काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । भोलि असार ४ गते बुधबार बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरोध गर्दै आएका छन् । बैठकमा यो विषयका साथै अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
रास्वपा र राप्रपाले आजको बैठक पनि अवरोध गरेपछि प्रतिनिधिसभाको आधा घण्टाको लागि स्थगित भएको थियो । आधा घण्टाको लागि स्थगित भएको संसद बैठक अहिलेसम्म पनि पुनः बसेको छैन ।
प्रतिक्रिया