– ३० वर्ष नाघेका पुरुष र ३५ वर्ष ननाघेका महिला बढी संलग्न – पछिल्लो १० महिनामा ७ वटा मुद्दा दर्ता, १६ जना पक्राउ, १ जनाको हत्या
काठमाडौँ ।
घटना १
गत असोजमा ‘हनी ट्रयाप’मा पारेर एक समूहले काठमाडौँको कीर्तिपुरका ५० वर्षीय विनोद खड्गीको हत्या नै गर्यो । २१ वर्षीया युवतीलाई भेट्न गएका खड्गी काभ्रे पाँचखाल नगरपालिका–८ स्थित ४९ किलो भन्ने ठाउँमा मृत फेला परेका थिए । खड्गीसँग फिरौती असुलेर हत्या गर्ने योजनाकी प्रमुख योजनाकार २१ वर्षीया मनिषा महत र ४ युवकलाई काभ्रे प्रहरीले पक्राउ गर्यो । सो समूहले मागेको ३० लाख फिरौती दिन नसक्दा खड्गीको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
घटना २
गत चैतमा एक सरकारी कर्मचारी टिकटकमा बोलचाल भएकी युवतीले कफी खान गरेको अफर स्वीकार गर्दै ठमेल पुग्छन् । ठमेलमा युवती भेट्न पुगेपछि ती कर्मचारी ‘हनी ट्रयाप’मा पर्छन् । भेटेको भोलिपल्टदेखि ती युवतीले उनलाई नग्न तस्बिर पठाएर घरजग्गाको बार्गेनिङ गर्न थाल्छिन् र नदिए बलात्कार मुद्दामा फसाउने धम्की पनि दिन्छिन् । त्यो कुरा गोप्य राख्न पीडित पुरुषले अनेक उपाय लगाउँछन् । केही सीप नलागेपछि उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको सम्पर्कमा पुग्छन् । त्यसपछि प्रहरीले ३४ वर्षीया ममता तामाङ र आँचल चौगुठीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउँछ ।
घटना ३
गत वर्ष नै मोरङका व्यापारी एक युवतीसँग भेडेटार घुम्न गएका थिए । भेडेटारको घुमघामका विषयमा सुष्मा नामकी युवतीले २ जना युवकलाई सुनाएपछि ती व्यापारी ‘हनी ट्रयापिङ’मा परे । गत असोजमा युवतीकै मोबाइलबाट उनलाई भेडेटार घुम्न लैजाने व्यवसायीलाई फोन गर्दै भैँसेपाटीमा भेट्न बोलाइन्छ । पीडित व्यवसायीसँग सुष्मा विकको समूहले ६० लाख रुपैयाँ माग्छ । रकम नदिए बलात्कारको जाहेरी हाल्ने धम्की दिएपछि ३० लाखमा कुरो मिल्छ र २० लाख नगद र १० लाखको चेक दिन्छन् । उक्त घटनामा संलग्न रहेको भन्दै भैँसेपाटीमा कार्यरत प्रहरी निरीक्षक विनु शाहीसमेत अनुसन्धानमा तानिएकी थिइन् । उक्त घटनाको अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये १ ताज इस्लाम सहितको समूहले ‘हनी ट्रयाप’लाई पेसा नै बनाएको पाइएको प्रहरीको दाबी छ ।
घटना ४
दाङका ३८ वर्षीय घरजग्गा व्यवसायी समीर थापा (नाम परिर्वतन)को जीवन एक युवतीको ‘हनी ट्रयाप’मा परेर तहसनहसको अवस्थामा पुग्यो । २०७८ पुसमा बालाजुको एक दोहोरी साँझमा भेटिएकी गोरखाकी ३३ वर्षीया तारा गुरुङसँग नजिकिँदा उनी ‘हनी ट्रयाप’मा परेका हुन् । चिनजान र लगातारको भेटपछि विवाहित समीर र तारा नजिकिन थाले । सम्बन्ध जोडिएको १ वर्ष नपुग्दै समीरमाथि तारा हाबी हुँदै गइन् । कहिले सुनका चुरा त कहिले हार चाहियो भन्दै समीरलाई धम्क्याउन थालिन् । विस्तारै समीर टाढिन खोजे । तर, फोन नउठाउँदा म्यासेजबाट आफूले मागे जति रकम नदिए बलात्कार मुद्दामा फसाइदिने धम्की दिन थालिन् । ताराले भनेजति रकम दिँदै गए । ताराकै परिवारका सदस्यसहित बसेर २० लाख दिने र सम्पर्कमा नरहने सहमति गरे । तर, ताराले पटकपटक बलात्कारको उजुरी दिने धम्की दिँदै समीरसित रकम मागिरहिन् । पटकपटक गरेर तारालाई ९२ लाख रुपैयाँ दिए, तर बलात्कारको उजुरी दिने धम्की नरोकिएपछि समीर आफू ‘हनी ट्रयापमा’मा परेको भन्दै प्रहरीमा पुगेका थिए ।
यी त प्रतिनिधि घटना मात्रै हुन् । साइबर अपराधको ग्राफ निरन्तर उकालो लागिरहँदा ‘हनी ट्रयाप’ अपराधिक लाभ (एक्सटर्सन)का घटनामा पनि उल्लेख्य वृद्धि भएको छ । प्रविधिको विकास र विस्तारसँगै ‘हनी ट्रयाप’का घटनाको संख्या बढ्दै गएका छन् । गिरोह बनाएर सुन्दर युवतीहरूको प्रयोग गरी सरकारी कर्मचारी, व्यापारी तथा अन्य ‘हुनेखाने’ व्यक्तिहरूलाई ‘हनी ट्रयाप’मा पारेर मोटो रकम असुल्ने गरेका घटना सार्वजनिक हुँदै आएका छन् ।
सामाजिक सञ्जालबाट नजिकिएर अपराधिक लाभ लिन खोज्ने र लाभ नहुने अवस्था आएपछि अनेक धम्की तथा डर देखाउन विभिन्न गिरोह नै लाग्ने गरेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृत बताउँछन् । प्रहरीका अनुसार ‘हनी ट्रयाप’का घटनामा ३० वर्षमाथिका पुरुषहरू बढी पीडित छन्, धेरैजसो घरपरिवारबाट टाढा रहेका, श्रीमान श्रीमतीबीच राम्रो सम्बन्ध नभएका वा एकल पुरुष बढी पर्ने गरेका छन् ।
त्यस्तै, ‘हनी ट्रयाप’का घटनामा ३५ वर्ष ननाघेका युवतीहरू बढी प्रयोग भएका देखिन्छन् । त्यसमा पनि २० देखि ३० वर्षको बीचका धेरै रहेको अनुसन्धानले देखाउँछ । यसैगरी अविवाहित, घरपरिवारबाट टाढा भएका वा सम्बन्धविच्छेद गरेका महिलाहरू बढी संलग्न रहेको अनुसन्धानले देखाएको छ । तर श्रीमान श्रीमती नै मिलेर ‘हनी ट्रयाप’मा पारेको र मोटो रकम मागेका घटना पनि यदाकदा सार्वजनिक भएका छन ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिएको पुष्टि भए १ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
६ वर्षमा ३१ वटा मुद्दा दर्ता, ६९ जना पक्राउ
पछिल्ला ५ वर्ष र चालु आर्थिक वर्षको १० महिनाको अवधिसमेत गरी हनी ट्रयापका घटनामा संलग्न ६९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार यो अवधिमा ३७ पुरुष र ३२ महिला पक्राउ परेका हुन् । कुल ३१ वटा मुद्दा दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा यस्ता घटना बढी हुने गरेका छन् । चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म)मा ७ वटा मुद्दा दर्ता भएका छन् । १६ जना पक्राउ परेका छन्, जसमा पुरुष ९ जना र महिला ७ छन् ।
के हो हनी ट्रयाप ?
हनी ट्रयाप एक प्रक्रिया हो, जहाँ प्रविधिको प्रयोग गरेर कसैलाई आर्थिक रूपमा लुट्ने, ठग्ने र फसाइन्छ । खास गरेर सोसल मिडियासँग विभिन्न बिधि भएकोले सामान्य महिला÷पुरुष यसमा सहभागी हुन सक्तैनन् । हनी ट्रयाप एकप्रकारले जासुसी विधि हो । नेपाल प्रहरीको सामाजिक अपराध हेर्ने अधिकृतहरूका अनुसार केटीबाट केटा ठगिएको छ भने केटाहरू तत्काल रिपोर्टिङ गर्छन् तर केटाबाट केटी ठगिइन् भने सकेसम्म केटीहरू रिपोर्टिङ नै नगरी चुपचाप बस्ने गरेका छन् ।
यसरी हुन्छ ‘ब्ल्याकमेलिङ’ ?
हनी ट्रयाप गरेर ब्यालकमेलिङ गर्दा सुरुमा नरम तरिकाले महिलाहरूले मोटो रकम माग्छन्, अटेरी गरेमा त्यसपछि पुरुषहरूकोसमेत सहयोग लिने गरेको पाइएको छ । यसमा कतिपय पुरुषहरू ‘प्रहरी हुँ मुद्दा लगाइदिउँ ?’ भन्दै धम्की दिन्छन् । कतिपय घटना प्रहरीकै मिलेमतोमा पनि हुने गरेको पाइएको छ । त्यसको उदाहरण हो, प्रहरी प्रभाग भैँसेपाटीमा कार्यरत इन्स्पेक्टर बिनु शाही नै संलग्न भएर एक व्यापारीलाई ३० लाख रुपैयाँको हनी ट्रयाप गरिएको घटना । अहिले उक्त मुद्दा अदालतमा विचाराधीन छ ।
मनोविद्हरू पुरुषहरू महिलाले मिठा कुरा गरेर भेट्न बोलाउँदैमा मख्ख पर्ने र त्यसमा थप गहिराइसम्म पुग्ने गरेको कारण ठुलो समस्या निम्तिरहेको बताउँछन् । अज्ञात व्यक्तिदेखि सावधान हुन्, आफ्नो व्यक्तिगत जानकारी साझा नगर्न, अज्ञात व्यक्तिले भेट्न बोलाउँदा एक्लै नजान, सोसल मिडियामा अज्ञात मानिसहरूलाई मित्रता गर्नुअघि सावधान रहन उनीहरूले सुझाव दिन्छन् ।
प्रतिक्रिया