सुर्तीजन्य पदार्थको गम्भीर जोखिममा नेपाल

सुर्तीजन्य पदार्थ खरिद गर्दा लाग्ने खर्च, सुर्तीजन्य पदार्थको सेवनपछि लाग्ने दम, मुटुजन्य रोग र क्यान्सर रोगको उपचारमा लाग्ने खर्च र सुर्तीजन्य पदार्थले रोगी बनेपछि उत्पादनमा लाग्न नसक्दा हुने घाटासहितको खर्च हिसाब गर्दा वार्षिक ४० अर्ब रुपैयाँ क्षति हुने गरेको देखिएको हो ।

चुरोट, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगको उपचारमा वार्षिक ४० अर्ब रुपैयाँ खर्च भएको पाइएको छ । नेपाल विकास अनुसन्धान परिषद्ले गरेको एक अनुसन्धानले त्यस्तो तथ्य बाहिर ल्याएको हो । परिषद्ले सन् २०२० मा गरेको सो अध्ययनले सुर्तीजन्य पदार्थ खरिद र त्यसले निम्त्याउने रोगका उपचारमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा वार्षिक ४० अर्ब खर्च हुने निष्कर्ष निकालेको हो ।

परिषद्का अनुसार सुर्तीजन्य पदार्थ खरिद गर्दा लाग्ने खर्च, सुर्तीजन्य पदार्थको सेवनपछि लाग्ने दम, मुटुजन्य रोग र क्यान्सर रोगको उपचारमा लाग्ने खर्च र सुर्तीजन्य पदार्थले रोगी बनेपछि उत्पादनमा लाग्न नसक्दा हुने घाटासहितको खर्च हिसाब गर्दा वार्षिक ४० अर्ब रुपैयाँ क्षति हुने गरेको देखिएको हो । यो खर्च कुल गार्हस्थ्य उत्पादनको १ दशमलव शून्य ४ प्रतिशत आर्थिक क्षति हो । धुवाँरहित सुर्तीजन्य पदार्थको लागत जोड्ने हो भने खर्च अझ थपिने परिषद्ले जनाएको छ ।

सरकारले सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन विभिन्न तरिका अपनाएर प्रयास गरे पनि अहिलेसम्म सेवनकर्ता उल्लेखनीय रूपमा नघटेको र चुरोट सेवन गर्ने युवा तथा कलेजका विद्यार्थीको संख्या बढिरहेको यसअघिका अनुसन्धानले समेत औँल्याइसकेको परिषद्ले जनाएको छ । ‘नेपालमा कलेज पढ्ने विद्यार्थीको चुरोट प्रयोगमा देखिएको बढ्दो संख्या चिन्ताजनक छ’, जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले भने । परिषद्का अनुसार हाल नेपालमा सुर्तीजन्य पदार्थका सेवनकर्ता ३२ प्रतिशत छन् ।

सुर्तीजन्य पदार्थका कारण मृत्युको दोस्रो जोखिममा रहेका विश्वका १५ प्रतिशत देशमा नेपाल २३औँ स्थानमा पर्छ । तथ्यांकअनुसार प्रत्येक वर्ष नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५२९ जना अर्थात् प्रतिघन्टा ४ जनाभन्दा धेरैले ज्यान गुमाइरहेका छन् । यो संख्या नेपालको कुल मृत्युको १९ दशमलव ४९ प्रतिशत हो । छिमेकी देशहरूसँग तुलना गर्दा नेपालमा सुर्तीजन्य पदार्थको सेवनले हुने मृत्यु दोस्रो जोखिम कारक हो । पहिलो कारकमा वायु प्रदूषण पर्छ ।

विश्वमा कति मानिसहरू सुर्तीजन्य पदार्थ सेवनका कारण अनेक रोगहरूले च्यापेर बिरामी हुन्छन्, अन्त्यमा अकालमै मृत्युको मुखसम्म पुग्छन् ? भन्ने सम्बन्धमा सर्वसाधारण मानिसहरूले खासै जानकारी राख्दैनन् । चेतना जगाउने हिसाबले सुर्तीजन्य पदार्थहरू जस्तो कि चुरोट, बिँडी, खैनी, तम्बाकु, नस, ई सिगरेट, चुना आदिका कारण वार्षिक रूपमा मृत्युवरण गर्ने मानिसहरूको संख्या बताउँदा उनीहरूले नपत्याए पनि पछिल्लो तथ्यांकअनुसार सुर्तीजन्य पदार्थहरू सेवनकै कारण हरेक वर्ष विश्वका ८० लाख मानिस आफूले बाँच्ने औसत आयु नबाँची बर्सेनि मरिरहेका छन् ।

नेपालमा वर्षमा २५ हजार मानिस सुर्तीजन्य पदार्थको प्रयोगका कारण मर्ने गरेका छन् । सुर्तीजन्य पदार्थबाट मुटु रोग, क्षयरोगसम्मको सुरुआत हुन्छ । सुर्ती खाने लत बिग्रँदै जाँदा मान्छे लागुऔषध दुरूपयोगकर्ता हुन्छ । नसर्ने रोगको मुख्य कारण नै सुर्तीजन्य पदार्थ हो । लगभग ३० देखि ५० वर्षबीचको मृत्युको कारण सुर्तीजन्य पदार्थ बढी देखिएको छ । बाबुआमाले खाएको चुरोटले बालबालिकासमेत निमोनिया भएर मृत्युको मुखमा पुग्ने गरेका छन् । नेपालमा ४८ प्रतिशत पुरुष र १४ प्रतिशत महिला सुर्तीजन्य पदार्थको लतमा परेको देखिन्छ ।

स्वास्थ्य विज्ञहरूको भनाइअनुसार धूमपान नगर्ने बिरामीको तुलनामा धूमपान गर्ने बिरामीमा कोभिड–१९ जत्ति नै गम्भीर खालको रोग लाग्ने÷रोग हुने गर्छ । सो भनाइ हालसालै आएको हो । हुन त कुनै पनि मानिसमा आ–आफ्नै खालका लत अथवा भनौँ आनीबानीहरू रहेको हुन्छ । त्यस्तै जो कोही मानिसले पनि आफूलाई लागेको आनीबानीहरू हत्तपत्त छाडिहाल्न सक्दैनन् । वास्तवमा यो हामी मानिसहरूमा रहेको अत्यन्तै ठूलो मानवीय कमजोरीको रूपमा रहेको छ ।

स्वास्थ्य विज्ञहरूले गरेको अध्ययनको पछिल्लो रिपोर्ट आएपछि सुर्तीजन्य पदार्थहरू सेवन गर्ने चाहनामा कमी आएको भन्ने भनाइ पनि हालै आएको छ । खासगरी यस्तो चाहना विकसित देशका धूमपानको अम्मल लिने मानिसहरूमा आएको देखिन्छ । त्यस्तै गरेर विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को भनाइअनुसार पछिल्लोपटक स्वास्थ्य विज्ञहरूको धूमपान नगर्ने बिरामीको तुलनामा धूमपान गर्ने बिरामीमा कोभिड–१९ जत्ति गम्भीर खालको रोग लाग्ने÷रोग हुने गर्छ भन्ने रिपोर्ट आएपछि विकसित देशका धूमपान अम्मलीहरूमा तीव्र गतिमा धूमपान छाड्ने क्रम बढेको देखिन्छ, अल्पविकसित तथा अविकसित देशका धूमपान अम्मलीहरूको तुलनामा ।

हुन पनि कोरोना महामारी (कोभिड–१९) ले गर्दा त्यो बेला उत्पन्न गराएको सामाजिक त्रास र डरको माहौल कस्तो थियो ? हामीले अहिले आएर पुनः व्याख्या गरिरहन जरुरी रहेन । त्यसैले सचेत, शिक्षित एवं छिटो कुरो बुिझहाल्ने नागरिकहरू बसेको÷विकसित देशका धूमपान अम्मलीहरूले सुर्तीजन्य पदार्थको दीर्घकालीन असरहरूबारे गरेको अध्ययनको निचोडको सार छिट्टै बुझे । फलतः उनीहरूले आफ्नो सुर्तीजन्य पदार्थ सेवन गर्ने अम्मललाई छाड्दै गएका छन् । तर, अल्प विकसित तथा अविकसित देशहरूका धूमपान अम्मलीहरूको कुरो बेग्लै छ । त्यसमा सम्बन्धित देशको सरकारका साथै उद्योगपति (सुर्तीजन्य पदार्थ उत्पादक) हरू पनि कम दोषी रहेका छैनन् ।

सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवनका कारण मानिसहरूको स्वस्थ्यमा पर्ने असरलाई कम गर्ने सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को भनाइ निकै पेचिलो छ । किनकी हरेक देशले आफ्नो वार्षिक बजेट ल्याउँदा सो बजेटमा सुर्तीजन्य पदार्थहरू उत्पादन तथा बिक्री वितरणमा ७० देखि ७५ प्रतिशतले कर लगाउने गर्छन् । तर, यस सम्बन्धमा नेपाललगायत विश्वका अविकसित तथा अल्प विकसित देशका सरकारलेचाहिँ आफ्नो देशको वार्षिक बजेट ल्याउँदा, बजेटमा सुर्तीजन्य पदार्थहरू उत्पादन एवं बिक्री वितरणमा धेरै कम मात्रै कर लगाउने गरेको देखिन्छ ।

उदाहरणका लागि यस पटकको (आर्थिक वर्ष २०८२–०८३ को) वार्षिक बजेट प्रस्तुत गर्ने क्रममा सरकारका अर्थमन्त्री विष्णु पौडेलले सुर्तीजन्य पदार्थ उत्पादन एवं बिक्री वितरणमा धेरै कम मात्रै अर्थात् लगभग ३ प्रतिशतको हाराहारीमा मात्रै कर लगाएका छन् । त्यसो त सुर्तीजन्य पदार्थ, धूमपान सेवनले गर्ने असरका सम्बन्धमा गरिएको एक अध्ययनअनुसार धूमपान गर्ने मानिसले धूमपान गर्न छाडेमा धूमपान गर्न छाडेको २० मिनेटमै उसको मुटुको धड्कनको दर घट्छ । त्यस्तै धूमपान गर्न छाडेका मानिसको १२ घण्टाभित्र उसको रगतमा भएको कार्बनमोनोअक्साइडको स्तर घटेर सामान्य स्तरमा झर्छ ।

त्यस्तै गरेर धूमपान गर्न छाडेको २ देखि १२ सातामा उसको रक्तसञ्चार प्रक्रियामा सुधार हुन्छ । फोक्सोले गर्नुपर्ने नियमित कार्यहरू पनि प्रभावकारी ढंगले गर्न थाल्छ । त्यसरी नियमित धूमपान गर्ने मानिसहरूले धूमपान गर्न छाडेमा उनीहरूले धूमपान गर्न छाडेको १ देखि ९ महिनाको अवधिभित्र स्वाँ–स्वाँ हुने एवं लगातार रूपमा लाग्ने (लहरे खोकी जस्तो) खोकी घट्दै जान्छ । त्यस्तै गरेर नियमित धूमपान गर्ने मानिस धूमपान गर्न छाडेको ३ देखि १५ वर्षभित्रमा स्ट्रोकको जोखिम घटेर सामान्य मानिसहरूको सरह हुन्छ । त्यसको साथै नियमित धूमपान गर्ने मानिसले धूमपान गर्न छाडेको १० वर्षभित्रमा फोक्सोको क्यान्सर हुने मृत्युको दर धूमपान गर्ने तुलनामा घट्छ । अझ नियमित धूमपान गर्ने मानिसले धूमपान गर्न छाडेको १५ वर्षमा त उसको मुटुको रोगको जोखिम स्वाट्टै घटेर धूमपान नगर्नेहरूकै स्तरमै पुग्छ ।

धेरैजसो मानिसहरूले नपत्याउने अर्को एक तथ्य के भने, सुर्तीजन्य पदार्थले वातावरणलाई पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रदूषण गरिरहेको हुन्छ । हो, झट्ट सुन्दा सुर्तीले पनि कतै वातावरण प्रदूषण गर्छ भन्ने हामीलाई लाग्न सक्छ । सार्वजनिक सडक, सडकका पेटी, बाटाघाटा, चोक, गल्ली, सिँढी–पिँढी आदिमा चुरोटको बट्टा, बिँडीको खोल, खैनीको बट्टा, तम्बाकुको खोल, जर्दाको खोल, नसको बट्टा, ई–सिगरेटको खोल, चुनाको प्याकेट आदिको खोल–बट्टा–ठुटोहरू फाल्ने वा भनौँ मिल्काउने गर्छन् । जसले गर्दा सार्वजनिक सडक, सडकका पेटी, बाटाघाटा, चोक, गल्ली, सिँढी–पिँढी आदिको सौदर्य नै कुरूप बनेको हुन्छ । जुन कुरो हामीले सहर, बजार गाउँ, घर यत्रतत्र सर्वत्र देख्ने गरेकै छौँ । त्यसरी सुर्तीजन्य पदार्थ उत्पादकहरूले उत्पादन गरेको सुर्तीजन्य पदार्थको खोल–बट्टा–ठुटोहरू हटाउन सरकारले निक्कै ठुलो धनराशि खर्च गर्नु परिरहेको छ ।

सुर्तीजन्य पदार्थको उत्पादन, व्यवसाय, आकर्षक विज्ञापन र बिक्री वितरणमा रोक लगाइनुपर्छ । सुर्तीजन्य पदार्थ सेवन सुरु नगर्न र सेवन त्याग गर्न विद्यालयलगायत समुदायस्तरसम्म चेतना अभिवृद्धि अभियान चलाउनु पर्छ । सुर्तीजन्य पदार्थ सेवनकर्ताको अनुगमन गरी यसबाट रोकथामसम्बन्धी कडा नीति नियमको कार्यान्वयन गर्नुपर्छ । सुर्तीजन्य पदार्थको आयात, वातावरण करसमेत गरी करमा अत्यधिक (कम्तिमा ५० प्रतिशत) वृद्धि गरिनुपर्छ । स्वास्थ्य कर कोषको रकमबाट समुदायस्तरसम्म सुर्तीजन्य पदार्थको सेवनरोकथाम÷नियन्त्रणमा विभिन्न कार्यक्रम तथा अभिमुखीकरण÷तालिम प्रदान गरिनु पर्छ ।
विद्यालयदेखि उच्च शैक्षिक संस्थामा सुर्तीजन्य पदार्थविरुद्ध विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा पाठ्य सामग्रीमार्फत सुर्ती सेवनबाट उत्पन्न जोखिमबारे स्वास्थ्य सन्देश दिइनुपर्छ ।

प्रतिक्रिया