धादिङ । गल्छी गाउँपालिका–६ भल्टारस्थित पृथ्वीराजमार्गमा सवारी दुर्घटनामा परी १२ जना यात्रु घाइते भएका छन् ।
बिहीबार अपराह्न करिब ४ः४५ बजे लमजुङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ख ६९४ नम्बरको हाइस र काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ख ७१४१ नम्बरको हाइस एक आपसमा ठोक्किएको हो ।
दुर्घटनामा परी दुवै गाडीबाट ६–६ जना गरी कुल १२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सुवास हमालले जानकारी दिए ।
घाइतेहरूमध्ये केहीलाई गल्छीस्थित अम्बे भरोसा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रेफर गरिएको सूचना अधिकारी हमालले जानकारी दिए ।
घटनास्थलमा प्रहरी निरीक्षक चरीबहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो । दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा छन् भने सडक अवरुद्ध नभएको जनाइएको छ ।
प्रतिक्रिया