बागलुङ । सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना पनि बढेको पाइएको छ । पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै दुई हजार ९५१ उजुरी परेका छन् । यस अवधिमा सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा उजुरी परेका छन् ।
कास्कीमा एक हजार ६८३ र मनाङमा तीन जनाले उजुरी दिएका छन् । नेपाल प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी निरीक्षक प्रकाश पौडेलका अनुसार कास्कीमा आर्थिक वर्ष २०७८–७९ मा ११४ वटा, आव २०७९–८० मा २३२ वटा, आव २०८०–८१ मा ९३८ र चालु आवको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परेका छन् ।
नवलपुरमा आर्थिक वर्ष २०७८–७९ मा ३१ वटा, आव २०७९–८० मा ४४ वटा, आव २०८०र८१ मा २०२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परका छन् । तनहुँमा आर्थिक वर्ष २०७८–७९ मा १९ वटा, आव २०७९–८० मा ५२ वटा, आव २०८०–८१ मा १३७ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४१ वटा मुद्दा परको प्रहरी निरीक्षक पौडेलले बताए ।
स्याङ्जामा आर्थिक वर्ष २०७८–७९ मा २४ वटा, आव २०७९–८० मा ३३ वटा, २०८०–८१ मा ७३ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २९ वटा मुद्दा परेका छन् । बागलुङमा आर्थिक वर्ष २०७८–७९ मा ९ वटा, आव २०७९–८० मा नौ वटा, आव २०८०–८१ मा ३५ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २८ वटा मुद्दा परको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
गोरखामा आर्थिक वर्ष २०७८–७९ मा १९ वटा, २०७९–८० मा ११ वटा, आव २०८०–८१ मा ६४ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २४ वटा मुद्दा परेका छन् । लम्जुङमामा आर्थिक वर्ष २०७८–७९ मा साइबर अपराधसम्बन्धी उजुरी परेको छैन । आर्थिक वर्ष २०७९–८० मा चार वटा, आव २०८०–८१ मा ७१ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २६ वटा मुद्दा परेको पौडेलको भनाइ छ ।
पर्वतमा आर्थिक वर्ष २०७८–७९ मा १० वटा, आव २०७९–८० मा १७ वटा, आव २०८०र८१ मा ५२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ११ वटा मुद्दा परेका छन् । म्याग्दीमा आर्थिक वर्ष २०७८–७९ मा छ वटा, आव २०७९र८० मा छ वटा, आव २०८०–८१ मा ३६ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २४ वटा मुद्दा परेका छन् ।
मनाङमा आर्थिक वर्ष २०७८–७९ मा साइबर अपराधसम्बन्धी उजुरी परेको छैन भने आव २०७९–८० मा एउटा वटा, आव २०८०–८१ मा एउटा र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एउटा वटा मुद्दा परेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।
नेपाल प्रहरी प्रदेश कार्यालयमा २०७८–७९ मा दुई वटा, आव २०७९–८० मा तीन वटा, आव २०८०–८१ मा १३ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एउटा पनि मुद्दा नपरेको उनको भनाइ छ ।
सबैभन्दा बढी उजुरी गर्ने फेसबुक प्रयोगकर्ता
गण्डकी प्रदेशमा साइबर अपराधसम्बन्धी सबैभन्दा बढी उजुरी गर्ने फेसबुक प्रयोगकर्ता छन् भने कम उजुर गर्नेमा ह्वाट्सएप प्रयोगकर्ता छन् । चार वर्षमा दुई हजार ५४६ जना फेसबुक प्रयोगकर्ताले उजुरी दिएका छन् भने ७३ जना ह्वाट्सएप प्रयोगकर्ताले उजुरी दिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । प्रहरी निरीक्षक पौडेलका अनुसार १७७ जना टिकटक, ८१ जना इन्स्टाग्राम ७३ जना अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले उजुरी गरेका छन् ।
आर्थिक वर्ष २०७८–७९ मा १९० जना, आव २०७९–८० मा ३१३ जना, आव २०८०–८२ मा एक हजार ५४२ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५०१ जना फेसबुक प्रयोगकर्ताले उजुरी दिएका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७८–७९ मा २५ जना, आव २०७९–८० मा ४९ जना, आव २०८०–८२ मा २९ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ७५ जना टिकटक प्रयोगकर्ताले उजुरी दिएका छन् । आर्थिक वर्ष २०७८–७९ मा ६ जना, आव २०७९–८० मा ३८ जना, आव २०८०–८१ मा २० जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १७ जना इन्स्टाग्राम प्रयोगकर्ताले उजुरी दिएका छन् ।
आर्थिक वर्ष २०७८–०७९ मा चार जना, २०७९–८० मा नौ जना, आव २०८०–८२ मा २१ जना र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १९ जना ह्वाट्सएप प्रयोगकर्ताले उजुरी दिएका छन् । चार वर्षमा ७३ जना अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले उजुरी दिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । प्रहरीले तयार गरेको तथ्यांक अनुसार सामाजिक सञ्जाल ह्याकसम्बन्धी बढी उजुरी परेको छ ।
ह्याकसम्बन्धी एक हजार ८०६ जना, फेक आइडीसम्बन्धी ६७४ जना, ठगीसम्बन्धी ३४, गालीगलौजसम्बन्धी ११३ जना, अश्लिल गतिविधिसम्बन्धी २०५ जना र अन्य साइबर अपराधसम्बन्धी ६८ वटा उजुरी परेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा परेका ६६६ उजुरीमध्ये ४३० वटा फछ्र्यौट भएका छन् । २३६ उजुरी भने फछ्र्यौटका क्रममा छन् ।
सबैभन्दा बढी युवा पीडित
प्रदेश प्रहरी कार्यालय गण्डकीको तथ्यांकलाई हेर्दा साइबर अपराधबाट सबैभन्दा बढी युवापुस्ता पीडित भएको देखिन्छ । विद्यालय र क्याम्पस पढ्ने उमेर समूहका विद्यार्थी र आफैँ केही गर्नसक्ने युवा साइबर अपराधबाट पीडित बनेको पाइएको छ । आर्थिक वर्ष २०७८–७९ देखि हालसम्म २६–३५ उमेर समूहका एक हजार ६१ जना पीडित भएका छन् ।
१६ वर्ष मुनिका ५८ जना, १६–२५ उमेर समूहका ८३६ जना पीडित भएका छन् । त्यस्तै, ३६–४५ उमेर समूहका ६२७ जना, ४६–६० उमेर समूहका २६९ जना, ६० वर्ष माथिका ५४ जना र अन्य उमेर समूहका ४६ जना पीडित बनेका छन् ।
किन युवा पुस्ता बढी पीडित छन् ?
साइबर अपराधसम्बन्धी कानुनबारे सचेत नहुँदा घटनाहरु हुने गरेको अधिवक्ता राम शर्माले बताए । साइबर अपराध कम गर्नका लागि सामाजिक सञ्जाल प्रयोगकर्ता सचेत हुन जरुरी रहेको उनले बताए । साइबर कानुन नेपालमा भएको हुँदा यसको कार्यान्वयन अलि प्रभावकारी हुन नसक्दा घटना हुने गरेको उनको भनाइ छ ।
अधिवक्ता शर्माले भने, ‘अहिले मर्यदाविपरीत तस्बिर र भिडियो पोस्ट गर्ने प्रचलन जस्तो भयो, यसले स्वयं व्यक्ति र समाजलाई पनि राम्रो गरेको छैन, हरेक नागरिक सचेत नभएसम्म यस्ता किसिमका अपराधका घटना कम गर्न गाह्रो हुन्छ ।’ चिनजानका आधारमा मोबाइल बैंकिङका पासवर्ड अरुलाई दिने र अपरिचित लिंक खोल्दा धेरैको फेसबुक ह्याक हुने गरेको धेरै मानिसहरु पीडित हुनुपरेको शर्मा बताउँछन् ।
मुलुकी ऐन तथा अन्य ऐनका विभिन्न दफा लगाएर कानुन कारबाही हुँदै आएकामा विसं २०६३ बाट भने विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी विशेष ऐन नै ल्याई हाल लागू भइरहेको उनले बताए ।
यस ऐनको दफा ४४ देखि दफा ५८ सम्म विभिन्न प्रकारका कसुरको उल्लेख गरी सो प्रमाणित भएमा कानुनअनुसार रु ५० हजारदेखि पाँच लाखसम्म जरिवाना तथा ६ महिनादेखि पाँच वर्षसम्मका जेल सजाय कसुर अपराधको मात्रा हेरी अदालतले तोक्नसक्ने कानुनी प्रावधान छ ।– रासस
प्रतिक्रिया