बुद्धको ज्ञान गंगालाई अहिले कसरी बुझ्ने ?

बुद्धको ज्ञानको सार अर्थात् मूल उपदेश ‘अप्प दीपो भव’ अर्थात् ‘आफैँ प्रकाश बन’ भन्ने नै हो । बुद्धका अनुसार वास्तवमा धर्म भनेको ज्ञान प्राप्ति, समानता प्राप्ति र मित्रता प्राप्ति हो । उनले दुःख छ, दुःखको कारण छ र त्यसको निवारण पनि छ भन्ने कुराको जुन ज्ञान दिएका छन्, त्यसैका लागि अष्टांगिक मार्ग प्रस्तुत गरेका छन्

लोकनारायण सुवेदी

बुद्धले जुन ज्ञानको गंगा बगाएका छन् त्यो कुनै एउटा देशका लागि मात्र नभएर विश्व मानव कल्याणका निम्ति थियो र हो । आजभन्दा २५६८ बर्ष पहिले अर्थात् इशा पूर्व ४५६ इस्वीमा नेपालको कपिलबस्तु जिल्लामा पर्ने शाक्य गणतन्त्रमा जन्मेका राजा शुद्धोधनका छोरा सिद्धार्थ गौतम आफ्नो ज्ञान, बिवेक र बुद्धिको बलले पछि सिद्धार्थ गौतमबुद्ध बने । विश्वमा समग्र सामाजिक हित, समानता र न्यायको निम्ति राज महलको सुखशयल, बिलाश र बैभवको त्याग गर्न अघि सरेका ती ऊर्जाशील यूवा महात्मा गौतम बुद्ध जस्ता राजकुमारहरु विश्व इतिहासमै नगन्य होलान् । त्यो पनि आजभन्दा दुइ हजार पाच सय छैसठ्ठी बर्षअघि ।त्यस्तै बिरलाकोटीका राजकुमार थिए सिद्धार्थ गौतम जसले २४ बर्षकोखाउँखाउँ–लाउँलाउँको यूवा उमेरमै त्याग, समर्पण र परिवर्तनको कठिन बाटो अबलम्बन गरे ।

रुढीवादी अन्धविश्वासमा जकडिंदै गएको र सन्दर्भहीन कर्मकाण्डको बिकृति र बिसंगतिमा फसेको कठमूल्लावादी कट्टर हिन्दूवादी समाजमा आमूल परिवर्तन ल्याउन उनले अथक र निरन्तर कोशिश गरे । त्यस क्रममा उनले त्यतिबेला प्रचलित मीठो भए पनि बुझन कठिन संस्कृत भाषालाई छोडेर सर्वसाधारणले बुझने पाली भाषा(जुन आज प्रायः लोप नै भइसकेको छ) मा आफ्ना बिचार र अवधारणाहरु प्रस्तुत गरे । उनले प्रस्तुत गरेका ग्रन्थहरुमध्ये त्रिपिटक सबैभन्दा ठूलो र महत्वपूर्ण ग्रन्थ मानिन्छ ।

सिध्दार्थ गौतमले आरम्भिक शिक्षा विश्वामित्रबाट पाएका थिए । उनले त्यतिबेला वेद, पुराण, उपनिषद्हरुको गम्भीर अध्ययन गरे । त्यस बाहेक उनले युद्धकलाको ज्ञान पनि लिए । तीर हान्ने, घोडा दौडाउने, कुस्ती खेल्ने जस्ता सीपहरु समेत त्यस बेला उनले सिके । हुन पनि त्यसबेला बुद्ध जत्तिको सिपालु रथ हाँक्ने अरु कोही थिएनन् भनिन्छ । यसरी राजकुमार हुर्कदै गएर १६ बर्षको भएपछि उनको विवाह शाक्य कन्या यशोधरासँग सम्पन्न गरिएको थियो । आफ्ना पिता शुद्धोधनले ऋतु अनुरुप निर्माण गरेको भव्य र वैभवशाली राजदरबारमा पत्नी यशोधरासँग जीवन गुजार्न थाले । उनलाई एक पुत्र पनि प्राप्त भयो, जसको राहुल नामाकरण गरियो । सिद्धार्थ गौतम २० बर्षका भएपछि तत्कालीन शाक्य संघको सदस्य समेत भए । यसरी संघको कार्यमा निकै रुचीपूर्वक समर्पित र दत्तचित भएर लागेका सिद्धार्थ गौतमले त्यो संघमा आठ बर्ष बिताए । संघमा उनको आचरण र व्यवहार सबैका लागि अत्यन्तै उदाहरणीय, अनुकरणीय र प्रिय बनेको थियो ।

गौतम बुद्ध २४ बर्ष पुगेका बखत शाक्य गणराज्य र छिमेकी कौलीय गणराज्यबीच सीमा नदी रोहिणीको पानी सिञ्चाइको निम्ति पहिला कसले र कति पानी उपयोग गर्ने भन्ने सन्दर्भमा निक्कै ठूलो तनाव उत्पन्न भयो । यस्ता विवादहरु बढ्दै गएर कतिपय समयमा लर्डाईकै रुप लिन्थे । अनि सम्वादद्वारा विवादहरु नमिले पछि युद्धबाट नै यस प्रकारका समस्याको हल गर्ने त्यतिबेला पनि प्रचलन थियो । त्यसैले शाक्य गणराज्यका सेनापतिले कोलीय गणतन्त्रका विरुद्ध युद्धको प्रस्ताव राखे । तर सिद्धार्थ गौतम यो प्रस्तावको बिरुद्ध थिए । उनले युद्ध कुनै पनि समस्याको समाधान होइन भन्ने कुरामा विश्वास राख्दथे र त्यसैमा दृढ थिए । उनले दुबै तर्फका मानिसहरु राखेर एउटा समिति बनाउने र त्यसले एक नेता चुनेर समस्या समाधान गरिनु पर्ने प्रस्ताव राखेका थिए । तर युद्धकै पक्षमा नै ठूलो बहुमतले प्रस्ताव पारित भयो । त्यस स्थितिमा सिद्धार्थ गौतमका सामु तीनवटा मात्र बिकल्प देखापरे –सेनामा भरना भएर युद्धमा भागलिने कि, आफ्ना परिवारका मानिसहरुको सामाजिक बहिष्कार तथा उनीहरुको खेत जफत हुने कुरामा सहमत हुने कि फासीमा चढ्न या देश निकाला स्वीकार गरेर हिड्न तयार हुने ? वास्तवमा यो गम्भीर र कठिन प्रश्न र बिकल्प थियो । बुद्धले सोचबिचार गरिकन तेश्रो बिकल्प चुने र परिब्राजक (घुमन्ते सन्त) बनेर देश छोड्न तयार भए । यसरी शान्तिको खोजीमा युद्धको विरुद्ध उनले दरबारको सुख शयलको त्याग गरेका थिए । हुन पनि उनी दूधमुखे छोरो र प्रिय पत्नी तथा दरबारको सुख शयलको जीवनलाई पनि चटक्कै छोडेर हिड्न तयार भएका थिए र हिडे ।

यस प्रकार कठिन निर्णय र अठोट लिएर राजकुमार सिद्धार्थ गौतम अब भिक्षु बनेर समाज चाहार्दै जीवन र जगतको यथार्थ वास्तविक कुरा बुझदै हिड्न थाले । उनले योग साधना पनि सिके । बिभिन्न किसिमका तपस्याको पनि प्रयोग गरे । अनि यसरी सबै कुरा गर्दै जाँदा उनले कुनै पनि प्राप्तिका लागि अतिबाद काम नलाग्ने र मध्यम मार्ग अपनाउनुपर्ने निष्कर्षमा पुगे । यथार्थ सत्यको बोध गर्न हिडेका गौतमबुद्धले वास्तवमा जुन महाज्ञान प्राप्त गरे त्यो नै अष्ठ मार्ग र पञ्चशीलको रुपमा आज बिख्यात छ । उनले १४ बर्षको ज्ञानको खोजीपछि ४० बर्षको उमेरमा आफुले पाएको ज्ञानलाई संस्कृत भाषाको साटो स्थानीय सरल पाली भाषामा प्रचार प्रसार गर्न थाले । त्यसको सोझो असर समाजमा पनि पर्न थाल्यो र उनको लोकप्रियता बढ्दै जान थाल्यो । उनको अनुभव र ज्ञान प्रचार गर्ने क्रममा सर्वप्रथम उनले सारनाथ(जसलाई त्यतिबेला काशीको मृगदाव भनिन्थ्यो) पुगे र पहिलो प्रचार त्यहीबाट आरम्भ गरे । यसरी आफ्नो ज्ञानको प्रचार गर्दै गर्दै ८० बर्षको उमेरमा उनको महापरिनिर्वाण (देहाबसान) जन्मेकै दिन भयो ।

बुद्धको ज्ञानको सार अर्थात् मूल उपदेश ‘अप्प दीपो भव’ अर्थात ‘आफै प्रकाश बन’ भन्ने नै हो । बुद्धका अनुसार वास्तवमा धर्म भनेको ज्ञान प्राप्ति, समानता प्राप्ति र मित्रता प्राप्ति हो । यसका लागि सम्यक ज्ञान, सम्यक बिचार, सम्यक दृष्टि, सम्यक आचरण, सम्यक कार्य आदि बताइएको छ । उनले दुःख छ, दुःखको कारण छ र त्यसको निवारण पनि छ भन्ने कुराको जुन ज्ञान दिएका छन् त्यसैका लागि अष्टांगिक मार्ग प्रस्तुत गरेका छन् । उनको पञ्चशीलको सिद्धान्त त आज विश्वका देशहरुका बीच सह–सम्बन्ध कायम गर्ने एउटा महत्वपूर्ण तत्व नै बनेको छ । बुद्ध अन्धविश्वास विरोधी, काटमार विरोधी र पशुबली बिरोधी थिए । बुद्धको ज्ञानमा जातपात, छुवाछुत र उचनिचको कुनै भेदभाव थिएन र छैन । बुद्धको यो महाज्ञानलाई उनका पिता राजा शुद्धोधन र पुत्र राहुलले पनि ग्रहण गरेका थिए । यद्यपि अरम्भमा बुद्ध महिलाहरुलाई बुद्ध संघमा लिने कुरामा सहमत थिएनन् । तर पछिबाट यो कुरा पनि उनले स्वीकारे । यद्यपि उनलाई यो कुरा (महिलालई संघमा लिने कुरा ) अत्यसम्म पनि त्यत्ति रुचीकर लागिरहेको थिएन भनिन्छ ।
यस प्रकार नेपालमा जन्मेका सिद्धार्थ गौतमबुद्धले विश्व कल्याण, मानवता र मानवीयताका लागि जुन ज्ञानको अमोघ योगदान दिए त्यसै कारणले उनलाई आज शान्तिको अग्रदूत र एशियाका प्रकाश (लाईट अफ एशिया) को रुपमा सारा विश्वभरी जानिन्छ र उच्च सम्मान गरिन्छ । तर बुद्धका सही उपदेशहरुलाई जसरी संकीर्णरुपमा खास सम्प्रदाय विशेषको धर्म जस्तो बनाएर प्रयुक्त गरिदै र सीमित तुल्याउन खोजिदैछ त्यसले बुद्धको विश्व मानवतालाई नेपालका महान सपुत गौतम बुद्धले दिएको योगदानलाई निक्कै सीमित तुल्याउने काम गरेको छ ।

अर्कोतिर बुद्ध जस्ता सर्वोत्कृष्ट मानवलाई भगवान बनाएर पूजा अर्चना गर्ने गतिबिधिले पनि समाजमा र सँस्कृतिमा उत्पन्न अन्धविश्वास बिरुद्धको उनको महत्वपूर्ण र दूरदर्शी भावनालाई पनि यसरी कुण्ठित पर्ने र उपेक्षा गर्ने काम भइरहेका छ । यो बुद्धको फराकिलो ज्ञान र समाज परिवर्तको दृष्टिका लागि अमान्य जहा पनि र जहिले पनि अमान्य र अस्वीकार्य कुरा हो । के कुरा चाँही उदेकलाग्दो छ भने हामीले अझै पनि बुद्ध नेपालकै महाज्ञानी सपूत हुन् भन्ने यथार्थलाई स्थापित गर्न सकिरहेका छैनौं ।

प्रतिक्रिया