सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा सुर्ती सेवनबाट दैनिक ७३ जनाले ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ । स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सूर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताएका हुन् ।

बालबालिकालाई सूर्ती र धूमपानबाट टाढा राख्ने उद्देश्यले युवा सिर्जनशील समाजले सुरु गरेको विद्यालय स्तरीय सचेतना अभियानमा दुवालले सूर्तीको धुवाँमा मात्रै विश्वमा बर्सेनि ४७ अर्ब रुपैयाँ उडिरहेकाले यसलाई रोक्न पनि अभियान थाल्नुपर्ने बताए । सूर्तीमा निकोटिन, टारलगायत ४० भन्दा बढी किसिमका खतरनाक विषादी हुने भएकाले यसले दीर्घरोग लाग्ने उनले बताए ।

दुवालले सूर्तीजन्य पदार्थ नियमन ऐनले १६ वर्षमुनिका बालबालिकालाई सूर्ती बेच्न बन्देज लगाएको, विद्यालयको सय मिटर वरपरसम्म सूर्ती बेचबिखन र सेवन गर्न प्रतिबन्ध लगाएको हुँदा राज्यको निर्देशन उल्लंघन भएमा विद्यार्थी, स्थानीय तह र प्रहरी प्रशासनमा उजुरी गर्न अग्रसर हुनुपर्ने उनको तर्क थियो ।

अभियानमा गणेशमान सिंह मेमोरियल अस्पतालका डा. आदित्य रञ्जितले धूमपान र सूर्ती सेवनबाट क्यान्सर, मधुमेह, मुटुरोग, दमखोकीलगायत रोग लाग्ने भएकाले यसबाट समाजलाई बचाउन विद्यार्थीलाई घरघरमा सन्देश पु¥याउन आह्वान गरे । धूमपान गर्ने व्यक्तिले आफूलाई मात्र रोगी पार्ने नभई आफ्नो परिवार र आफू आसपासका व्यक्तिलाई पनि बिरामी पार्ने भएकाले सार्वजनिक स्थलमा धूमपान निषेध गर्न राज्य लाग्नुपर्नेमा उनले जोड दिए ।

युवा सिर्जनशील समाजकी अध्यक्ष शारदा लामाले सूर्तीको लत सानै उमेरदेखि लाग्न सक्ने भएकाले विद्यार्थी यसबाट टाढा रहनुपर्ने बताउँदै सूर्तीले आर्थिक, सामाजिक, वातावरणीय क्षय हुने मात्र नभई भविष्यका कर्णधारको जीवन नै जोखिममा पार्ने भएकाले सूर्ती सेवन नगर्न अनुरोध गरे ।

प्रतिक्रिया