गायक भरत परियारले ल्याए ‘विछोडको पीडा’

काठमाडौं । लोक तथा दोहोरी गायक भरत परियारले नयाँ ‘विछोडको पीडा’ नामक गीत र भिडियो ल्याएका छन् । गायक परियारले आफ्नै नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतमा उनलाई गायिका गायत्री राना मगरले आवाजमा साथ दिएकी छन् ।

राजु श्रेष्ठको शब्द रचना रहेको गीतमा संगीत गायक परियार आफैँले भरेका हुन् भने लक्षुप्रकाश मल्लको संगीत संयोजन रहेको छ । त्यसैगरी उक्त गीतको भिडियोमा नरेन्द्र बहादुर धामीको निर्देशन रहेको छ भने छायांकन सरोज शाहीले गरेका हुन् । त्यस्तै मोडलहरु विजय केसी, निरू मगर, देव कुमारी खड्गीलगायतले भिडियोमा अभिनय गरेका छन् ।

विगत डेढ दशकदेखि गायनकम क्रियाशील रहेका गायक परियारले यसअघि पनि धेरै गीतहरु बजारमा ल्याइसकेको बताए । विगतका गीतमा भन्दा यस गीतमा फरकपन दिने प्रयास गरिएको उनले सुनाए । हरेक प्रेम जोडीमा विछोडका पीडा र भोग्नुपरेका कथाका शब्द यस गीतमा समावेश गरिएको गायक परियारले बताए ।

सल्यानको दमाचौरमा जन्मिएका गायक परियार लोकगीत, क्रान्तिकारी गीत, आधुनिक गीत जस्ता सबै विद्याका गीत गाउन क्षेमता राख्नेमा पर्ने उनका निकट कलाकार बताउँछन् । गायक परियारले हालसम्म आफूले गाएका गीतहरू भाइरलको रुपमा परिणत नभइ मौलिकतामा आधारित रहेको बताए ।

आफूले पछिल्लो यस ‘विछोडको पीडा’ लगायत यसअघि ‘आकाशैमा जुन र तारा,’ ‘राप्ती कर्णाली,’ ‘साइला,’ ‘दशा’, ‘वैदेशिक पीडा’ जस्ता गीतसँगै ‘हिँड्नै पर्छ,’ ‘नयाँ सोच,’ नयाँ जाँगर जस्ता गीतमा आवाज दिइसकेको गायक भरतले जानकारी दिए ।

गायक परियारले भाइरलको पछि पर्नु भनेको मौलिक लोक संस्कारलाई दुर्गन्धमा धकेल्नु सरह भएको बताए । उनले भने, ‘वास्तविक मौलिक गीतहरुले युट्युबमा भ्युज पाउँदैन, जुन गीत मौलिकताको लयमा रहेको हुँदैन त्यही गीत र भिडियोले धेरै भ्युज बटुलेको हुन्छ ।’ मौलिकतातर्फ सबैले ध्यान दिनुपर्ने गायक परियारको राय छ ।

प्रतिक्रिया