
काठमाडौँ । साहित्यकार, रेडियोकर्मी तथा सामाजिक अभियन्ता दाहाल यज्ञनिधिको ७३औँ जन्मजयन्तीका अवसरमा नागार्जुन वाङ्यमय प्रतिष्ठानले ‘नागार्जुन वाङ्यमय जदौ सम्मान र पुरस्कार’ वितरणसहित रचनावाचन र व्यक्तित्व चर्चा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा सुधा त्रिपाठी, साहित्यकारहरू रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, डा.विनोद मञ्जन, डा.हरिप्रसाद सिलवाल, डा.रमेश शुभेच्छु, पवित्रा सुनार ‘सानु’ लाई ‘नागार्जुन वाङ्मय जदौ सम्मान–२०८३’ प्रदान गरियो । यसैगरी ११ हजार राशिको ‘नागार्जुन जदौ पुरस्कार–२०८३’ राससका पत्रकार एवं प्रतिष्ठानका पूर्वअध्यक्ष प्रकाश सिलवाललाई प्रदान गरियो । वरिष्ठ साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्राडा त्रिपाठीले सो पुरस्कार प्रदान गरेका हुन् ।
सो पुरस्कार चयनका लागि साहित्यका डा.विनोद मञ्जनको संयोजकत्वमा प्रतिष्ठानका पूर्वअध्यक्ष रोजन राई र पूर्वउपाध्यक्ष गौरी दाहाल सम्मिलित चयन समिति गठन गरिएको थियो । त्यस अवसरमा दाहाल यज्ञनिधिको निबन्धकारिताबारे डा.हरिप्रसाद सिलवाल, पुरस्कार चयनबारे डा.मञ्जन, दाहालको समग्र व्यक्तित्वबारे डा.रमेश शुभेच्छु र सीमान्तकृत वर्गको उत्थानमा दाहालको योगदानबारे पवित्रा सुनार ‘सानु’ ले प्रकाश पार्दै सामाजिक रूपान्तरणका लागि दाहालकले उत्प्रेरकको भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा कवि ‘शुक्राचार्य’ ले दाहाल यज्ञनिधिका साथै आफ्ना आधा दर्जन कविता प्रस्तुत गरिएको थियो । यस्तै कवि पूर्ण विरामका कविता वाचन प्रतियोगितामा समाविष्टमध्ये प्रमोद भण्डारीलाई पुरस्कृत गरियो ।
कार्यक्रममा लक्ष्मण अधिकारी, रामदेव पाण्डे, माधव अटल, गंगा खतिवडा, अनुराधा थापा, दिनेश खरेल, कृष्णप्रसाद जस्ताघरे, अमरदीप सुनुवारलगायतले रचना वाचन गरेका थिए । स्रष्टा यज्ञनिधिकी पत्नी सुधा दाहालले यज्ञनिधिको व्यक्तित्व र योगदानलाई चिरस्थायी बनाउन प्रकाशन र प्रसारणका साथै सम्मान–पुरस्कार वितरणको परम्परालाई निरन्तरता दिइने बताइन् । प्रतिष्ठानका अध्यक्ष दील पौडेलले लोकतान्त्रिक साहित्यिक आन्दोलन र संस्कृति रूपान्तरणमा दाहालको योगदान अविस्मरणीय भएको बताए । खोटाङको धारापानीमा २०१० साउन ८ गते जन्मिएका दाहालको २०७९ साउन २५ मा मृत्यु भएको हो । सो प्रतिष्ठानका पूर्वअध्यक्ष र लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्चका सूत्रधारले शिक्षा, साहित्य, संस्कृति, सञ्चार र समाजसेवाका क्षेत्रमा दिएको योगदान अवीस्मरणीय छ ।
प्रतिक्रिया