पाँचखालकाे तरकारी सुरक्षित र खानयोग्य रहेको प्रमाणित

काभ्रे । तरकारी र खाद्यान्नको भण्डारका रुपमा परिचित पाँचखाल नगरपालिकामा उत्पादन भएका तरकारी ‘सुरक्षित र खानयोग्य’ रहेको परीक्षणले देखाएको छ । गत जेठ अन्तिम साता विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीका प्राविधिकहरुद्वारा सङ्कलित विभिन्न १५ जातका स्थानीय तरकारी परीक्षण गर्दा विषादीको अवशेष निकै कम देखिएको हो ।

प्राविधिक टोलीले पाँचखालका कृषकको खेतबारीमै पुगेर उत्पादित लौका, तुनेबोडी, काँक्रो, गालेभेँडा, बुलेट खुर्सानी, बन्दा, हरियो फर्सी, भेँडेखुर्सानी, रायो साग, हरियो धनियाँ, भिण्डी, तीतेकरेला, भण्टा, घिरौँला सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरेकामा ती तरकारीमा सरदर शून्य दशमलव २१ देखि १२ दशमलव २४ प्रतिशतसम्म विषादीको अवशेष देखिएको स्पष्ट गरेको छ ।

विषादी अवशेष द्रूत विश्लेषण कार्यविधि, २०७५ मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा चार–पाँच दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ देखिए उक्त कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख छ ।

विगत तीन वर्षदेखि नियमित रुपमा गरिएको परीक्षणबाट पाँचखालमा उत्पादित तरकारी सुरक्षित र खानयोग्य रहेको नगर कृषि शाखाले जनाएको छ । शाखाका अनुसार पछिल्ला केही वर्षदेखि विषादी प्रयोग कम तथा जैविक विषादीको प्रयोगदर बढ्दै जानुले पाँचखालको तरकारीमा विषादीको रुकावट प्रतिशत घट्दै गएको हो । पाँचखालमा उत्पादित तरकारीमा सरदर तीनदेखि नौ प्रतिशतसम्म झर्ने गरेको र १० देखि २० ‘इमिसन रेट’सम्मका तरकारी उत्पादन भइरहेको परीक्षण प्रतिवेदनले देखाएको छ ।

नगरपालिकाले ‘पाँचखाल नगर–कृषि सहर’ को नारासँगै खाद्यान्न एवं तरकारी बालीमा विषादी न्यूनीकरण गर्न ‘लभग्रिन नेपाल’ नामक संस्थासँग सहकार्य गर्दै आएको थियो । “पाँचखालमा विषादीरहित ताजा तरकारी उत्पादन र स्वच्छ पिउने पानीका लागि निकै ठूलो प्रयासहरु भइरहेका छन्, हामीले यी दुई विषयलाई प्राथमिकता दिँदै आएकाले सार्थकता पाउँदैछ”, नगरप्रमुख महेश खरेलले भने ।

नगरले माटो परीक्षण, माटोको क्षमता सुधारका लागि चुन वितरण, कृषकलाई जैविक विषादीसम्बन्धी नियमित तालिम, तरकारी तथा अन्य बालीमा जैविक विषादीको प्रयोगमा जोड दिने तथा विद्यालयस्तरदेखि नै विषादीविरुद्धको चेतनामूलक कार्यक्रमले पाँचखाल क्षेत्रमा रासायनिक मल तथा विषादीको प्रयोग न्यून बन्दै गएको जनाएको हो । प्रमख खरेलले भने, ‘प्राङ्गारिक उत्पादनमा जोड दिई सोही अनुसार कृषकलाई जागरुक बनाएपछि परिणाम सकारात्मक देखिएको छ, हामीले निरन्तर गरेका परीक्षणमा रासायनिक मल र विषादीको प्रयोग साह्रै न्यून रहेको देखिएको छ ।’

उनका अनुसार लभग्रिन नेपालले पाँचखालको ‘अग्र्यानिक तरकारी’ उत्पादनमा निकै ठूलो सहयोग गरेको छ । स्थानीयस्तरमा उत्पादित तरकारीको पाँचखालमै नियमित परीक्षण, ग्रेडिङ, लेबलिङ र प्याकेजिङ गरी बजारमा पुर्याउन नगरपालिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले बताए ।

प्रमुख खरेलका अनुसार नगर कार्यालय र लभग्रिन नेपालद्वारा संयुक्त रुपमा सञ्चालन गरिएको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनाले करिब चार वर्षदेखि सञ्चालन गरेको ‘विषादीमुक्त पाँचखाल’ बनाउने अभियानअन्तर्गत हाल उत्पादित तरकारीलगायतका बाली अग्र्यानिक बनेका छन् ।

खरेलले भने, ‘लभग्रिन नेपालको थप परियोजना सञ्चालनले ‘पाँचखाल नगरः कृषि सहर’को अभियानलाई सार्थकता दिनेमा विश्वास्त हुनुपर्छ ।’ लभग्रिन नेपालले पाँचखालका विभिन्न स्थानमा विगत चार वर्षदेखि १८ महिने एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि (आइपिएम) कृषक पाठशाला सञ्चालन गर्दै आएको छ ।

हालसम्म नगरका एक हजार २०० अगुवा कृषकले विभिन्न चरणमा उक्त कृषक पाठशालामा अध्ययन गरिसकेका छन् । तरकारी तथा अन्य बालीमा रासायनिक विषादी न्यूनीकरण गर्दै पाँचखाल नगरको सबै क्षेत्रमा जैविक विषादी प्रयोगलाई प्राथमिकता दिई समय र मौसमको तालिका मिलाएर २२ थरीका आइपिएम प्रविधिसम्बन्धी विषयमा कृषक पाठशालामा पढाइने गरिएको छ ।

यस्तै उक्त संस्थाले विद्यालय तहदेखि नै विषादीबारे जानकारी, प्रयोग तथा असरबारे जानकारी गराउँदा निकट भविष्यमा विषादी न्यूनीकरणमा ठूलो मद्दत पुग्ने अपेक्षासहित पाँचखाल नगरका १३ सामुदायिक तथा सात निजी माध्यमिक विद्यालयका विद्यार्थीलाई सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको थियो । विद्यार्थीलाई कक्षामै अनधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य, कृषि पर्यायवरण प्रणाली तथा वातावरणमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट सचेतना गराउँदै आएको सो संस्थाका निर्देशक नारायण ज्ञवालीले जानकारी दिए । रासस

प्रतिक्रिया