कालिकोटमा ‘आईपीभी’ खोप लगाउनेको संख्या ७ हजारभन्दा बढी

कालिकोट । कालिकोटका ९ वटै स्थानीय तहमा ‘आईपीभी’ खोप लगाउनेको संख्या ७ हजार ३ सय ५० जना रहेका छन् । कालिकोटमा २०८१ साल जेठ १३ गतेदेखि १५ सम्म ६ वटा स्थानीय तहहरुमा आईपीभी खोप अभियान सञ्चालन हुँदै छ ।

पहिलो चरणमा ६ वटा स्थानीय तहका ५ वर्षदेखि ८ वर्ष उमेर समूहका ४ हजार ९ सय ५० जनाले सेवा लिने छन् । हाल खोप अभियान सञ्चालन हुने पालिकाहरुमा खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका, नरहरीनाथ गाउँपालिका ,पलाँता गाउँपालिका र पचालझरना गाउँपालिका हुन् ।

दोस्रो चरणमा २ हजार ४ सय ५० जनाले सेवा पाउने छन् । २०८१ जेठ १७ गतेदेखि १९ सम्म ३ वटा स्थानीय तह रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र शुभकालिका गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए ।
पालिकास्तरीय खोप समन्वय समितिको अभिमूूखीकरण कार्यक्रममा यो तथ्यांक आएको हो । खाँडाचक्र नगरपालिकामा पालिकास्तरीय खोप समन्वय समितिलाई अभिमूखिकरण दिइएको छ । आईपीभी खोप अभियान २०८१ सफल पार्नका लागि नगरपालिकास्तरीय खोप समन्वय समितिलाई अभिमूखिकरण गरिएको हो ।

खाँडाचक्र नगरपालिका आधाभूत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा दादुरा–रुबेला खोप अभियानको समीक्षा तथा आईपिीभी खोप अभियान २०८१ सम्बन्धीी पालिकास्तरीय खोप समन्वय समितिका पदाधिकारी, सञ्चारकर्मी, सरोकारवालाहरुका लागि अभिमूखिकरणको आयोजना गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले अभिमूखिकरणको उद्देश्यमाथि प्रष्ट पारेका छन् । दादुरा–रुबेला खोप अभियानको प्रगति विवरण, सकारात्मक पक्षहरु, भए–गरेका नविनतम प्रयासहरु, समस्या र चुनौतिहरु तथा समाधानका प्रयासहरु, सुधार गर्नुपर्ने पक्षहरुको विश्लेषणात्मक टिप्पणीसहित समीक्षा गर्ने अभिमूखिकरणको उद्देश्य रहेको बताए ।

आईपीभी खोप अभियानको औचित्य, सञ्चालन कार्यनीति, कार्य सञ्चालन प्रक्रिया, बजेटको व्यवस्था, पूर्वतयारीका क्रियाकलापहरु र जिल्लाको योजना तर्जुमाबारे जानकारी गराउने तथा पूर्ण खोप सुनिश्चितता, खोप महिना, खोज र खोप रणनीतिबारे सहभागिहरुलाई जानकारी दिने उद्देश्यले पालिकास्तरीय खोप समन्वय समितिलाई अभिमूखिकरण गरिएको महतले बताए ।

आईपीभी खोप आपूर्ति नभएको अवधिमा यो खोप लगाउन छुट भएका बालबालिकालाई एक मात्रा आईपीभी खोप दिएर बालबालिकामा पोलियो रोगविरुद्धको प्रतिरोध क्षमता कायम गर्नु अभियानको लक्ष्य रहेको खाँडाचक्र नगरपालिका स्वास्थ शाखाका क्षयरोगमुक्त अभियानका कार्यक्रम संयोजक पुष्पराज पाण्डेले बताए ।

खाँडाचक्रका नगरप्रमुख कमलबहादुर शाहीको अध्यक्षता, निमित्त प्रमुख प्रशासकीय अधिकृत अबिराज शाहीको विशेष आतिथ्यता तथा विभिन्न वडाका अध्यक्षहरुको आतिथ्यतामा कार्यक्रम भएको हो । स्वास्थ्य क्षेत्रको विकासका लागि नगरपालिका सधैँ लागिपरेको बताउँदै नगरप्रमुख शाहीले आगामी दिनमा स्वास्थ्य क्षेत्रका चुनौतीहरु समाधान गर्ने बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया