समाजवादी कार्यक्रमको ऐतिहासिक आवश्यकता

यतिबेला हामी पुँजीवादी सामाजिक–आर्थिक ढाँचा भएको अवस्थामा छौँ । यो ढाँचा एउटा प्रतिक्रियावादी ढाँचा हो । यो ढाँचा आफैँ अन्तरविरोधग्रस्त र संकटग्रस्त छ । यसले नेपाली समाजका कुनै पनि आधारभूत समस्याको समाधान गर्न सक्दैन । पँुजीवादी–जनवादी क्रान्तिका वाहक वामपन्थी शक्तिहरू आफैँ कुहिरोका कागजस्ता बनिरहेका छन् । उनीहरूले समाजवादी क्रान्ति र रूपान्तरणको लक्ष्य र ठोस कार्यक्रम अघि सार्न नसकेकाले कम्युनिस्ट आन्दोलन आफैँ दक्षिणपन्थी भड्काउको शिकार बन्दै गएको छ ।

झलनाथ खनाल

कम्युनिस्टपार्टीको कार्यक्रम भनेको समग्र क्रान्तिको लक्ष्य हो । त्यसले पार्टीका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र अन्य सम्पुर्ण लक्ष्यहरूलाई एकिकृत ढङ्गले प्रस्तुत गर्छ । त्यसले समाजको एउटा वा दुईटा पक्षलाई वा क्षेत्रलाई वा सेक्टरलाई मात्र परिवर्तन वा सुधार गर्ने कुरा गर्दैन । कम्युनिस्ट पार्टीले अघि सार्ने क्रान्तिको कार्यक्रमले विद्यमान समाजको सिङ्गो सामाजिक आर्थिक ढाँचालाई आमुल परिवर्तन गरेर नयाँ प्रगतिशिल सामाजिक–आर्थिक ढाँचा स्थापना गर्ने कुरा गर्छ ।

यतिवेला हामी पँुजीवादी सामाजिक–आर्थिक ढाँचा भएको अवस्थामा छौँ । यो ढाँचा एउटा प्रतिकृयावादी ढाँचा हो । यो ढाँचा आफै अन्र्तरविरोधग्रस्त र संकटग्रस्त छ । यसले नेपाली समाजका कुनै पनि आधारभुत समस्याहरूलाई समाधान गर्न सक्तैन । त्यसको उल्टो यसले ती समस्याहरूलाई झन झन चर्को बनाउँदै लान्छ र लगिरहेको छ । यो पँुजीवादी सामाजिक–आर्थिक ढाँचा स्थापना भएको पनि करिब दुई दशक पुग्न लाग्यो । नेपाली समाजका हर क्षेत्रहरू संकटग्रस्त बन्दै गैरहेका छन । राजनीतिक क्षेत्र अन्योल र दिशाहिनताबाट गुज्रिरहेको छ । पँुजीवादी–जनवादी क्रान्तिका वाहक वामपंथी शक्तिहरू आफै कुइराको काग जस्ता बनिरहेका छन । उनीहरूले समाजवादी क्रान्ति र रुपान्तरणको लक्ष्य र ठोस कार्यक्रम अघि सार्न नसकेको हुनाले कम्युनिस्ट आन्दोलन आफै दक्षिणपंथी भड्काउको शिकार बन्दै गएको छ । उनीहरू भित्र विभाजनको प्रकृया रोकिएको छैन । उनीहरू मध्ये कति त ‘बहुदलीय जनवाद’लाई नै अहिले पनि लक्ष्य बनाएर हिडिरहेका छन र पँुजीवादी‘संसदीय लोकतन्त्र’ को सेवा गरिरहेका छन । त्यसले गर्दा कम्युनिस्ट क्रान्तिकारीहरूको पंक्तिमा भ्रम, अन्योल र दिशाहिनता बढ्दै गैरहेको छ ।

हिजो नयाँ जनवादी क्रान्तिको कालखण्डमा अघि सारिएका कुनै पनि रुपका कार्यक्रमहरू ऐतिहासिक रुपले पुराना भइसके । त्यसबेला हामीले कहिले नयाँ जनवादी कार्यक्रम अघि सार्यौ, कहिले राष्ट्रिय जनवादको कार्यक्रम अघि सार्यौ, कहिले जनताको जनवादको कार्यक्रम अघि सार्यौ र कहिले जनताको बहुदलिय जनवादको कार्यक्रम अघि सार्यौ । ती सबै कार्यक्रमहरू नाममा वा रुपमा जे सुकै मानिए पनि पँुजीवादी जनवादी कार्यक्रमहरू नै थिए । तिनीहरूको मुल लक्ष्य नेपाली समाजवाट सामन्तवादलाई उन्मुलन गर्नु नै थियो । जनवादी क्रान्तिको पछिल्लो कालमा अघि सारिएको ‘जनताको वहुदलीय जनवाद’ को कार्यक्रम पनि पँुजीवादी जनवादी कार्यक्रम नै थियो । त्यसको केन्द्रीय लक्ष्य पनि सामन्तवादलाई उन्मुलन गर्ने नै थियो । त्यहाँ भन्दा अघिको लक्ष्यलाई त्यस कालखण्डका कुनै पनि कार्यक्रमहरूले समेट्न संभव थिएन । अहिले ०६२–६३ को जनक्रान्ति पछि देशको वस्तुगत स्थितिमा नै ठूलो परिवर्तन आएको छ ।

प्रथमतः त्यो क्रान्तिपछि नेपाली समाजको वर्गीय संरचना नै ठूलो परिवर्तन भएको छ । हिजो सामन्त वर्ग नेतृत्वदायी स्थानमा थियो भने अहिले त्यो वर्ग समाप्त भएको छ र दलाल पँजीपति वर्ग नेतृत्वदायी स्थानमा पुगेको छ ।

दोस्रोः हिजो समाजमा अर्ध–सामन्ति उत्पादन सम्बन्ध पनि थियो,अहिले त्यो उत्पादन सम्बन्ध समाप्त भएको छ । समग्रमा पँुजीवादी उत्पादन पद्धति र उत्पादन सम्बन्ध स्थापना भएको छ । उत्पादन सम्बन्धले फड्को मारेको छ ।
तेस्रोः हिजो हामी नेपाली समाजलाई अर्ध–सामन्ति, अर्ध–उपनिवेशी भन्थ्यौ, अहिले पँुजीवादी मुलुकका रुपमा विश्लेषण गरिरहेका छौँ । यो मुलुकको स्वरूपमा आएको फड्को हो ।

चौथोः हिजो हामी सामन्तवाद र दलाल नोकरशाही पुँजीवादसँग ब्यापक जनताको अन्तरविरोधलाई प्रधान अन्तरविरोध मान्थ्यौँ । अहिले दलाल पँुजीवादसँग व्यापक जनताको अन्तरविरोधलाई प्रधान अन्तरविरोध मान्छौ । यसरी प्रधान वर्गीय र राजनीतिक अन्तरविरोधले फड्को मारेको छ ।

पाँचौँः हिजो हामी मुलुकको क्रान्तिलाई नयाँ पुँजीवादी–जनवादी क्रान्ति भनिरहेका थियौ । अहिले हामी समाजवादी क्रान्ति भनिरहेका छौँ । यसरी क्रान्तिको स्वरूपले पनि फड्को मार्यो ।

छैठौँः हिजो हामी नयाँ जनवाद वा बहुदलीय जनवादलाई क्रान्तिको रणनीतिक लक्ष्य मानिरहेका थियौँ र अहिले हामी वैज्ञानिक समाजवादलाई क्रान्तिको रणनीतिक लक्ष्य मान्ने नयाँ धरातलमा आइपुगेका छौँ । यसरी क्रान्तिको रणनीतिक लक्ष्यले पनि फड्को मार्यो ।

सातौँः हिजो हाम्रो क्रान्ति र प्रगतिको मुख्य बाधक नै निरंकुश राजतन्त्र र सामन्तवाद थियो, अहिले दलाल पँुजीवाद नेपाली जनताको अग्रगति र प्रगतिको मुख्य वाधक बनेको अवस्था छ । यसरी नेपाली समाजको आधारभूत पक्षहरूमा नै परिवर्तन आएकाले हाम्रो पार्टीको कार्यक्रममा गुणात्मक परिवर्तन अनिवार्य बनेको छ । हामीले हिजोको अवस्थामा अघि सारेका नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद वा जनताको बहुदलीय जनवादका कार्यक्रमहरू त्यस बेलाको वस्तुगत परिस्थितिका उपज थिए । तिनीहरूले नेपाली समाजलाई अग्रगामी परिवर्तन र रूपान्तरण गर्न ऐतिहासिक भूमिका निर्वाह गरिसकेका छन । नेपाली समाज सामन्ति निरंकुशताको अवस्थाबाट पुँजीवादी लोकतन्त्रको अवस्थामा रूपान्तरित भइसकेको छ । हिजो हामीले जनवादी क्रान्तिको क्रममा अघि सारेका कार्यक्रमहरूका जुन अंशहरू लागू भइसकेका छैनन, तिनीहरू अब समाजवादी कार्यक्रमका अभिन्न अङ्ग बन्छन र बनाउनुपर्छ । तर कार्यक्रमिक रुपमा भने अब नयाँ धरातलबाट अघि बढ्नुपर्छ । अब हिजोका कुनै पनि कार्यक्रमहरूको ‘रक्षा र विकास’ गरेर नेपाली जनता र राष्ट्रलाई अग्रगति तिर लान सकिँदैन । हामीले बिल्कुल नयाँ धरातल,नँया औचित्य र नयाँ आवश्यकताका आधारमा अब समाजवादी कार्यक्रम अघि सार्नुपर्छ । त्यो नेपाली क्रान्तिको इतिहासमा बिल्कुल नयाँ र ऐतिहासिक कार्यक्रम हुनेछ ।

त्यो नयाँ कार्यक्रम भनेको आजको पँुजीवादी सामाजिक–आर्थिक ढाँचालाई आमुल परिवर्तन गर्ने नयाँ समाजवादी सामाजिक–आर्थिक ढाँचा निर्माणको कार्यक्रम हो । त्यसले नेपाली समाजको वर्तमान राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वैदेशिक नीति र ढाँचाका सबै क्षेत्रमा आधारभुत परिवर्तन गर्ने छ । नेपाली समाज र जनतालाई नयाँ ऐतिहासिक चरणमा उठाउनेछ । त्यसले आजको जस्तो शोषक वर्गका हातमा रहेको सत्तालाई खोस्ने छ र श्रमजीवि वर्गको नेतृत्वमा सम्पुर्ण जनताको हातमा शासन सत्ता ल्याउने छ । आजको अवस्थामा जारी रहेको मान्छेले मान्छे माथि गरिने शोषणलाई अर्थात सम्पुर्ण वर्गीय शोषणलाई अन्त्य गर्ने छ र आजका सबै सामाजिक भेदभावहरूलाई पनि अन्त्य गर्ने छ । यसरी एउटा नयाँ र गतिशील समाजवादी व्यवस्थाको स्थापना गरिने छ । त्यो व्यवस्था नेपालको विशिष्ठता र विशेषता माथि आधारित हुनेछ । जसलाई हामी नेपाली विशेषताको समाजवाद भन्न सक्छौ ।

यसरी हामीले यतिवेला अघि सार्ने समाजवादी कार्यक्रमले हिजोका सबै प्रकारका पँुजीवादी जनवादी कार्यक्रमहरूलाई विस्थापित गर्नेछ । समाजवादी क्रान्तिको लक्ष्यका रुपमा नयाँ समाजवादी कार्यक्रम स्थापित हुनेछ । त्यो समाजवादी कार्यक्रमले सिङ्गो समाजवादी क्रान्ति र रुपान्तरणको कालखण्ड भरि नै नेपाली जनता, क्रान्तिकारीहरू र राष्ट्रलाई मार्गदर्शन गर्नेछ । त्यो कार्यक्रम समाजवादी क्रान्तिको समग्र काल खण्ड भरि नै आम रुपमा अपरिवर्तनीय रहने छ । वस्तुगत र आत्मगत स्थितिमा आउने परिवर्तनहरूले त्यस कार्यक्रमका कतिपय विशिष्ठ पक्षहरूमा परिमार्जन हुन सक्ने छ । तर समाजवाद स्थापना गर्ने आधारभुत कार्यक्रम क्रान्तिको समग्र प्रकृया सम्पन्न नहुन्जेल सम्म परिवर्तन हुने छैन ।

त्यसैकारण नयाँ जनवादी क्रान्तिको कालखण्ड भरि जसरी जनवादी कार्यक्रम आम रुपमा अपरिवर्तनीय हुन्थ्यो, ठीक त्यसरी नै हाम्रो समाजवादी कार्यक्रम समाजवादी क्रान्तिको कालखण्ड भरि पनि यहि आम रुपमा यथावत रहने छ । त्यसैकारण यो समाजवादी कार्यक्रम समाजवादी क्रान्तिको रणनीतिक लक्ष्य पनि हो । यो क्रान्तिको लाल झण्डा जस्तै सिङ्गो क्रान्तिको कालखण्ड भरि आन्दोलनका साथ फहराई रहने छ । किनभने हामी क्रान्तिकारी प्रचार, संगठन र संघर्षका जे सुकै काम गरे पनि त्यसैलाई लक्ष्य बनाएर गर्नेछौ ।

(नेकपा (एकीकृत समाजवादी) को आगामी असार १६–२० मा हुने दसौँ महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको अंश)

प्रतिक्रिया