राष्ट्रिय संकटको समाधानः यो सरकारद्वारा सम्भव छ ?

आज देश गम्भीर राष्ट्रिय संकटको मुखमा उभिएको छ । त्यो संकटको प्रकृति तत्कालिक मात्र नभएर दीर्घकालीन प्रकारको छ । संकटको छ, त्यसको समाधानको लागि सामन्ती र औपनिवेशिक शोषण वा प्रभुत्वको अन्त्यको आवश्यकता छ । आज देशमा विद्यमान सामन्ती व्यवस्थाको स्वरूप अर्धसामन्ती प्रकारको र औपनिवेशिक शोषणको स्वरूप अर्धऔपनिवेशिक प्रकारको छ । आज देशमा कायम भएको नेकपाको सरकार विद्यमान अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाअन्तर्गत बनेको नै सरकार हो । यो कुनै कम्युनिस्ट वा क्रान्तिकारी सरकार नभएर दक्षिणपन्थी संशोधनवादी संगठनको नेतृत्वमा बनेको सरकार हो । त्यसकारण त्यसका लागि देशमा बनेको अर्धसामन्ती र अर्धऔपनिवेशिक प्रकारको व्यवस्थाको अन्त सम्भव छैन ।

अहिले विद्यमान सरकारलाई हटाएर त्यसको ठाउँमा नेकाको सरकार कायम गर्न वा राजतन्त्रको पुर्नस्थापना गर्नका लागि प्रयत्नहरू भइरहेका छन् । तर, ती मध्ये कुनै पनि सरकारद्वारा पनि देशमा विद्यमान राष्ट्रिय संकटको समाधान सम्भव छैन, किनभने तिनीहरू पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाअन्तर्गत नै बनेका सरकारहरू हुनेछन् । त्यसप्रकारको राष्ट्रिय संकटको समाधान खाली नयाँ जनवादी क्रान्तिद्वारा मात्र सम्भव छ । त्यसैले हाम्रो पार्टीले नयाँ जनवादी क्रान्तिलाई आजको आधारभूत वा न्यूनतम कार्यक्रम बनाएको छ र त्यो क्रान्तिको लागि परिस्थिति वा आधार तयार पार्नु आजको हाम्रो मुख्य जिम्मेवारी हुन्छ ।

नयाँ जनवादी क्रान्ति एउटा लामो क्रान्तिकारी प्रक्रियाका बीचमा गएर नै सम्भव हुन्छ । त्यसका लागि एकातिर राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, अर्थात् वस्तुस्थिति र, अर्कातिर आत्मगत स्थिति र पार्टीको संगठनको स्थिति तयार हुनुपर्ने आवश्यकता हुन्छ । वस्तुगत स्थिति तयार भएपछि पनि आत्मगत स्थिति तयार भएन भने जनवादी क्रान्ति सम्भव हुँदैन । संसारमा कैयौँपल्ट यस्तो स्थिति उत्पन्न हुन्छ, जब वस्तुगत स्थिति क्रान्तिको लागि परिपक्व हुन्छ, तर त्यस अनुरूप आत्मगत स्थिति तयार हुँदैन । त्यसले गर्दा कैयौँपल्ट क्रान्तिको लागि परिस्थिति तयार भए पनि क्रान्तिहरू सफल हुन सक्दैनन् वा क्रान्तिको ठाउँमा प्रतिक्रियावादी शक्तिहरू सत्तामा आउँछन् ।

प्रथम विश्व युद्धको समयमा युरोपका धेरै देशहरूमा समाजवादी क्रान्तिको लागि वस्तुगत रूपमा परिस्थिति तयार थियो, रूसमा आत्मगत रूपमा पनि परिस्थिति तयार भएको हुनाले त्यहाँ समाजवादी क्रान्ति सम्पन्न भयो । तर, अन्य देशहरूमा त्यो सफल हुन सकेन । द्वितीय विश्व युद्धको पूर्व वेलामा जर्मनीमा क्रान्तिको लागि परिस्थिति तयार थियो । तर, त्यो क्रान्तिकारी परिस्थितिलाई उपयोग गर्नसक्ने आत्मगत अवस्था त्यहाँ थिएन । त्यसकारण त्यहाँको वस्तुगत रूपमा तयार भएको क्रान्तिकारी परिस्थितिले हिटलरको नेतृत्वमा फासिवादी मोड लियो ।

अहिले पनि विश्वस्तरमा समाजवादी क्रान्तिको लागि परिस्थिति तयार भएको छ । तर, त्यहीअनुरूप क्रान्तिकारी आत्मगत स्थिति तयार भएको छैन । त्यसको परिणाम संसारमा समाजवादी क्रान्तिहरू सफल हुन नसकेको मात्र होइन, कैयौँ देशहरूको राजनीतिले फासिस्ट मोड लिदै गइरहेको छ । त्यो अवस्थामा माक्र्सवादी–लेनिनवादीहरूले क्रान्तिकारी आत्मगत परिस्थितिको निर्माणको कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्नुपर्छ । त्यही सिद्धान्तअनुसार नयाँ जनवादी क्रान्तिको लागि आत्मगत परिस्थितिको निर्माण गर्ने उच्च प्राथमिकता दिनुपर्दछ ।

जनवादी क्रान्तिको लागि आत्मगत परिस्थितिको निर्माणको कार्यलाई उच्च प्राथमिकता दिनुको अर्थ हो, प्रथम, मिलिटेन्ट, अनुशासित, शक्तिशाली र भूमिगत कम्युनिस्ट पार्टीको निर्माण । द्वितीय, जनताको चेतना र संघर्षको स्तर उठाउन लगातार प्रयत्न । यी दुवै कार्यहरूले क्रान्तिकारी परिस्थितिको निर्माणको लागि धेरै नै महत्व राख्दछन् । निश्चय नै यी दुवै कार्यहरू सरल छैनन् र कैयौँ प्रकारका कठिनाइ, बाधा वा समस्याहरूको समाधान गरेर वा तिनीहरूका विरुद्ध संघर्ष गरेर नै ती उद्देश्यहरू पूरा हुन सक्दछन् ।

पार्टी विरोधी वा प्रतिक्रियावादी शक्तिहरूले त्यसप्रकारको पार्टीको निर्माणमा सधैँ बाधा पुर्याउने प्रयत्न गर्दछन् । उनीहरूले खाली भौतिक रूपमा मात्र होइन, वैचारिक रूपले क्रान्तिकारी सिद्धान्तहरूबारे भ्रम फैलाउन पनि सकेसम्म जोड गर्दछन् । वास्तवमा भन्ने हो भने, विश्वव्यापी रूपमा नै त्यसप्रकारको सञ्जाल तयार भएको छ । दक्षिणपन्थी, संशोधनवादी वा उग्रवामपन्थीहरूले पनि क्रान्तिकारी माक्र्सवादी, लेनिनवादी सिद्धान्त वा कार्यशैलीमा विभिन्न कोणबाट भ्रम दिने प्रयत्न गरिरहन्छन् ।

त्यो अवस्थामा त्यसप्रकारका सबै गलत विचारहरूका विरुद्ध सैद्धान्तिक संघर्षलाई अगाडि बढाएर नै माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टीको निर्माण गर्न सकिन्छ र गर्नु पनि पर्दछ । बाहिरबाट त्यसरी भौतिक वा वैचारिक रूपले पुग्ने बाधाहरू बाहेक पार्टीभित्र विभिन्न प्रकारले देखापर्ने वैचारिक संगठनात्मक वा अनुशासनसम्बन्धी समस्याहरूका कारणले पनि पार्टीको निर्माणमा बाधा पुग्ने गर्दछ । त्यस कारण माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूको प्रशिक्षण पार्टीका विधान र नियमहरूको कार्यान्वयन समेतमाथि ध्यान दिएर आन्तरिक रूपमा पनि पार्टीको संगठनलाई सुदृढ पार्न प्रयत्न गरिरहनु पर्दछ ।

जनवादी क्रान्तिको तयारीका लागि सबैभन्दा महत्वपूर्ण र निर्णयात्मक कार्य जनताका बीचमा लगातार काम गर्नु र त्यसरी जनआधार तयार पार्नु नै हो । एकातिर, जनताका बीचमा पार्टीको राजनीतिक लाइन व्यापक रूपले पु¥याउने प्रयत्न गरेर र अर्कातिर, जनसंघर्षलाई लगातार तथा व्यापक रूपमा उठाउने प्रयत्न गरेर नै जनवादी क्रान्तिका लागि परिस्थितिको निर्माण गर्न सकिन्छ । त्यसरी नै जनतामा चेतना र संघर्षको स्तरमाथि उठ्दै जान्छ र उनीहरू उच्चस्तरको निर्णयात्मक र क्रान्तिकारी आन्दोलनका लागि तयार हुँदै जान्छन् । जनताको बीचमा संघर्ष उठाउनको लागि सर्वप्रथम उनीहरूका आफ्नै समस्याहरूलाई लिएर संघर्षलाई संगठित गर्ने प्रयत्न गर्नुपर्दछ ।

त्यसो गर्दा मजदुर, किसान, जनजाति, दलित, विद्यार्थी, युवक, बुद्धिजीवी, प्रवासी नेपाली आदि विभिन्न जनसमूहहरूका मागहरूका आधारमा संघर्षलाई संगठित गर्ने प्रयत्न गर्नुपर्दछ । त्यसो गर्दा ग्रामीण वर्गसंघर्ष र किसान आन्दोलनलाई उच्च प्राथमिकता दिनुपर्दछ । राष्ट्रियस्तरमा किसान आन्दोलनहरू अगाडि बढाउन प्रयत्न गर्नुका साथै स्थानीय किसान समस्याहरूसित जोडिएका समस्या वा मागहरूलाई लिएर पनि संघर्षलाई अगाडि बढाउने प्रयत्न गर्नुपर्दछ ।

तर, यो कुरामा हामी स्पष्ट हुनुपर्दछ कि विभिन्न जनवर्गहरूका समस्या वा मागहरूलाई लिएर संघर्ष गरेर मात्र क्रान्तिकारी आन्दोलनको निर्माण हुन सक्दैन । त्यसकारण त्यसप्रकारका आन्दोलनहरूका साथै उनीहरूलाई राजनीतिक आन्दोलनहरूमा पनि अग्रसर गराउन प्रयत्न गरिरहनु पर्दछ । त्यसो भएमा नै एकातिर, उनीहरूको राजनीतिक चेतनाको स्तर उठ्दै र सबै क्रान्तिकारी जनवर्गहरूका बीचमा ऐक्यबद्धता बढ्दै जान्छ र, अर्कातिर, निर्णयात्मक र क्रान्तिकारी आन्दोलनका लागि उनीहरू तयार हुँदै जान्छन् ।

क्रान्तिकारी आन्दोलनका सिलसिलामा हामीहरूले रणनीति र कार्यनीतिका बीचमा अन्तरलाई स्पष्ट रूपले बुझ्नु पर्दछ र तिनीहरूको बीचमा सही सन्तुलन कायम गर्ने प्रयत्न गर्नुपर्दछ । रणनीति वा कार्यनीति मध्ये कुनै एउटामाथि मात्र जोड दिने प्रवृत्तिले आन्दोलनलाई या त वामपन्थी संकीर्णवादी या दक्षिणपन्थी सुधारवादी दिशामा लैजाने सम्भावना हुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा ती दुवै प्रकारका प्रवृत्तिहरू देखापर्ने गरेका छन् ।

कतिपयपल्ट कार्यनीतिको उपेक्षा गरेर रणनीतिक कार्यक्रम वा नाराहरूलाई नै मुख्य प्राथमिकता दिने गरिन्छ । त्यो अवस्थामा पार्टीले ‘उग्रवामपन्थी’ वा ‘वामपन्थी’ संकीर्णवादी दिशा लिने सम्भावना हुन्छ । रणनीतिक पक्षलाई उपेक्षा गरेर कार्यनीतिक पक्षमा मात्र जोड दिने नीति अपनाइयो भने आन्दोलनले दक्षिणपन्थी दिशा लिने सम्भावना हुन्छ । अन्तर्राष्ट्रिय र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि त्यसप्रकारका कमजोरी वा भड्कावहरू बारम्बार देखापर्ने गरेका छन् र तिनीहरूबाट अन्तर्राष्ट्रिय र नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि ठूलो क्षति पुग्ने गरेको छ ।

त्यसैले मार्क्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराका संस्थापकहरू तथा संसारभरका माक्र्सवादी–लेनिनवादीहरूले त्यसप्रकारका भड्कावहरूका विरुद्ध लगातार संघर्ष गर्दै आएका छन् । हाम्रो पार्टीको इतिहास पनि त्यसप्रकारको गौरवपूर्ण संघर्षले भरिएको छ । त्यसप्रकारको संघर्षको कारणले नै हाम्रो पार्टी उग्रवामपन्थी वा दक्षिणपन्थी भड्कावहरूको सिकार हुनुबाट बचेको छ ।

हाम्रो पार्टीले सैद्धान्तिक र रणनीतिक पक्षलाई कहिल्यै पनि गौण बनाउने गरेको छैन । माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरूप्रतिको अडान, सर्वहारा वर्गको अधिनायकत्व, शसस्त्र संघर्षको अनिवार्यता तथा नयाँ जनवादी क्रान्तिमाथि निरन्तर जोड आदिले हाम्रो त्यसप्रकारको दृष्टिकोणलाई स्पष्ट गर्दछन् ।

हामीले तत्कालीन रूपमा चलाउने सबै आन्दोलनहरू पनि माक्र्सवादी–लेनिनवादी सिद्धान्त वा रणनीतिद्वारा नै निर्देशित हुन्छन् । अर्कातिर, रणनीति प्रति हामीले कहिल्यै पनि अधिभूतवादी, यान्त्रिक वा जडसूत्रवादी दृष्टिकोण अपनाउने गर्दैनौँ र कुनै खास वेलाको स्थितिको ठोस मूल्यांकन गरेर नै आफ्नो तत्कालीन नीति वा कार्यक्रम अपनाउने गर्दछौँ । नेपालको अहिलेको सन्दर्भमा पनि हामीले त्यही प्रकारको द्वन्द्वात्मक दृष्टिकोण अपनाएका छौँ । (बाँकी असोज ३ गतेको अंकमा)

प्रतिक्रिया