बोदे बर्साईनमा क्यान्सर रोग परीक्षण शिविर

सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिकामा बृहत क्यान्सर रोग परिक्षण शिविर सम्पन्न भएको छ । बोदे बर्साईन नगरपालिकाले निःशुल्क दुई दिने स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

सो शिविरमा भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. बिकास आनन्द, ठाकुर कोइराला, आनन्द बहादुर ढकाल लगायत ३५ जना टोलीको सहभागिता रहेको थियो । शिविरमा १००० जना पुरुष र महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको बोदे बर्साईन नगरपालिकाका स्वास्थ्य संयोजक राज नारायण ठाकुरले जानकारी दिए ।

उनका अनुसार भि. आई. ए. परीक्षण गरिएकामध्ये केही महिलाहरुको रिङ प्रेसरी राखिएको छ । शिविरमा पुरुषहरुको सामान्य क्यान्सर परीक्षण गरेको संयोजक ठाकुरले बताए । ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य अनिरुद्ध कुमार सिंहले समयमा क्यान्सरको पहिचान र उपचार भएमा यो रोग निको हुने बताए ।

उनले सबैलाई नलजाइकन क्यान्सर रोगको जाँच गर्न आग्रह गरे । कला संस्कृति संरक्षर र संवद्धन गर्नुका साथै शिक्षा र स्वास्थ्यमा जनताले निःशुल्कमा सेवा प्राप्त गरुन् भन्ने अभिप्रायले नगरपालिकाका जनप्रतिनिधि कार्यरत रहेको उनले जानकारी दिए ।

कार्यक्रमका सभापति तया बोदे बर्साईन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंहले शिविर सञ्चालन गर्न मद्दत पुर्याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा थप सहकार्य गरी कार्यक्रम ल्याउन अनुरोध गरे । नगरपालिकाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत जनचेतना अभिवृद्धि गर्ने तथा सम्भावित रोग समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले दुई दिने कार्यक्रम गरिएको नगरप्रमुख सिंहले जानकारी दिए ।

उनका अनुसार सो कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा बोदे बर्साइन धर्मशालाको प्रांगणमा गरिएको हो । वैशाख २० र २१ गते दुई दिन चलेको उक्त अन्तरक्रिया तथा स्तन र पाठेघर परीक्षण शिविरमा करिब एक हजार जना स्थानीय पुरुष र महिला सहभागी भएका थिए । कार्यक्रमको सञ्चालन बोदे बर्साईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले गरेका थिए ।

प्रतिक्रिया