पुटिनको शासन यात्रा : पाँचौँ कार्यकालको शपथ

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ कार्यकालका लागि शपथग्रहण गरेका छन् । शपथग्रहण कार्यक्रममा बोल्दै पुटिनले विभिन्न कालखण्डको महसुस गर्दै देशले जितेको महसुस गरेको बताए ।

मंगलबार ग्रान्ड क्रिमलेन दरबारमा भएको शपथग्रहण कार्यक्रम अमेरिका, बेलायत र अन्य धेरै पश्चिमा देशले बहिष्कार गरेका थिए । युरोपेली युनियनले समेत सो शपथग्रहण कार्यक्रम बहिष्कार गरेको थियो ।

२५०० जना सहभागी शपथग्रहण कार्यक्रममा पुटिनले भने, ‘हामी एकत्रित र शक्तिशाली छौँ ।’ अर्को ६ वर्षे कार्यकालको सुरुआत गर्दै उनले अबको नयाँ शक्तिका रूपमा रुस उदाएको दाबी गरे । ७१ वर्षीय उनले गत मार्चमा भएको निर्वाचनमा ८७ दशमलव २८ प्रतिशत मत पाएका थिए । उनका विरोधी र कटु आलोचक एलेक्सी नाभान्लियाको हिरासतमा मृत्यु भएको १ सातापछि उनले यो सफलता पाएका हुन् ।

एलेक्सीकी पत्नी युलिया नाभान्लियाले पुटिनलाई बारम्बार ठग, झुटो र हत्याराको आरोप लगाउँदै आएकी छिन् । मंगलबार नै उनले पुटिन विरुद्धको संघर्ष जारी राख्ने बताएकी छिन् । उनले निर्वाचन तटस्थ नभएको जिकिरसमेत गरेकी छिन् ।

रुसले आणविक हतियारको प्रसंग उठाएको १ दिनपछि भएको यो शपथग्रहण कार्यक्रमलाई विशेष अर्थपूर्ण रूपमा हेरिएको छ । अमेरिकालगायत पश्चिमा देशहरूले २ वर्षअघि नै पुटिनलाई तानाशाही र शान्ति विरोधीको आरोप लगाएका थिए ।

पुटिनको अबको शासन यात्रा सहज भने पक्कै छैन । युक्रेनमाथिको आक्रमणपछि लगाइएको आर्थिक नाकाबन्दीको असर त्यत्तिकै परेको छ । धेरै देशको घेराबन्दीका कारण पछिल्लो २ वर्षयता रुसको आर्थिक विकास ओरालो यात्रामा छ ।

खेलकुद क्षेत्रमा रुस र बेलारुसको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन बन्देज लगाइएको छ । यसका बाबजुद शपथग्रहण समारोहमा बोल्दै रुसी सरकारका धेरै अधिकारीहरूले कसैसँग नडगमगाउने कुरामा बारम्बार जोड दिइरहेका छन् । युक्रेनको विदेश मन्त्रालयले भने रुसको अर्को कार्यकाल संसारका लागि अप्रिय रहेको प्रतिक्रिया दिइसकेको छ ।

प्रतिक्रिया