मौलापुरमा नागरिक आरोग्य सेवा केन्द्र उद्घाटन

मधेश ब्यूरो । रौतहटको मौलापुर नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको सेवा विस्तार भएको छ । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नाराका साथ स्थापना भएको नागरिक आरोग्य सेवा केन्द्रको मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साहले उद्घाटन गरिन् ।

मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रादेशिक आयुुर्वेद तथा वैकल्पिक चिकित्सालय रौतहटको आयोजनामा बुधवार सो केन्द्रको उद्घाटन गरिएको हो । यो सँगै अब रौतहटका ७ ठाउँमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको हो ।

मौलापुर नगरपालिकाको वडा नम्बर ५ को कार्यालय सँगै रहेको सुविधा सम्पन्न भवनमा आजदेखि पूर्ण रुपमा सो सेवा केन्द्र सञ्चालनमा आएको हो ।

हप्तामा ६ दिन सेवा दिने नागरिक आरोग्य सेवा केन्द्रले २ दिन घरदैलो कार्यक्रम गर्ने, २ दिन स्वास्थ्य परिक्षण गरि उपचार गर्ने र योगा अभ्यास गराउने जस्ता सेवाहरु दिने प्रादेशिक आयुुर्वेद तथा वैकल्पिक चिकित्सालय चन्द्रपुर रौतहटका कविराज निरिक्षक रुद्रनारायण महतोले जानकारी गराए ।

साथै ओपिडी सञ्चालनका लागि स्थानीय सरकारबाट सहयोग लिने बताए । महतोले भने, ‘आयुुर्वेदको दुुइ वटा लक्षय रहेको छ । पहिलो स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्ने, रोगी व्यक्तिलाई रोगबाट रक्षा गरि रोगबाट मुुक्ति दिलाउने यो लक्षयलाइ सेवा केन्द्रले पूर्ण रुपमा पालन गर्ने छ ।’ सेवा केन्द्रमा एउटा प्राविधिक र एक जना कार्यालय सहयोगी रहेर सेवा प्रदान गर्ने उनले बताए ।

उद्घाटन समारोहलाइ सम्बोधन गर्दै नगर प्रमुख रिना कुमारी साहले नगरमा स्वास्थ्य लाइ व्यवस्थित बनाउन सफल भएको बताइन् । आफूले जनतामाथि शासन होइन् सेवा दिने कार्यक्रमहरुलाई प्राथमिकता दिएर अगाडि बढिरहेको बताइन् ।

नगरभरि रहेको स्वास्थ्य संस्थाहरुको अलावा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भई सञ्चालनमा आउनु ठूलो उपलब्धी रहेको उनको भनाइ छ । उनले नगरभरिका नागरिकलाइ राम्रो सेवा प्रदान गर्न केन्द्रलाई आग्रह गरिन् । स्थानीय सरकारबाट हुन सक्ने सहयोग आफूले गर्ने प्रतिबद्धता जनाइन ।

त्यस्तै मौलापुुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले नगरपालिकामा आम जनतालाइ स्वास्थ्य सेवाका लागि ६ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेको जानकारी गराए । एउटा बर्थिङ्ग सेन्टर पनि सञ्चालनमा रहेको उनले बताए ।

उनले भने, ‘मौलापुरमा अब वैकल्पिक स्वास्थ्य संस्थाको रुपमा आजदेखि नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन भएको छ । जुन हाम्रो लागि अत्यन्तै उपयोगी सावित हुने छ ।’


शून्य कर रहेको मौलापुर नगरपालिकाले सेवा केन्द्र सञ्चालनका लागि आफनो भवन उपलब्ध गराएको उनको भनाइ थियो ।

वडा स्तरमा गएर सेवाहरु प्रदान गर्न साहको अनुरोध थियो । यो सेवा केन्द्र स्थापना भएपछि स्थानीय लाभान्वित हुनेमा आफू आशावादी रहेको बताए ।

कार्यक्रमको अध्यक्षता गरेका वडा ५ का वडाध्यक्ष चन्द्रशेखर साहले यो सेवा केन्द्र स्थापना भएपछि नागरिकहरु थप सहजता हुने बताए । मौलापुर नगरपालिका सधैं नयाँ नयाँ कामहरु गरेर उदाहरणीय बन्दै गएको उनले सुनाए । यसको देखासिकी अन्य स्थानीय सरकार र प्रदेश सरकारले पनि गरिरहेको दाबी गरे ।

नागरिक आरोग्य सेवा केन्द्रबाट निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, योग, पञ्चकर्म, औषधि वितरण लगायतका सेवा आगामी वर्षदेखि उपलव्ध गराइने कार्यक्रममा जानकारी गराइएको हो । नागरिक आरोग्य सेवा केन्द्र उद्घाटन समारोहमा आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साह लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया