‘हाइकु किचः’को विमोचन

काठमाडौँ । श्यामसुन्दर सय्जुको नेपालभाषामा प्रकाशित हाइकु संग्रह ‘हाइकु किचः’ को पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विमोचन गरेका छन् । महान्यायाधिवक्ता कार्यालयको गौतमबुद्ध सभाकक्षमा विमोचन भएको हो । पनौती नगरपालिका, काभ्रेपलाञ्चोकमा जन्मिएका नेपालभाषा काव्यिक क्षेत्रका विशिष्ट प्रतिभा सय्जु पत्रिका जगत्मा समेत ख्यातिप्राप्त व्यक्ति हन् । लामो समय सो क्षेत्रमा बिताएका उनी गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादकसमेत हुन् । साथै, विश्वप्रसिद्ध काव्यकृति ‘गिताञ्जली’ का अनुवादक हुन् । उनी बुद्धिचाल खेलसँग पनि सरोकार राख्छन् । लोकार्पण कार्यक्रममा नेपालभाषाका हाइकुकार तुयु पुँ, साहित्यकार तथा वरिष्ठ चिकित्सक प्राडा सुमनराज ताम्राकार, कवि सय्जुका जेठी सुपुत्री अमितालक्ष्मी सय्जु, वरिष्ठ साहित्यकार मोहन दुवाल र पुस्तकका समीक्षक डा. आनन्द जोशीले कवि सय्जुको व्यक्तित्व र कृतित्वबारे आआफ्नो धारणा राखेका थिए ।

नेवाः हाइकु ख्यः, पाटनका अध्यक्ष सुरेश प्रधानको सभापतित्वमा भएको सो साहित्यिक कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भाषा आन्दोलनका हस्तीहरूले भाषामा एकरुपता ल्याउन, समन्वय गर्न र भाषिक विविधतालाई अन्त्य गर्न प्रयास हुनुपर्ने औँल्याए । सो कार्यक्रममा नै आफ्नो विचार राख्नुहुँदै साहित्यकार मोहन दुवालले ‘गणतन्त्र प्राप्ति भइसकेपछि पनि स्रष्टाहरूको मूल्यांकन नभएकोले सबै क्षेत्रका स्रष्टाहरूको कदर गर्न स्थानीय इकाइ, प्रदेश र संघले दृष्टि दिनुपर्ने बताए । सो अवसरमा कवि सय्जुका जेठी छोरी अमिता सय्जुले ‘गीताञ्जली’ को नेपाली अनुवाद र एउटा कवितासंग्रह तत्कालै प्रकाशन हुन लागेको बताए । कार्यक्रममा पनौतीका विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, न्यायक्षेत्रका थुप्रै वरिष्ठ अधिवक्ताहरू, भाषासेवीहरूलगायत थुप्रै साहित्यकारहरूको भव्य उपस्थिति थियो ।

प्रतिक्रिया