पाँचौँ राष्ट्रिय महमेला आयोजना हुँदै

काठमाडौँ । ‘पाँचौँ राष्ट्रिय महमेला २०८१’ आयोजना हुने भएको छ । मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई व्यापक रूपमा सर्वसाधरणसम्म सूचना प्रवाह गर्न बुधबार (आज)देखि राजधानीको भृकुटीमण्डपमा महमेला आयोजना गर्न लागिएको हो । स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान, मह बिक्रेता र उपभोक्ताहरूबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा नेपाल मौरीपालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यावसायिक किट विकास निर्देशनालयको सहआयोजना रहेको मेला ५ दिनसम्म चल्नेछ ।

नेपाल मौरीपालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले मह उत्पादक किसानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसँग जोड्न तथा विभिन्न स्रोतका महको बारेमा उपभोक्तालाई परिचित गराउने महोत्सवको उद्देश्य रहेको बताए । व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले नेपाली मह विश्वमै उत्कृष्ट हुँदाहुँदै पनि बजार नपाएको अहिलेको अवस्थालाई चिर्न महोत्सवले प्रभावकारी भूमिका खेल्ने अपेक्षा रहेको बताए । परागसेचन, निर्यातको सम्भावना, खाद्य सुरक्षामा टेवा पु¥याउने मह र यसको उपयोगितालाई सबैसामु चिनाउन महोत्सव आयोजना गरिएको उनको भनाइ थियो ।

नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष जानुकादेवी थापाले नेपालमा उत्पादित महको उत्पादन, खपत र निकासीको प्रशस्त सम्भावना भए पनि सरकारले सुविधा र सहुलियतबारेमा सरकारले पर्याप्त जानकारी दिन नसक्दा यो क्षेत्र नै अल्मलिएको बताइन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले महको उत्पादनदेखि व्यावसायिक समस्या समाधानका लागि महासंघ सहकार्य गर्न तयार रहेको बताए । ‘नेपाल १७आँै अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१’ कै ब्यानरभित्र वैशाख २६ गतेदेखि ३० गतेसम्म विविध अर्गानिक महका छुट्टै प्याभिलियनमार्फत महमेला आयोजना गर्न लागिएको हो । मेलामा उत्पादक बिक्रेता र उपभोक्ताहरूलाई एउटै छानामुनि भेट्न सकिनेछ । यसले गर्दा उत्पादकहरूले विक्रेता र उपभोक्तासँग एकैपटक अन्तरक्रिया गर्न सक्नुका साथै उपभोक्ताहरूले उत्पादक किसानलाई सहजै भेट्न सक्नेछन् । गुणस्तरीय नेपाली महको बारेमा जानकारी लिन र दिनका लागि पनि मेला महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ ।

मेलामार्फत उपभोक्ताले महको किसिमहरू बारे पनि थाहा पाउनेछन् भने बिक्रेताहरूले उपभोक्ताहरूको चाहना र उत्पादक किसानको महका विशेषता पनि थाहा पाउन सक्नेछन् । मेलामा मह काढ्ने तरिका, महसम्बन्धी सूचनामूलक जानकारी, मौरीपालनका नवीनतम प्रविधिहरूको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाहरूबीच अन्तरक्रिया तथा गोष्ठी आयोजना हुनेछन् ।

प्रतिक्रिया