प्रधानमन्त्री ओली हिजोआज सर्वत्र आक्रामक, अपमानजनक र राजनीतिक संस्कार गुमाएको भाषा बोलिरहेका छन् ।
नेपालको प्रमुख र सत्ताधारी पार्टी नेकपा (एमाले) मा नेताहरू बाहिरिएको घटनाले जुन तरंग पैदा भयो, अहिले नेताविशेष भित्रिने सन्दर्भले त्यस्तै तरंग उब्जिरहेको देखिन्छ । हुन त आज सबै पार्टीहरू आ–आफ्नै आन्तरिक कलहले पीडित छन् । कलह जनहित र राष्ट्रहितका लागि भएको होइन, कोतपर्वजस्तो लोभ र पापबाट निर्देशित केवल सत्तासंघर्षको पुनरावृत्ति हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन, त्यो पनि स्वतन्त्र राजनीतिज्ञको रूपमा होइन, एमालेकै नेतृत्व लिन अग्रसर भएर देशब्यापी भेटघाटलाई गति दिन थालेकोले प्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्गप्रसाद ओली र उनीबीच मतान्तरका सवाल–जबाफ सार्वजनिक रूपमा नै व्यक्त भएपछि गम्भीर मोडमा पुगेको छ ।
कुनैबेला एमाले नेता सुरेन्द्र पाण्डेले, ओलीलाई गुण्डा संस्कृतिलाई बढावा दिएको, अपराधीलाई संरक्षण दिएको, ठेक्कापट्टा कब्जा गरेको, भन्सार नाकाबाट तस्करी गराउने गरेको, अपहरणकारीलगायत अपराधीसँग मिलेर आर्थिक भागबन्डा गरेको, अदृश्य ढंगले स्रोत संकलन गरी पार्टी हितविरुद्ध दुरुपयोग गरेको, मदन भण्डारी फाउन्डेसन, मदन भण्डारी स्पोट्र्स र यस्तै नाममा समानान्तर गतिविधि, गुटगत भेलाहरू गरेको, अदृश्य स्थानबाट आर्थिक स्रोत प्राप्त गरी पार्टीबिरूद्ध गुटबन्दीका लागि प्रयोग गरेको आदि ११ वटा गम्भीर आरोप लगाएका थिए । तर, आज एमालेभित्रको विवाद अर्कै रूप र लक्षणमा बढ्दै आएको छ ।
पूर्वराष्ट्रपति, त्यो पनि कार्यकारी होइन संवैधानिक राष्ट्रपति भइसकेको व्यक्तिले ओहोदाबाट बाहिरिएपछि स्वतन्त्र वा निर्दलीय राजनीतिक गतिविधि पनि होइन एमालेभित्रै पसेर पार्टीगत सक्रियता लिने निर्णय कति नैतिकतापूर्ण र जायज हो, त्यो बेग्लै बहसको विषय हुनसक्छ । विद्या भण्डारी एमालेको राजनीतिमा सक्रिय हुने कारण के हो ? र विद्याको निर्णयले ओलीको टाउको दुःखाइ हुनुपर्ने के हो ? जब कि ओलीकै इच्छाले विद्या लगातार २ कार्यकाल राष्ट्रपति भएकी हुन् भने ओलीलाई आजको हैसियतमा पुर्याउन कुनै बेला विद्याकै भूमिका थियो । के अब यी २ बीच शक्ति–संघर्षको महाभारत हुन लागेको हो ? यस आलेखमा यिनै सवालउपर चर्चा हुनेछ । एमालेको राजनीतिमा विद्याको पुनरागमनले प्रथम दृष्टिमै ओलीको औचित्यमाथि सबाल र विवाद उठाएको भावमा बुझ्नु अत्युक्ति हुने छैन ।
पूर्वराष्ट्रपति भण्डारीको हालै चीनको भ्रमणमा उनलाई दिइएको सरकार प्रमुख सरहको सम्मानका साथै चिनियाँ नेताहरूले भण्डारीसँगका हरेक भेटमा कम्युनिस्ट शक्तिहरूलाई मिलाएर अघि बढ्न र नेपालको नेतृत्व लिन ‘शुभकामना’ को कूटनीतिक भाषामा ‘लाइन’ दिएका थिए । उनलाई चिनियाँ पक्षले भरोसायोग्य शीर्ष नेताका रूपमा लिएको थियो । हरेक भेट र बैठकहरूमा चिनियाँहरूले भण्डारीलाई नेपालको राजनीतिक स्थिरता र वामपन्थी पार्टीहरूमा सहकार्य र एकताका लागि प्रोत्साहित गरेको र भण्डारीले पनि वामपन्थी एकता र सहकार्यका लागि प्रयास गरिरहेको, अझै गरिरहने बताएको समाचार जगजाहेर नै छ ।
एमालेका अध्यक्ष नै बहालवाला प्रधानमन्त्री हुँदाहुँदै चिनियाँ अधिकारीहरूले पूर्वराष्ट्रपतिलाई विशेष जिम्मेवारीको लागि जोड दिनु गम्भीर र अर्थपूर्ण छ, जसले प्रधानमन्त्री ओलीमाथि भरोसा नभएको अर्थ र आसयमा उनलाई नराम्रोसँग झस्काइदिएको छ । प्रश्न उठ्छ, प्रधानमन्त्री ओलीले यसरी सबैतिरबाट विश्वास गुमाउने कारण के हो ?
प्रधानमन्त्री भएको ब्यक्तिले बोल्दा शब्दको साह्रै ख्याल राख्नुपर्छ । शब्द भनेको ब्रम्हास्त्र हो । प्रधानमन्त्रीको मुख भनेको जथाभावी बजाइने थोत्रे बाजा होइन, सरकार बोलेको हो । प्रधानमन्त्री ओली हिजोआज सर्वत्र आक्रामक, अपमानजनक र राजनीतिक संस्कार गुमाएको भाषा बोलिरहेका हुन्छन् । जबाफ दिनुपर्ने खुद्रामसिना सवालमा पनि उनी आफैँले ओठे जबाफ फर्काउनुबाहेक उनको लागि पार्टीबाट बोलिदिने कोही देखिएनन् । एकपटक धर्मपत्नी राधिका शाक्यले ‘केपी ओलीको विरोध गर्नेको भविष्य अन्धकार हुनेछ…’ भन्दै श्रापको बान्कीमा आलोचकहरूको भविष्य निर्धारण गरिदिएकी थिइन् ।
हालै प्रधानमन्त्री ओलीले कार्यकर्ताहरूलाई ‘म झोले हुँ’ भन्न लगाएर सहकर्मी र कार्यकर्ताको स्वाभिमान हरण गर्ने अहंकार प्रदर्शन गरे । जेठ १५ गते काठमाडौँ ३ घन्टा एमालेको कब्जामा हुनुपर्छ भनेर उर्दी गर्नु, जनताबाट विश्वास र भरोसा कमाउने अभिव्यक्ति होइन । चैत १५ गतेभन्दा २ दिन अगाडि उनले आफ्ना कार्यकर्ताहरूको सभामा आक्रामक ढंगले प्रस्तुत हुन उर्दी गरेका थिए । उनैले हो प्रधानमन्त्रीको ओहोदाबाट एमालेका कार्यकर्ताहरूलाई अरिंगालले झैँ विरोधीमाथि जाइलाग्ने हिंसात्मक निर्देशन दिएको ।
निरंकुशताको विरोध गर्ने गणतन्त्रवादी नेताहरूमध्येका ओली खुँखार तानाशाहले वरण गर्ने निरंकुश र गुणगान–प्रेमी नेताका रूपमा चिनिएका छन् । अरूको मानमर्दन गर्नु निरंकुश र स्वेच्छाचारी चरित्रको विशेषता हो । हार्वर्ड विश्वविद्यालयका २ प्रोफेसरले ‘प्रजातन्त्र कसरी मर्दछ’ भन्ने आफ्नो (अंग्रेजी) पुस्तकमा, ‘बन्दुकधारी तानाशाहभन्दा निर्वाचित तानाशाह प्रजातन्त्रको निम्ति खतरनाक हुन्छ…’ भनेजस्तै नेपालको सन्दर्भमा लोकतन्त्रको निम्ति ओलीभन्दा अरू को समस्या हुन सक्छन् !
अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन क्यानडाको लागि विमानस्थल पुगेका संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई एयरपोर्टबाटै बिनाकारण फर्काएर दिनभरि प्रधानमन्त्री निवासमा बन्दी बनाएको घटना पुरानो होइन । शिक्षामन्त्रीबाट विद्या भट्टराईलाई हटाउँदा पनि उनले एकल महिलाको अपमान हुने स्त्रीद्वेषी घृणाका टिप्पणी गर्दै ‘काम सिकाउँदै थिएँ, काम सिक्दै थिइन्, आफैँ बाठी भएर हिँडिन्…’ आदि प्रतिक्रिया दिएर प्रधानमन्त्रीको जिम्मेवारी मन्त्रीलाई काम सिकाउने, र मन्त्री पदमा बसेर काम सिक्ने अख्तियारको ठाडै दुरुपयोग गरेको स्वयं पुष्टि गरेका थिए ।
राजतन्त्र पक्षधर जनताको राष्ट्रिय स्वाभिमानलाई उनले ‘खोक्रो राष्ट्रवाद’ भन्दै दुत्कारेर निन्दा गरेको धेरै समय बितेको छैन । ‘खोक्रो राष्ट्रवाद’ र ‘भरिलो राष्ट्रवाद’ को कुतर्की भेद गरेर उनले देशलाई भावनात्मक रूपमा विभाजित गर्न खोजे । हरेक कुरामा भेद र विभाजन गर्नेले मुलुकलाई एकताबद्ध र स्थिरतामा राख्न सक्दैन । प्रधानमन्त्री ओली कतिसम्म हावादारी र हास्यास्पद भइसके भने हालै भएको भारत र पाकिस्तानबीचको ४ दिने लडार्इंलाई आफूले दुवै पक्षलाई फोनवार्ता गरी शान्त पार्ने काम गरेको भने । अहंकारपूर्ण अभिव्यक्ति र मेगलोमेनिया (महत्वोन्माद) ले उनलाई अन्धो बनाइसकेको छ । यस्तै कारणहरूले गर्दा सर्वसाधारण नेपालीको मनमा, स्वर्ग लिएर आउने सपना देखाइएको गणतन्त्र अभिशाप र नारकीय परिस्थिति लिएर आएको प्रभाव बसेको छ ।
कम्युनिस्ट गुटहरूबीच हरेक स्वार्थको मापदण्डले एकअर्कालाई हेर्ने र परिभाषित गर्ने काम चलिरहन्छ । प्रधानमन्त्री ओलीको लागि माधवकुमार नेपाल र झलनाथ खनालभन्दा शेरबहादुर देउवा निकटतम र आत्मीय छन् । तर संसद्का २ ठूला पार्टीको करिब दुईतिहाइ संख्याबल भएर पनि जरुरी र अनिवार्य काम पनि गर्न नसक्ने, गुड्डी मात्र हाँक्ने प्रतिनिधि नेताको रूपमा प्रधानमन्त्री ओलीले स्वयंलाई प्रमाणित गरिसकेका छन् ।
सबै परिवर्तन वरदान हुँदैनन्, अभिशापसिद्ध पनि हुन्छन् । गणतन्त्रको नाममा राज्यका यावत धरोहर र विरासतलाई भताभुंग बनाएर नेपालको पहिचानलाई विसर्जन गर्र्ने असाधारण षड्यन्त्र देशभित्रैबाट चलिरहेको छ । समाधानको स्रोत हुने प्रचारवाजी गरिएको संघीय संसद् महिना दिनदेखि ठप्प भएर आफैँ अनिर्णयको बन्दी र समस्याको मुहान बनेको छ । बजेटमाथि विषद छलफल र जनताप्रति जिम्मेवार भएको बजेट पारित गर्नुपर्ने बेलामा संसद्को बैठक गरिन्छ, अवरुद्ध गरेर चल्न दिइन्न । यस्तो गम्भीर गतिअवरोधको अवस्थामा संसद् सुचारु गर्ने निर्णायक भूमिका सरकारको कर्तब्य हो । तर प्रधानमन्त्री ओली नै हठ र अहंकार लिएर गतिरोधको कारक बनेको सबैले अनुभूत गरेकै छन् । विश्वकै गरिवतम् यो देशले एक महिनाको बीचमा ३०औँ करोडको अपव्यय बेहोर्नु परिरहेको छ । के लोकतन्त्र भनेको राष्ट्रियता र जिम्मेवारीबिनाको दलतन्त्र मात्र हो ? राजनीतिक गतिविधिले यस्तै चरित्र चित्रण गरिरहेको छ ।
जनताले खोजेको र ध्रुवसत्य कुरा बोल्न ठूलो भिड पनि चाहिन्न, निर्विवाद चरित्र चाहिन्छ । झुटको खेती र आश्वासनका ब्यापारीलाई आमजनताले क्रमशः चिन्दै लगेका छन् । त्यसकारण अब ओली मार्का भाषण र नारालाई जनताले मात्र होइन विदेशीले पनि पत्याउन छोडेका छन् । सत्ताधारी नेकपा (एमाले) भित्र विकसित भइरहेको नेतृत्वको नयाँ विवादले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने र ‘मिसन ८४’ मा बसेको ओलीको अतिआकांक्षा के हुने हो, अहिले नै भन्न नसकिएला । तर त्यसले फेरबदलको कोसेढुंगा खडा गर्ने सम्भावनालाई नकार्न सकिन्न ।
प्रतिक्रिया