५४ प्रतिशत बढ्यो उपायको काराेबार

काठमाडौँ । नेपालको लजिस्टिक्स क्षेत्रमा तीव्र विस्तार गरिरहेको उपायले पछिल्लो एक वर्षमा उल्लेखनीय व्यावसायिक वृद्धि हासिल गरेको जनाएको छ । कम्पनीका अनुसार एक वर्षको अवधिमा कारोबार रकम ५४ प्रतिशतले बढेको छ भने कर्मचारी संख्या चार गुणाभन्दा बढी वृद्धि हुँदै १ हजार ५०० भन्दा बढी पुगेको छ । ई-कमर्स, डिजिटल व्यापार र छिटो तथा भरपर्दो डेलिभरी सेवाको माग बढेसँगै नेपालको लजिस्टिक्स उद्योग विस्तार हुँदै गएको छ ।

यही बजार सम्भावनालाई लक्षित गर्दै प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदान गर्दै आएको उपायले देशव्यापी नेटवर्क विस्तार, पूर्वाधार निर्माण र जनशक्ति विकासमा लगानी बढाएको जनाएको छ । सन् २०२० मा स्थापना भएको उपायले प्रविधिमा आधारित लजिस्टिक्स सेवा सञ्चालन गर्दै व्यवसाय, अनलाइन विक्रेता, ई–कमर्स कम्पनी, उद्योग तथा उपभोक्तालाई जोड्ने उद्देश्यका साथ सेवा सुरु गरेको थियो । पछिल्लो समय कम्पनीले देशभर वितरण सञ्जाल विस्तार गर्दै नेपालको प्रमुख लजिस्टिक्स सेवा प्रदायकमध्ये एकका रूपमा आफूलाई स्थापित गर्ने प्रयास गरिरहेको छ ।

एक वर्षमा कर्मचारी संख्या चार गुणाभन्दा बढी

उपायका अनुसार गत आर्थिक वर्षसम्म करिब ३८० कर्मचारी रहेको कम्पनीमा हाल कर्मचारी संख्या १ हजार ५०० भन्दा बढी पुगेको छ । कम्पनीले प्रत्यक्ष रोजगारीसँगै डेलिभरी पार्टनर, स्थानीय सेवा प्रदायक, यातायात साझेदार तथा अन्य सहायक सेवामार्फत थप ५ हजारभन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना भएको दाबी गरेको छ।

उपायका एभीपी–ह्युमन रिसोर्स राजु केसीले पछिल्लो एक वर्षमा कर्मचारी संख्या मात्रै नभई दक्ष जनशक्ति निर्माणमा पनि कम्पनीले ध्यान दिएको बताए ।

उनका अनुसार नियमित तालिम, सुरक्षित कार्य वातावरण, करियर विकास र कर्मचारी कल्याणलाई प्राथमिकतामा राखेर दीर्घकालीन रोजगारीको वातावरण तयार गर्ने कम्पनीको लक्ष्य छ।

४० शाखाबाट ४०० भन्दा बढी सेवा केन्द्र

कम्पनीले देशव्यापी पहुँच विस्तारलाई तीव्र बनाउँदै एक वर्षको अवधिमा शाखा तथा सेवा केन्द्रको संख्या उल्लेख्य रूपमा बढाएको जनाएको छ। उपायका अनुसार यसअघि ४० वटा शाखाबाट सेवा दिइरहेको कम्पनीले हाल ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।

हाल कम्पनीको सेवा देशका सबै जिल्लामा पुगेको र ५ हजारभन्दा बढी वितरण स्थानमा सेवा उपलब्ध रहेको जनाएको छ।

दैनिक डेलिभरी क्षमता १५ हजार पार्सल

लजिस्टिक्स सेवाको विस्तारसँगै उपायले दैनिक डेलिभरी क्षमतामा पनि ठूलो वृद्धि गरेको जनाएको छ। केही वर्षअघि दैनिक करिब १ हजार पार्सल व्यवस्थापन गर्दै आएको कम्पनीले हाल औसत १५ हजार पार्सल प्रतिदिन वितरण गरिरहेको जनाएको छ। कम्पनीका अनुसार कारोबार वृद्धि, वितरण सञ्जाल विस्तार, नयाँ व्यावसायिक ग्राहकको वृद्धि, फुलफिलमेन्ट सेवाको विस्तार तथा ई–कमर्स बजारको विस्तारका कारण डेलिभरी भोल्युम बढेको हो।

कारोबार रकममा ५४ प्रतिशत वृद्धि

उपायका अनुसार चालु आर्थिक वर्षमा कम्पनीको कारोबार रकम करिब ५४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले ढुवानी सेवा विस्तार, देशव्यापी शाखा सञ्जाल, नयाँ व्यवसायिक ग्राहक थपिनु, फुलफिलमेन्ट सेवाको विस्तार र डिजिटल व्यापारको वृद्धिलाई कारोबार बढ्नुको मुख्य कारण मानेको छ ।

उपायले ई–कमर्स कम्पनी, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग, जलविद्युत् आयोजना तथा खुद्रा ब्रान्डलाई अन्तदेखि अन्तसम्मको (End-to-End) लजिस्टिक्स समाधान उपलब्ध गराउँदै आएको जनाएको छ ।

साँगामा बन्दै नेपालकै पहिलो 3PL वेयरहाउस

उपाय वेयरहाउजिङले काभ्रेको साँगामा आफ्नै जग्गामा अत्याधुनिक 3PL (थर्ड पार्टी लजिस्टिक्स) वेयरहाउस निर्माण गरिरहेको जनाएको छ । कम्पनीका अनुसार १८ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको उक्त वेयरहाउस करिब ४५ हजार वर्गफिट क्षेत्रफलको हुनेछ ।

निर्माण सम्पन्न भएपछि यसको कुल भण्डारण क्षमता करिब १ लाख ४० हजार वर्गफिटभन्दा बढी हुनेछ । कम्पनीले आगामी ६ महिनाभित्र वेयरहाउस निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ ।

उक्त वेयरहाउस सञ्चालनमा आएपछि स्टोरेज, इन्भेन्ट्री व्यवस्थापन, पिक एन्ड प्याक, फुलफिलमेन्ट तथा देशव्यापी वितरण सेवा एउटै स्थानबाट उपलब्ध हुने कम्पनीको भनाइ छ ।

हाल उपायले काठमाडौंको पेप्सीकोलास्थित करिब १८ हजार वर्गफिटको 3PL वेयरहाउसबाट सेवा सञ्चालन गरिरहेको जनाएको छ ।

लजिस्टिक्सलाई आपूर्ति शृंखलासँग जोड्ने लक्ष्य

उपायको फुलफिलमेन्ट डिभिजनका प्रेसिडेन्ट संगम पौडेलले कम्पनीको लक्ष्य केवल पार्सल डेलिभरीमा सीमित नरहेको बताए।

उनका अनुसार नेपालको व्यवसाय सञ्चालन प्रणाली परिवर्तन भइरहेकाले लजिस्टिक्स क्षेत्र पनि आधुनिक र प्रविधिमैत्री बन्न आवश्यक छ । उनका अनुसार कम्पनीले सम्पूर्ण आपूर्ति शृंखलालाई प्रभावकारी बनाउने उद्देश्यसहित पूर्वाधार, प्रविधि र जनशक्तिमा लगानी गरिरहेको छ ।

डिजिटल प्रविधिमा आधारित सेवा विस्तार

उपायले डिजिटल व्यापारलाई सहज बनाउन विभिन्न प्रविधिमा आधारित सेवा सञ्चालन गर्दै आएको जनाएको छ । कम्पनीले सेलर पोर्टल, रियल टाइम ट्र्याकिङ, प्रुफ अफ डेलिभरी, फुलफिलमेन्ट सेवा, एयर कार्गो, इन्टिग्रेसन कार्गो सेवा, देशव्यापी वितरण नेटवर्क तथा इन्टरप्राइज लजिस्टिक्स समाधान उपलब्ध गराउँदै आएको जनाएको छ । यी सेवामार्फत व्यवसायीले आफ्नो सामानको अवस्थाबारे वास्तविक समयमा जानकारी लिन सक्ने व्यवस्था रहेको कम्पनीको भनाइ छ ।

आगामी योजनामा एआई र थप पूर्वाधार

उपायले आगामी वर्षमा देशव्यापी नेटवर्क थप विस्तार गर्ने, नयाँ 3PL वेयरहाउस निर्माण गर्ने, फुलफिलमेन्ट सेवा विस्तार गर्ने र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित प्रविधिमा लगानी बढाउने योजना सार्वजनिक गरेको छ ।

संगम पौडेलका अनुसार कम्पनीको उद्देश्य आफ्नै वृद्धि मात्र नभई नेपालको सम्पूर्ण लजिस्टिक्स इकोसिस्टमलाई नयाँ स्तरमा पुर्‍याउनु हो । लजिस्टिक्स बजार तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा उपायले गरेको पूर्वाधार र प्रविधिमा आधारित लगानीले आगामी दिनमा कम्पनीको प्रतिस्पर्धात्मक क्षमता अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया