एमालेको मिसन ८४ का गम्भीर कमजोरी

रामरमित खालको भेला मात्रले खासै उपलब्धि हुँदैन । पढ्ने लेख्ने र सिक्ने कुरामा मानिसका सबै ज्ञानेन्द्रिय केन्द्रित हुनै पर्छ । सुनेका कुरा केही छिनपछि बिर्सिन्छ तर त्यही सुनेका कुरा टिपोट गरियो भने हत्तपत्त बिर्सिदैन । अनि आफूले जानेका बुझेका कुरा बारबार लिखित र मौखिक रूपमा उल्लेख गरियो भने विषयवस्तुबारे पूरै जानकार भइन्छ ।

प्राडा बद्रीविशाल पोखरेल

आउँदो जेठ १६ र १७ गते काठमाडौंमा एमालेको बृहत् महिला भेलाको आयोजना हुने समाचार पढियो । जनसंगठन समन्वय समिति, केन्द्रको संयोजनमा हुन गइरहेको भेलामा २३ वटै जनसंगठनमा आबद्ध महिलाहरू गरी ५ हजार सहभागी हुने यस्ता कार्यक्रम आयोजना गर्नु राम्रै कुरा हो । तर, यस्ता भेलाका सहभागीहरूलाई भेला समापन पछि सोध्ने हो भने ९९ प्रतिशतले केही पनि नसिकेको बताउनेछन् ।

यत्तिकै श्रम समय र धनको लगानीमा प्रदेश प्रदेश र जिल्ला जिल्लामा कार्यशाला गर्ने हो भने गुणात्मक उपलब्धि प्राप्त हुन्छ । सहभागीले केही न केही सिक्ने र तिनीहरू उत्साहित पनि हुन्छन् । प्रत्येक नेता र कार्यकर्ताभित्र रहेको ऊर्जा देखाइदिने हो आन्दोलनमा समर्पित हुने गरी प्रशिक्षित गर्ने हो । त्यसैले सतही सहभागितामूलक कार्यक्रमबाट अत्यन्त सतही प्रभाव पर्छ । यसरी पार्टीको मलिलो जग बलियो हुँदैन । पार्टी संस्थापक महासचिव पुष्पलाल जत्तिकै र जस्तै अरू संस्थापक सदस्यहरू सक्रिय भएका भए यो पार्टी सुरुदेखि नै अरू प्रभावशाली हुन्थ्यो । रामरमित खालको भेला मात्रले खासै उपलब्धि हुँदैन । पढ्ने लेख्ने र सिक्ने कुरामा मानिसका सबै ज्ञानेन्द्रिय केन्द्रित हुनै पर्छ । सुनेका कुरा केही छिनपछि बिर्सिन्छ तर त्यही सुनेका कुरा टिपोट गरियो भने हत्तपत्त बिर्सिदैन । अनि आफूले जानेका बुझेका कुरा बारबार लिखित र मौखिक रूपमा उल्लेख गरियो भने विषयवस्तुबारे पूरै जानकार भइन्छ ।

पिँधबिनाको लोहोटाको कुनै भर हुँदैन । पिँधका लागि सैद्धान्तिक वैचारिक तथा सेवा र समर्पण भाव आवश्यक पर्छ । नेता अगुवा नेता तयार नगरी पार्टी सुदृढ हुँदैन । ढोडको तोक्मा टेकेर सगरमाथा यात्राको कल्पना पनि गर्न सकिन्न । कार्यक्रमका लागि कार्यक्रम गरेर हुँदैन, परिणाममा के प्राप्ति हुन्छ भन्ने सोचेर कार्यक्रमको आयोजना गर्नुपर्छ । इलाम र बझाङ उपनिर्वाचनमा एमालेले जितेको सन्देश अर्थपूर्ण रहेको छ । पार्टीको नीति सिद्धान्त कार्यक्रम र कार्यदिशा र जनसेवाका काम तुलनात्मक रूपमा राम्रो भए पनि संगठनको सन्जाल महत्त्वपूर्ण हुन्छ । यो सन्देश यस उपनिर्वाचनले दिएको छ । राम रमिते प्रचारकभन्दा स्थानीय स्तरमा ब्यानर बनेका सेतै कपाल फुलेका नेता र कार्यकर्ता जितका आधार हुन् । यसको मतलब पार्टी संगठन सबल हुनुपर्छ । र सबल भनेको स्थानीय कार्यकर्ता र नेतृत्व प्रभावशाली हुनपर्छ भन्ने हो ।

माओले सिद्धान्त अमुक प्रमुख नेताले मात्र जानेर हुँदैन हरेक नेता र कार्यकर्ताले जान्नुपर्छ भन्नुको अर्थ तीखा तिखरिला कार्यकर्ताको ताँती तयार गर्नुपर्छ भन्ने हो । पार्टी र मोर्चा संगठनका हर क्षेत्रका नेता र कार्यकर्ता तहअनुसार स्तरीय हुनुपर्छ । नाम मात्रको होइन कामको पार्टी र मोर्चा संगठन अपरिहार्य हुन्छ । गाउँ, नगर प्रदेश र देशलाई एमालेमय बनाउनेलाई सर्वथा उपेक्षा गरेर प्रतिफल प्राप्त हुँदैन । विगतमा राजनीति र राजकीय क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई मात्र पुनः अवसर दिनु्पर्छ नत्र सेवा गर्छु भन्नेलाई सधैँ उपेक्षा गरियो भने मिसन किमार्थ सफल हुँदैन ।

जान्दा हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्न सकिन्छ । जनशक्तिलाई नै हात र साथमा लिएर जनताको हित गर्नुपर्छ । सक्षम कार्यकर्तामार्फत् आमजनताका बीचमा पार्टीलाई लोकप्रिय बनाउन सकिन्छ । काम स¥यो भाँडो आफल तेरो ठाँडो गर्नु हुँदैन । यो लेखक नै धेरैपटक यस खालका विसंगतिको सिकार भएको छ । जबजको मर्म बोध गरेर मात्र तलबितल नगरी बसिएको छ । पूरै परिवार प्रतिबद्ध भएर लाग्दा पूरै परिवार अपमानित हुनु देख्नेलाई लाज लाग्ने विषय हो । चेपारे मायाले पार्टी बिग्रेको हो र यस्तो सम्भावना टरेर गएको छैन । अतिचार गरियो भने त्यसको परिणाम राम्रो हुनेछैन । तमाम नेता र कार्यकर्तामा सिद्धान्त, संगठन र सिर्जनाजस्ता त्रिआयामिक क्षमता अपरिहार्य हुन्छ । अमुक नेताका ठसठसे मन्तव्यका भरमा पार्टी सबल बन्दैन । कम्युनिस्ट पार्टी र तिनका नेता र कार्यकर्ता पार्टीको आदर्श अनुसारका हुनुपर्छ । सिद्धान्ततः एमाले नाम मात्रको कम्युनिस्ट पार्टी होइन भन्ने आफैँले पहिले बुझ्नुपर्छ । जननेता मदन भण्डारीले कम्युनिस्ट नाम र त्यस अनुसारको झण्डा र नाराकै भरमा कम्युनिस्ट पार्टी हो भ्रमबाट मुक्त हुन सुझाउनुभएको छ ।

एमालेले मदन, मनमोहन र ओलीले झैँ पार्टी निर्माण र उत्थानमा लाग्नुपर्छ । कक्षामा शिक्षकले विद्यार्थीलाई पढाएकैमा मात्र भर पर्नु हुन्न र उसलाई गृहकार्य दिनुपर्छ र त्यसको पनि जाँच गर्नुपर्छ । यो कुरा सबै तहका नेताहरूमा लागू गराउनुपर्छ रहरले पढ्ने बहुत कम हुन्छन् । कि जेल पर्दा कि विद्यार्थी हुँदा र कि त प्राप्त जिम्मेवारीअनुसार त्यसको औकात राख्न पढिन्छ । मदन भण्डारी नै पनि पदीय हिसाबले जति माथिल्लो तहमा पुग्नु हुन्थ्यो उति अध्ययन र लेखनमा बढी समय दिनु हुन्थ्यो । मदन भण्डारीले भूमिगत बैठकपछि नेता र कार्यकर्तालाई कविता र गीत जे आउँछ लगाउनु हुन्थ्यो । यसको मतलब लेख्नै पर्ने र पढ्नै पर्ने अवस्था सिर्जना गरेर मात्र पढिन्छ र लेखिन्छ भन्ने बुझ्नुपर्छ । पढ है भनेका भरमा पढ्ने कमै हुन्छन् । बेलाबेला जाँच लिने गरियो भने फेल हुने डरले पनि पढिन्छ ।

देवकोटाजस्ता प्रतिभाशाली विद्यार्थी भए तिनका डरले पनि शिक्षक नेता रातभरि पढ्न बाध्य हुन्छन् । तर, अलिअलि जान्ने र बुझ्ने खालको नेता र कार्यकर्ता छ भने त्यसलाई प्रश्न र जिज्ञासा राख्नै दिइन्न, र नोकरसाही केन्द्रीयता लादिन्छ । अनि पार्टी माथिदेखि भुत्ते हुँदै आएको हो । त्यसैले पार्टीलाई मुहानदेखि नै सुधार्नु र सच्याउनु पर्छ । अध्यक्ष आफैँले पनि नेता कार्यकर्तालाई आफ्ना बारे आफूलाई लागेका सुझाव र सल्लाह लिँदा आकास खस्तैन । किनभने बत्तीमुनि पनि अँध्यारो हुन्छ । कमरेड ओलीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्मा प्रस्तुत राजनीतिक प्रतिवेदन अत्यन्त उपयुक्त देखिन्छ ।

पार्टीलाई जगदेखि नै बलशाली बनाउने सन्देश त्यहाँ पाइन्छ तर यत्तिकै भरमा पार्टी र नेतृत्व प्रायः सुध्रिनेवाला छैन । हरेक नेता बहुआयामिक विशेषता र क्षमताका हुन सक्छन् र बन्न बनाउन पनि सकिन्छ । प्रहरीको तालिममा पर्दा एउटा मानिस सखुवाको काठ सरह बलशाली हुन्छ अनि उही मानिस सेनाको तालिममा पर्दा त्यसको शरीर फलामसरह शक्तिशाली हुन्छ । यसको मतलब जस्तो चाह्यो त्यस्तै बन्न र बनाउन सकिन्छ । बुद्धि, बल, क्षमता र प्रतिभा पनि विकास गर्न सकिन्छ । सबै मानिस भावनात्मक रूपमा स्रष्टा हुन्छन् तर जब तिनले आआफ्ना मनका विभिन्न भावनाहरू अक्षरमा लेख्छन्, तब ती कविका रूपमा समाजमा परिचित हुन्छन् ।

मोर्चा संगठनको संयुक्त, अब कुनै पनि जातजाति समुदायमा एकभन्दा एक पार्टी कार्यकर्ता र नेता तयार भएका छन् तिनै मध्येबाट छानी छानी योग्यलाई राजनीतिक र राजकीय जिम्मेवारी दिन सकिन्छ । एउटै नेता र कार्यकर्ताले राजकीय अनेक अवसर पाइरहने र दिइरहने अवस्था पूरै नियन्त्रित गर्नु पर्छ । कसैलाई खातै खात कसैलाई पुर्पुरामा हात हुन दिनु हुँदैन । ससाना कुरालाई आधार बनाएर नेता र कार्यकर्तासित रिसराग राख्नु हुन्न । पार्टीको ब्याड, नर्सरी र बेर्ना तयार गर्न थाल्नुपर्छ । बालबालिकालाई देशव्यापी रूपमा ससानो प्रोत्साहन पुरस्कारबाट जनवादी प्रगतिशील सिर्जना संस्कार र शिक्षा दिन सकिन्छ । अमेरिकाको भीषण बमबारीबाट भियतनामी जनताको एक घर ध्वस्त भयो संयोगले त्यस घरको एक बालक बाँचेछन् । ती बच्चाले अमेरिकाविरुद्ध बन्दुक बोकेर लड्ने उत्कट चाहना गरेछन् तर सैनिकले राम्ररी सम्झाएर अहिले तिमी बालक छौँ त्यसैले अहिले यस्तो काम तिमीबाट सम्भव हुँदैन भन्दा आफ्ना मातापितासहित बन्धुहरू मारेको पीडाका कारण ती बालकले मैले बन्दुक बोकेर अमेरिकाविरुद्ध लड्न नसके पनि लडाइँ लड्ने सेनालाई पानी त पिलाउने काम गर्न सक्छु भनेछन् ।

बालक भनेर हुँदैन काँचो माटालाई सुरुदेखि नै परोक्ष रूपमा प्रगतिशील चेतना भर्ने काम रचनात्मक तरिकाले गर्नुपर्छ । एमालेले जितेका वडा, गाउँपालिका र नगरपालिकाले सानो रकम छुट्याएर सिर्जनात्मक प्रतियोगिता गराउन सुरु गर्ने हो भने ती बालकहरू तीन वर्षमै प्रगतिशील चेतनाका संवाहक बन्छन् । इलाम बाहिरबाट सुहाङलाई जिताउन भनेर प्रचार गर्न भनेर गएका मध्ये अधिकांशतः मुख देखाउन र आफू र आफ्नो समूहलाई मिडियामा प्रस्तुत गर्न गए । बरु निर्वाचनका बेला चिनजानका, आफन्तका र कार्यकर्ताका घरघरमा दुई दिन बसेर प्रचार गरे धेरै प्रभाव पथ्र्यो । आलोचनात्मक चेतका कार्यकर्ता नै जस्तासुकै परिस्थितिमा पनि ठिंङ उभिन्छन् ।

एमालेका पक्षमा लेखकका रूपमा मात्र होइन मन, वचन र कर्मले प्रतिबद्ध नेतृ मिथिला पोखरेल लामो समयदेखि निःस्वार्थ रूपमा क्रियाशील छन् तर तिनैलाई सुनसरी जिल्ला अध्यक्षले अराजकताको मनगढन्ते बिल्ला भिराएर प्रदेशमा कार्यबाहीको सिफारिस गरेछन् । इटहरीको विगत स्थानीय निर्वाचनमा नगरप्रमुखलाई हराउन प्रमाणित अराजक व्यवहार गर्ने उनी आफ्ना आङ्मा मुर्रा जातको अजंगका भैँसी बोकिरहेका छन् । निरन्तर निःस्वार्थ रूपमा काम पनि गर्नु अनि सर्कुलर जारी गरेर अपमानित गर्न थालिएको छ । यसका विरुद्ध मिथिला जिल्ला, नगर, गाउँपालिका र केन्द्रीय सदस्यसहित आवश्यक प¥यो भने संगठित सदस्यसम्मलाई उपयुक्त विषयमा प्रतिवादसहित लिखित जानकारी गराउने तयारीमा रहेको जनाएकी छन् ।

अहिले त पार्टीमा नेताकै स्तर निक्कै खस्केको देखिन्छ । राष्ट्रिय प्रतिनिधि परिषद्मा महासचिव शंकर पोखरेलले अधिकांश केन्द्रीय सदस्यहरूको हालत उल्लेख गरिदिनुभयो । यसको मतलब यसमा पोलिटब्युरो र स्थायी समितिका सदस्य पनि पर्छन् । अझ यस लेखकले त समाजको गुणात्मक रूपान्तरण गर्ने संस्कृति र सांस्कृतिक रूपान्तरणबारे अत्यधिक नेता शून्य लाग्छन् । जबज र यसमा उल्लिखित प्राज्ञिक स्वतन्त्रता नै नबुझेर हैरान नेता देख्दा अचम्म लाग्छ । अयोग्य पार्टी र नेता कार्यकर्तासित आफूलाई तुलना गरेर जाती छु भन्न सुहाउँदैन । उद्घोषण, स्वागत, अतिथि मन्तव्य, प्रमुख अतिथि मन्तव्य, लेख, टिप्पणी समीक्षा, प्रकाशकीय, सम्पादकीय, कार्यशाला कविता गीत कथा लेख लेख्न जानेका अत्यन्त कम छन् तिनलाई उपर्युक्त खाले बौद्धिक सीप सिकाउने हो भने पार्टी प्रतिभाको फूलबारी बन्नेछ । अगुवा कार्यकर्ता र असली नेता बनाउने हो रापिलो र तापिलो अग्निुकुण्डमा हालेर गाल्नु र पगाल्नुपर्छ ।

प्रतिक्रिया