आलमलाई जन्मकैदको सजाय

रौतहट । जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।

३ दिन सम्म चलेको बहस पछि रौतहट जिल्ला अदालतका मुख्यन्यायधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले पूर्वमन्त्री आलमसहित ४ जनालाइ दोषिठहर गर्दै १ जनालाइ मुद्दाबाट सफाई दिने फैसला सुनाएको हो । ईटाभट्टामा जिउदै मान्छे जलाएको अभियोग लागेका आलम र आलमका भाई मोहम्मद महताव आलम, बद्री सहनी, शेख सेराज भन्ने सिख सराजलाइ साविक मुलुकी एेन अनुसार जन्म कैद तथा १ जना आरोपित मुक्ति साहलाइ सफाई पाउने फैसला भएको जिल्ला अदालतका उपसचिव उद्धव ढोडारीले जानकारी दिए ।

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा मतदानको पूर्वसन्ध्या चैत्र २७ गते रौतहट जिल्लाको राजपुर फरहदवामा शेख इद्रीसको गोठघरमा भएको बम विस्फोटमा परी घाइते भएको छोरा त्रिलोक प्रताप सिंहलाइ जिउदै ईटा भट्टामाँ जलाएको भन्दै मृतकका वुबा नारायणप्रसाद सिंहले दिएको कीटाणी जाहेरीको आधारमा रौतहट प्रहरीले १२ वर्ष पछि आलम लाई २०७६ आसोज २६ गतेमा पक्राउ गरेको थियो ।

११ जना माथि अभियोग दाबी रहेकोमा मुद्दामा हाजिर नभई फरार रहेका ६ जनाको हकमा मुद्दा मुल्तलवी राखिएको र ५ जनाको हकमा फैसला आएको उपसचिव ढोडारीले जनाए । उनको अनुसार फरार रहेका शेख फजले हक, शेख मोबिन, गौरी शंकर साह , सगीर आलम, शेख भदै र शेख जमाई भन्ने शेख मलकारको हकमा इजलासले फैसला गरेको छैन ।

सोमबारदेखि शुरू भएको बहसमा नेपाल सरकारको पक्षबाट जिल्ला न्यायधिवक्ता बद्री कार्की, सहायक जिल्ला न्यायधिवक्ता दयानिधि रिजाल र अधिवक्ता पुष्पराज पौडेलले माग दावी अनुसार सजाय हुनु पर्छ भनि बहस गरेका थिए ।

प्रतिवादी आलम पक्षमा नेपाल बार एसोशिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरे, अधिवक्ता अजय पटेल, यदुनाथ खनाल, अधिवक्ता मोहम्मद साविर हुसैन, मजरुल हक, सन्जीवकुमार मल्लिक, लालबाबू यादव , अनन्त अधिकारी र आफताव आलमले बहस गरेका थिए ।

राजपुर बम विस्फोटमा छोरा गुमाएका पीडित नारायण सिंहले मृतक छोराको आत्माले १६ वर्ष पछि शांति पाएको प्रतिक्रिया दिएका छन् । लामो संघर्षपछि न्याय पाएको उनले सुनाए । जन्मकैदको सजाय पाएका मध्ये बद्री सहनी फरार रहेका छन्, भने आफताव आलम , महताव आलम, शेख सेराज कारागारमा कैदी जीवन बिताईरहेका छन् ।

प्रतिक्रिया