गोधूलि कला साहित्य प्रतिष्ठानले मनायाे २०औँ वार्षिकोत्सव, विभिन्न स्रष्टाहरू सम्मानित

काठमाडौँ । गोधूलि कला साहित्य प्रतिष्ठानले आफ्नो २०औँ वार्षिकोत्सव तथा २१३औँ भानुजयन्तीका अवसरमा भाषा, साहित्य, कला, संस्कृति, शिक्षा र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने १५ जना व्यक्तित्वलाई अभिनन्दन तथा पुरस्कार प्रदान गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा शनिबार आयोजित विशेष कार्यक्रममा योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. रमेशकुमार ढुंगेललाई ‘गोधूली वाङ्मय शिखर अभिनन्दन’ अर्पण गरिएकाे हाे ।

कार्यक्रममा वरिष्ठ कवि राजेन्द्र शलभ र वरिष्ठ साहित्यकार डा. छायादत्त न्यौपाने ‘बगर’लाई जनही रु. ११,१११ नगदसहित ‘गोधूलि–भानु काव्यश्री सम्मान’ प्रदान गरियो । त्यस्तै सांस्कृतिक अध्येता डा. नरेश शाक्यलाई ‘गोधूलि सत्यमोहन संस्कृति सम्मान’, मूर्तिकार ताराप्रसाद ओझालाई ‘गोधूलि अरनिको ललितकला सम्मान’, लोकसाहित्य अनुसन्धानकर्ता डा. प्रतिभा पुनलाई ‘गोधूलि–भानु लोक साहित्य सम्मान’, कलाकार तथा सामाजिक अभियन्ता फूल कुमार बम्जनलाई ‘गोधूलि भानु सिर्जना सम्मान’, र साहित्यकार गंगाप्रसाद भेटवाललाई ‘गोधूलि–भानु वाङ्मय सम्मान’ अर्पण गरिएको छ ।

यसैगरी कलाकार तथा शिक्षासेवी टिकाराम शर्मालाई ‘गोधूलि शिक्षा–कला जागरण सम्मान’, साहित्यसेवी प्रकाश भण्डारी (बेलायत)लाई ‘गोधूलि कला–साहित्य सेवा सम्मान’, प्रेरक उद्यमी तथा साहित्यसेवी सबिता ढुंगाना र साहित्यकार डा. सीता विष्ट कार्कीलाई ‘गोधूलि साहित्य सिर्जना सम्मान’ प्रदान गरियो ।

साहित्यकार आश्मा अर्याललाई ९,९९९ रूपैयाँ नगद राशिसहित ‘गोधूलि युवा सिर्जनशील सम्मान’, साहित्यकार एन्जेलिना न्यौपानेलाई रु. ५,५५५ सहित ‘गोधूलि नवप्रतिभा सम्मान’ र नेपाल बाल संगठन (सिफल)का उमेश राईलाई चित्रकलातर्फ रु. २,५५५ सहित ‘गोधूलि–चिसकुमारी बाल–प्रतिभा पुरस्कार’ प्रदान गरियो । पुरस्कृतहरूलाई प्रतिष्ठानका कोषाध्यक्ष एलेन घिमिरेले नगद राशि हस्तान्तरण गरेका थिए ।

सोही समारोहमा साहित्यकार भुवन गिरीको पहिलो उपन्यास ‘संसारी’को विमोचनसमेत गरियो । कार्यक्रममा लेखक गिरीले आफ्नो सिर्जनात्मक यात्राबारे जानकारी गराएका थिए भने प्रा.डा. षडानन्द पौडेलले ‘संसारी’ले सामाजिक यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेको टिप्पणी गरे । कृतिका सम्पादक बालकृष्ण दाहाल (बिकेडी)ले उपन्यासको साहित्यिक महत्त्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. रमेशकुमार ढुंगेलले आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गर्दै साहित्य, कला र संस्कृतिको संरक्षणमा स्रष्टाहरूको योगदान अमूल्य रहने बताए। सो अवसरमा वरिष्ठ कवि गोपीकृष्ण प्रसाईंले भानु विशेष कविता वाचन गरेका थिए । प्रतिष्ठानका विशिष्ट सदस्य पशुपति गुरुङको सभापतित्व तथा अध्यक्ष प्रकाश समीरको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया