
काठमाडौँ । फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर अन्तर्राष्ट्रिय फुटबल समर्थकमाझ चर्चा बटुलेका केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हा चिलीको प्रतिष्ठित क्लब कोलो कोलोमा अनुबन्धित भएका छन् । ४० वर्षीय भेट्रान गोलरक्षक भोजिन्हाको आगमनबारे क्लबका अध्यक्ष आनिबाल मोसाले आधिकारिक जानकारी दिएका हुन् । डेपोर्टेस लिमाचेविरुद्धको लिग खेलअघि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोसाले भोजिन्हा अब कोलो कोलोका खेलाडी बनिसकेको र उनी केही दिनभित्र चिली आइपुग्ने बताए । उनका अनुसार भोजिन्हाले नियमित स्वास्थ्य परीक्षण (मेडिकल) पूरा गरेपछि घरेलु मैदान एस्टाडियो मोनुमेन्टलमा समर्थकमाझ औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।
विश्वकप सुरु हुनुअघि पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको यात्रा टुंग्याएका भोजिन्हाका लागि यो विश्वकप करियरकै सबैभन्दा ठुलो अवसर सावित भएको थियो । पहिलोपटक विश्वकपमा सहभागी भएको केप भर्डेका लागि उनले उत्कृष्ट गोलरक्षण गर्दै टोलीलाई अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्न महत्वपूर्ण योगदान दिएका थिए । भोजिन्हाले साविक विश्वविजेता स्पेनविरुद्ध गोलरहित बराबरी दिलाउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । त्यसपछि नकआउट चरणको अन्तिम ३२ को खेलमा उपविजेता अर्जेन्टिनालाई अतिरिक्त समयसम्म संघर्ष गर्न बाध्य पार्दै आफ्नो अनुभव र क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए । उनका लगातार प्रभावशाली प्रदर्शनका कारण विश्व फुटबल समर्थकहरूको व्यापक प्रशंसा प्राप्त भएको थियो ।
विश्वकपभर देखाएको उत्कृष्ट प्रदर्शनको सम्मानस्वरूप भोजिन्हा फिफाले समर्थकहरूको मतका आधारमा चयन गरेको ‘ड्रिम टिम’ मा समेत समावेश भएका थिए । कोलो कोलोका अध्यक्ष मोसाले विश्वकपमा देखाएको यही स्तरको प्रदर्शनका कारण भोजिन्हा क्लबमा आबद्ध हुन पूर्ण रूपमा योग्य रहेको प्रतिक्रिया दिएका छन् ।
क्लबका अनुसार सम्झौतासम्बन्धी केही प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गर्न बाँकी रहे पनि भोजिन्हाको आगमन निश्चित भइसकेको छ । कोलो कोलोले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पनि उनको अनुबन्धको संकेत दिइसकेको छ । अनुभवी गोलरक्षक भोजिन्हाको आगमनले नयाँ सिजनमा टोलीको रक्षापंक्ति थप मजबुत बन्ने विश्वास क्लबले गरेको छ ।
प्रतिक्रिया