर्दैन । मान्छेलाई अन्धभक्त बनाउने, प्रश्न सोध्न नसक्ने बनाउने, कट्टर अनुयायी बनाउने मकसद बोकेको बहसबाट टाढा रहनुमा नै देश र सबैको हित हुन्छ भन्ने कुरा जानिराखे राम्रो ।

प्रतिक्रिया