रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मलाई स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जनाएपछि प्रतिनिधिसभाको बैठक बिहीबारसम्मलाई स्थगित भएको छ । संसद सचिवालयले बिहीबार बिहान ११ बजेसम्मको लागि बैठक स्थगित भएको सूचना टाँस गरेको छ ।

उच्चस्तरीय छानबिन आयोग वा न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति माग गरेपछि सभामुख देवराज घिमिरेले आजको बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए ।

त्यसपछि पनि बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै विरोध जनाउँदै वेल घेराउ गर्न गएका थिए ।

त्यसपछि आधा घण्टाको लागि बैठक स्थगित भए पनि बस्न सकेको थिएन र ४ः३० बजेको लागि सरेको थियो । त्यसपछि पनि बैठक बस्दै नबसी बिहीबारसम्मलाई सरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा माग गर्दै लामो समयदेखि बैठक अवरोध गर्दै आइरहेका छन् ।

उनीहरूले जेठ १३ गतेदेखि यता लगातार यही विषयमा सदनमा विरोध गर्दै आइरहेका छन् । गत बिहीबारसम्म प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि सोही माग राख्दै आएको थियो तर शुक्रबार माओवादीले कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गर्दै सदन सञ्चालनमा अवरोध बन्द गरेको थियो ।

आज पनि सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएसँगै खासगरी रास्वपाका सांसद उठेर नाराबाजीसहित विरोध जनाएका थिए । उनीहरूले गृहमन्त्री जोडिएको भिजिट भिसा प्रकरण मानव बेचबिखनमा समेत जोडिएको दाबी गर्दै निलो स्कार्फ लगाएर सदनभित्रै विरोध जनाएका थिए ।

प्रतिक्रिया