नेपाली समाज : चरित्र र अन्तरविरोध

समाजवाद पुँजीवादको ठाउँमा स्थापित हुने नयाँ व्यवस्था हो । निजी पुँजीमा आधारित समाजको सिङ्गो व्यवस्थालाई विस्थापित गरेर निर्माण गरिने आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक व्यवस्था हो । नयाँ र सिङ्गो व्यवस्थाका रूपमा त्यो समस्त मानवजातिको व्यवस्था हो । नेपालको समाजवाद पनि त्यही विश्व व्यवस्थाको एउटा अङ्गका रूपमा निर्माण हुँदै जानेछ । भिन्नभिन्न मुलुकको वस्तुगत अवस्थाअनुसार समाजवादको निर्माण भिन्नभिन्न रूपमा र विभिन्न चरण हुँदै निर्माण हुनेछ । समाजवाद निर्माणको आजको चरणमा हामीले दलाल पुँजीवादलाई अन्त्य गर्नुपर्नेछ ।

घनश्याम भुसाल

बाध्यात्मक श्रम सम्बन्ध उन्मुलन भैसकेको र त्यसका ठाउँमा आफ्नो श्रम बेच्न वा नबेच्न पाउने श्रम सम्बन्ध स्थापित भैसकेको, भूमिमा दैवि सिद्धान्तमा आधारित सामन्ती स्वामित्व उन्मुुलन भैसकेको र दशकौँ देखि जमिनको स्वतन्त्रपूर्वक किन–बेच भैरहेको, जमिनदार भएकै आधारमा वा कुनै कूल वा वंशको भएकै आधारमा राजनीतिक तथा सामाजिक विशेषाधिकारहरुको प्रयोग गर्ने व्यवस्था उन्मुलन भैसकेको, ज्याला र नाफा नै सबै जनसङ्ख्याको आय श्रोत भएको, जनताले निर्वाचन गरेर राज्य व्यवस्था सञ्चालन हुने व्यवस्था स्थापित भैसकेको, अझ कम्युनिष्ट पार्टीले आफ्ना प्रतिनिधि राज्यसत्तामा पठाउन थालेकै तीस वर्षभन्दा बढी भैसकेको, समग्रतामा पुरानो सामन्ती अर्थतन्त्र र सँगसँगै राजनीतिसमेत उन्मुलन भैसकेको, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको र संविधानले व्यक्ति र समुदायका अधिकारहरु स्थापित गर्दै राज्यको चरित्र समाजवादउन्मुख भनेर निर्दिष्ट गरिसकेको लगायतका तथ्यहरुले हाम्रो समाज पुँजीवादी हो भन्ने निष्कर्ष निशन्देहरूपमा स्थापित गरेका छन् ।

उत्पादक पुँजी त्यस्तो लगानी हो जसले श्रमलाई उद्यममा ल्याउँछ र मूल्य सिर्जना गर्छ । उत्पादनको यस प्रक्रियामा पुँजीपतिको नाफा (पुँजी) बढ्छ, त्यसले उत्पादनका नयाँ साधन र नयाँ श्रममा लगानी बढाउँछ । बढेको उत्पादनका साधन र श्रमले फेरि अझ ठूलो मात्रामा पुँजी बढाउँछन् । यसरी पुँजी बढने क्रममा उत्पादनका साधन र श्रममा बृद्धि हुँदैजाने पुँजीको चरित्र उत्पादक वा औद्योगिक पुुँजी हो । पुँजी विकासको यस प्रक्रियामा पछौटे गुजारामुखी कृषि श्रम पनि उद्यममा आउँन थाल्छ, अर्थात् रोजगारी सिर्जना हुन्छ र श्रमिकको जीवनका नयाँ आर्थिक, सामाजिक–साँस्कृतिक तथा राजनीतिक क्षेत्रहरु खुल्दै जान्छन् । सङ्क्षेपमा, हिजोको पछौटे गुजारामुखी कृषिमा टिकेको पुरानो समाजको ठाउँमा नयाँ उद्यमशील तथा सिर्जनशील समाजको विकासका लागि ढोकाहरु खुल्दै जान्छन् । इतिहासमा पुुँजीवादले खेल्ने प्रगतिशील भूमिका यहि हो ।

त्यसका विपरित पुँजी निर्माणको अर्को प्रक्रिया छ जसमा पुँजी/नाफामा बृद्धि हुँदै जान्छ तर उत्पादनका साधन र श्रममा बृद्धि हुँदैन । अर्थात् त्यस्तो पुँजीले पछौटे गुजारामुखी कृषि श्रमलाई उद्यममा ल्याउँदैन, उत्पादनका साधनमा बृद्धि गर्दैन । यस्तो पुँजीको विकासले एकातिर पछौटे श्रमलाई कृषिमा टिक्न पनि दिँदैन । किनकि बजारको विस्तारले गरिब किसानलाई कृषिमा टिक्नै नसक्ने बनाउँछ भने अर्कोतिर त्यस्तो पुँजीले नयाँ उद्योग नखोल्ने भएकोले कृषिबाट उखेलिएको त्यस श्रमशक्तिलाई उद्यममा पनि आउन दिँदैन । वर्षभरी काम गरेर मुश्किलले खानमात्रै पुग्ने वा खानसमेत नपुग्ने जनसङ्ख्या बेरोजगारी, अर्ध बेरोजगारीको चपेटामा पर्दैजान्छ । पुुँजीको यो चरित्र अनुत्पादक वा दलाल हो । अर्थतन्त्रमा कृषिको योगदान घट्नु तर उद्योगको योगदान नबढ्नु, निर्यात घट्दै जानु र आयात बढ्दै जानु अर्थात् व्यापार घाटा बढ्नु, रोजगारी नबढ्नु बरु बैदेशिक रोजगारीका लागि युवा श्रमको पलायन भैरहनुजस्ता प्रवृत्तिले हाम्रो अर्थतन्त्रमा अनुत्पादक वा दलाल पुँजीको वर्चस्व रहेको कुरा स्पष्ट पार्छन् । पुँजीको यस्तो चरित्रले राजनीति, न्याय प्रशासनलगायत सबै क्षेत्रमा प्रभाव जमाउँदै जाँदा समग्र समाजमाथि दलाल पुँजीको नियन्त्रण कायम हुन पुगेको छ ।

अनुत्पादक तथा दलाल पुँजीवाद विश्वव्यापि वित्तिय पुँजीवादकै अङ्ग हो, चरित्र हो । राज्यका ओहोदामा बसेर भ्रष्टाचारबाट आर्जन गर्ने वा राज्य दोहन गरेर आर्जन गर्ने धनलाई नोकरशाही पुँजी भनिन्छ । मिटरव्याजलगायतका तरिकाबाट गरिने आर्जन सूदखोरीकै रूपहरु हुन् । कुतखोरीको चरित्र पनि अनुत्पादक नै हुन्छ । पुँजीको त्यहि अनुत्पादक तथा दलाल चरित्रले नै नेपालमा साम्राज्यवाद, एकाधिकार पुँजीवाद, वित्तिय पुँजीवाद, पराश्रयी पुँजीवादको पनि प्रतिनिधित्व गर्छ । नेपालको समृद्धि र समाजवाद निर्माण गर्ने बाटोमा आजको मुख्य तगारो बनेको हुँदा दलाल पुँजीवादसँग श्रमजीवी र अरु जनवर्गको अन्तरविरोध मुख्य अन्तरविरोध हो । त्यसैले त्यस अन्तरविरोधको समाधान गर्ने तात्कालिक कार्यभारमा आधारित भएर समाजवाद निर्माणको लक्ष्य बोक्न सक्ने पार्टी सङ्गठनको निर्माण आजको सबैभन्दा महत्वपूर्ण कार्यभार हो ।

दलाल पुँजीवादसँग जुध्नु भनेको दलाल पुँजीवादलाई संरक्षण गर्ने राजनीतिक, सामाजिक—साँस्कृतिक तथा बौद्धिक प्रवृत्तिसँग जुध्नु हो । मूलतः दलाल पुँजीवादलाई प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका नीतिहरुका विरुद्ध जनतालाई गोलबन्द गर्नु हो । हाम्रोजस्ता समाजमा त्यसको थोरै वा धेरै प्रभाव सबै पार्टीहरुमा हुन्छ । स्वयं कम्युनिष्ट पार्टीमा पनि कुनै न कुनै रूपमा दलाल पुँजीका प्रसस्त प्रभाव हुन्छन् । दलाल पुँजीले राजनीतिमा दलालीलाई सघाउँछ, राजनीतिको दलालीले आर्थिक क्षेत्रको दलालीलाई संरक्षण गर्छ । विश्वव्यापी वित्तिय पुँजीवादलाई वा आजको नवउदारवादी प्रणालीलाई सिद्धान्त र कार्यक्रमका रूपमा स्वीकार गर्ने पार्टीहरु यो या त्यो रूपमा, सानो वा ठूलो शक्तिका साथ दलाल पुँजीवादकै सेवा गरिरहेका हुन्छन् । दलाल पुँजीवादको राजनीतिक तहमा विरोध
गर्नु भनेको ती पार्टीका विरुद्ध आम जनसमुदायलाई गोलबन्द गर्दै राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्दै अगाडि बढ्नु हो ।

वर्तमान कार्यदिशा

जनवादी क्रान्ति सम्पन्न भैसकेको हुँदा अबको हाम्रो लक्ष्य समाजवाद हो । समाजवादको निर्माण उत्पादक÷औद्योगिक पुँजीको पर्याप्त विकास भएपछि त्यसका जगमा सम्भव हुन्छ । विगत एक सय वर्षको समाजवाद निर्माणका अनुभवले पनि के बताउँछन् भने पुँजीवादबाट समाजवादमा संक्रमणको लागि लामो समय आवश्यक पर्छ । यस प्रक्रियामा अनेकौँ चरण भएर गुज्रिनु पर्ने अवस्था आउँछ । दलाल पुँजीको वर्चस्व भएको हाम्रो मुलुक राष्ट्रिय पुँजीको निर्माणको चरणबाट गुज्रिनै पर्छ जसले दलाल पुँजीवादसँग श्रमजीवी वर्गको अन्तरविरोधको समाधान गर्छ । त्यसैले आज जनताले प्राप्त गरका लोकतान्त्रिक–गणतान्त्रिक अधिकारहरुलाई राजनीतिक तहमा मात्र सीमित हुन नदिई ती अधिकारहरुलाई सामाजिक–आर्थिक क्षेत्रमा विकास गर्दै दलाल पुँजीवादलाई साँघुर्याउँदै र त्यसलाई राष्ट्रिय पुँजीमा रूपान्तरण गर्दै, सामाजिक न्यायको दायरालाई अझ बढाउँदै, समाजवादको आधार तयार गर्दै अगाडि बढ्नु नेपाली क्रान्तिको तात्कालिक कार्यदिशा हो । यस विशेषतालाई ध्यान दिएर हाम्रो कार्यक्रम र साङ्गठानिक दिशा निर्धारण गर्नु पर्छ ।

समाजवाद पुँजीवादको ठाउँमा स्थापित हुने नयाँ व्यवस्था हो । नीजी पुँजीमा आधारित समाजको सिङ्गो व्यवस्थालाई विस्थापित गरेर निर्माण गरिने आर्थिक, राजनीतिक, सामाजिक तथा साँस्कृतिक व्यवस्था हो । नयाँ र सिङ्गो व्यवस्थाका रूपमा त्यो समस्त मानवजातीको व्यवस्था हो । नेपालको समाजवाद पनि त्यहि विश्व व्यवस्थाको एउटा अङ्गका रूपमा निर्माण हुँदै जानेछ । भिन्न भिन्न मुलुकको वस्तुगत अवस्थाअनुसार समाजवादको निर्माण भिन्नभिन्न रूपमा र विभिन्न चरण हुँदै निर्माण हुनेछ । समाजवाद निर्माणको आजको चरणमा हामीले दलाल पुँजीवादलाई अन्त्य गर्नु पर्नेछ । अर्थात् यस चरणमा हाम्रो मुख्य कार्यभार अर्थात् कार्यक्रमले दलाल पुँजीवादसँग नेपाली श्रमजीवी तथा अन्य जनवर्गको अन्तरविरोधलाई समाधान गर्नेछ । त्यसका लागि तात्कालिक कार्यक्रमका मुख्य

विशेषता निम्नानसार हुनेछन् :

– नेपाली समाजको चरित्र पुँजीवादी भएको र त्यसको मुख्य चरित्र पराश्रयी तथा दलाल भएकोले आजका हाम्रा अर्थराजनीतिक, भूराजनीतिक र राजनीतिक अन्तरविरोधहरु समाधान गर्न सकेको छैन । त्यसैले आजको क्रान्तिकारी कार्यक्रमले दलाल पुँजीवादी अर्थतन्त्र ठाउँमा राष्ट्रिय पुँजीको वर्चस्व भएको अर्थतन्त्र निर्माण गर्नु हो ।

-राष्ट्रिय पुँजीको विकास भनेको हाम्रो श्रमशक्तिलाई उद्यममा ल्याउनु हो । भूमिहीन वा भएकै भूमिले पनि जीवन धान्न नसकेको, लामो समय श्रम गरेर पनि जीवनका सामान्य आवश्यकताहरु पूरा गर्न नसकेको, कृषि क्षेत्रमा ज्यादादारी काम गर्ने, असङ्गठित क्षेत्रका श्रमिक, घरधन्दामा टाक्सीएका महिलाहरु सबैलाई उद्यममा ल्याउनु र उनीहरुलाई न्यूनतम ज्यालाको संरचनामा ल्याउनु हो । यो जनङ्ख्या श्रमिक त हुँदै हो तर सङ्गठित क्षेत्रका श्रमिकभन्दा यिनको जीवनको अवस्था असाध्यै दयनीय छ । त्यसैले यो सीमान्त श्रमिक वर्गलाई सीमान्तीकृत अवस्थाबाट मुक्त गर्नु अर्थात् यो जनङ्ख्यालाई जीविका, शिक्षा, स्वास्थ्यमा पहुँचको ग्यारेन्टी गर्नु क्रान्तिकारी रूपान्तरणको सबैभन्दा महत्वपूर्ण खुट्किलो हो ।

-आफ्नो जनसङ्ख्यालाई रोजगारी दिनु भनेको कुनै पनि मुलुकको विकास वा समृद्धिको इतिहासमा असाध्यै ठूलो उपलब्धी हो । दलाल पुँजीको वर्चस्व समाप्त भएर राष्ट्रिय पुँजीको विकास हुँदा अहिलेको सीमान्त श्रमजीवी वर्ग श्रमजीवी वर्गका रूपमा सङ्गठित हुनेछ ।

-अहिलेको गरिबी आधारभूत रूपमा उन्मूलन भइसकेको हुनेछ । गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबै नागरिकको पहुँच सुनिश्चित हुनेछ, दलित, महिला र पछि परेका वा पिछडिएको क्षेत्रका जनतामाथि भएको परम्परागत विभेदको आधारसमेत उन्मुलन भईसकेको हुनेछ र राष्ट्रिय एकताको अझ सुदृढ आधार तयार हुनेछ । सीमान्त श्रमिकहरु सम्मानजनक जीवन बाँच्न सक्ने अवस्थामा आउँदा अहिलेको मध्यम वर्गको एउटा हिस्सा पुँजीपति वर्गमा रूपान्तरित भइसकेको हुनेछ ।

-पुँजीको विकासले नै समाजवादको ग्यारण्टी गर्दैन तर उत्पादक पुँजीको विकास विना समाजवाद नआउने कुराको भने ग्यारण्टी छ । त्यसैले हाम्रो क्रान्तिमा राष्ट्रिय पुँजी निर्माणको बाटो र समाजवादी ध्येयमा अन्तरविरोध छैन । तर सोभियत समाजवादी मोडेलको असफलता, चिनियाँ समाजवादी निर्माण र विभिन्न मुलुकका समाजवादी आन्दोलन, नेपाली जनआन्दोलन तथा क्रान्तिहरुको इतिहास, नेपाली समाजको विकासको स्तर, यसका विविधता र भूअर्थराजनीतिक जटीलता आदिले गर्दा नेपालमा समाजवादको स्थापना गर्ने काम दीर्घकालीन कार्यभार हो भन्ने तथ्यमा ध्यान दिनु पर्छ । यसर्थ आजको क्रान्तिकारी पार्टीले एकातिर समाजवादी ध्येयलाई अगाडि राखेर पराश्रयी तथा दलाल पुँजीवादको स्थानमा राष्ट्रिय पुँजीको निर्माण गर्दै समृद्ध र न्यायपूर्ण समाजको तात्कालिक कार्यक्रम भएको पार्टी हो ।

-पुँजी निर्माण गर्ने अर्थतन्त्रले पुँजीपति नै जन्माउँछ । तर ग्रामीण तथा शहरी सीमान्त श्रमजीवीको अनिश्चित जीवन बाँचिरहेको र दिनदिनै पलायन भईरहेको श्रमलाई रोजगारी दिने, न्यूनतम तलब र श्रमको अवस्थाको ग्यारण्टी गर्ने र उनीहरुलाई संगठित श्रमजीवी वर्गको रूपमा अगाडि ल्याउने माध्यमका रूपमा अवलम्बन गरिने कार्यक्रम आजको अवस्थामा क्रान्तिकारी कार्यक्रम नै हो । कुनै कारखानामा काम गरिरहेको श्रमजीवी र उसको श्रमबाट नाफा कमाएको पुँजीपतिको सम्बन्धलाई मात्रै हेर्दा त्यो सम्बन्ध प्रतिक्रियावादी देखिन्छ तर त्यस्तो पुँजीले अरु हजारौँ बेरोजगारहरुलाई रोजगारी दिएर ग्रामीण कृषिको एकलकाँटे, अनिश्चित र जडतापूर्ण जीवनको अँध्यारोबाट निकाल्न योगदान गर्छ र राज्यलाई कर तिरेर सामाजिक लगानीका लागि सम्भव बनाउँछ भने वर्तमान अवस्थामा त्यस्तो पुँजीको चरित्र राष्ट्रिय हुन्छ, प्रगतिशील हुन्छ ।

-नेपाली समाजको विकासको अवस्थाले गर्दा छरिएको र सानो मात्राको पुँजी हाम्रो यथार्थ हो । साथसाथै, सहकारीतामार्फत पुँजी व्यवस्थापन गर्नका लागि अवसर पनि हो । सहकारी एक हिसाबले श्रमजीवी र अर्को हिसाबले मालिकको संस्था हो । अर्थात् स्वामित्वले सहकारीका सदस्य मालिक हुन् भन्ने बताउँछ भने त्यसमा काम पनि गर्ने हुनाले उनीहरु श्रमिक पनि हुन् भन्ने बताउँछ ।समान लगानी र हैसियतले सहकारी समानतामा आधारित हुन्छ । त्यसले समाजवादी भविष्यलाई अहिलेदेखि नै पच्छ्याउँछ । यसलाई उत्पादन र वितरणमासमेत विस्तार गर्दै लैजानु पर्छ । उत्पादनका क्षेत्रमा सहकारीलाई विस्तार गर्दै प्रोत्साहित गर्दै सहकारी अर्थतन्त्रको विकास गर्नु पर्छ ।

– यस कार्यक्रम अन्तरगत उत्पादनशील पुँजी लगानीमा राजकीय/सार्वजनिक, सहकारी र नीजी क्षेत्रको प्रतिस्पर्धालाई प्रोत्साहित गरिनेछ । संघीय सरकार मुलुकका ठूला पूर्वाधारका योजना र सार्वजनिक शिक्षा र स्वास्थ्यका लागि जिम्मेवार हुनेछ । राष्ट्रिय वा अन्तरप्रादेशिक सडक, ठूला जलविद्युत, पर्यटनका राष्ट्रिय पूर्वाधार, सिचाई तथा कृषि विकास लगायतका योजना यस अन्तर्गत पर्दछन् । त्यस्तै प्रादेशिक तथा स्थानीय तहमा पनि सार्वजनिक लगानीका क्षेत्रहरु– शिक्षा, स्वास्थ्य, स्थानीय पूर्वाधार, आवास, साना जलविद्युत, पर्यटन, वन, सिँचाई आदि क्षेत्रको योजना कार्यान्वय गर्न जिम्मेवार हुनेछन् ।

-चीन र भारत आर्थिक विकासको बाटोमा अगाडि बढी सकेको हुनाले र हाम्रो आफ्नै आन्तरिक बजार तुलनात्मकरूपले सानो भएकोले द्रुत आर्थिक विकासका लागि हामीले तुलनात्मक लाभका वस्तु र सेवाको हाम्रो उत्पादनलाई अन्तरराष्ट्रिय बजार सुनिश्चित गर्नै पर्छ । हाम्रो उत्पादक शक्तिको विकासका लागि सहयोगी हुने विदेशी लगानीका लागि पनि आवश्यक वातावरण बनाइने छ ।

-सबै नागरिकले कर तिर्ने विस्तारित र प्रगतिशील कर प्रणाली लागू गरिने छ । ‘जसले कमाउँछ उसले कर तिर्छ’ भन्ने नीति अन्तरगत सबै नागरिकलाई करको दायरामा ल्याउँदा राज्यका सुविधाहरुमा प्रत्यक्ष दावि गर्ने नागरिकको अधिकार अझ विस्तार हुन्छ । यसले सार्वजनिक आयको अनुपातलाई बढाउँछ, राष्ट्रको आर्थिक जीवन केहि ठूला पुँजीपतिहरुको मात्रै होइन बरु सबै नागरिकको सरोकारको विषय हो भन्ने मान्यता स्थापित हुन्छ ।

-यो काम गरिसक्दा पुँजी निर्माणको विस्तारित प्रक्रिया अगाडि बढ्नेछ, किनकि अहिलेको बेरोजगारी र गुजारा खेतीले अवरुद्ध पारेको श्रमशक्ति उत्पादनमा लाग्नेछ । राज्यका नीतिहरूमा क्रान्तिकारी परिवर्तन गरेर÷राज्यको मुख्य योजना र राष्ट्रिय अभियानको ध्येयका रूपमा स्थापित गरेर यो लक्ष्य हासील गरिने छ । सीमान्त श्रमजीवी वर्गलाई वर्तमान अवस्थाबाट मुक्त गर्ने कार्यक्रम लागु हुँदा भूमिको उपयोग र स्वामित्वमा परिवर्तन गर्नु पर्ने हुनेछ । सहकारी अर्थतन्त्रको बलियो आधार र कामको अधिकार सुरक्षित हुँदा भूमिको सार्वजनिक स्वामित्वको पनि आधार तयार हुँदै जानेछ । सार्वजनिक सम्पत्तिको व्यापक वृद्धि, प्रभावकारी सहकारी अर्थतन्त्रको स्थापना, आधारभूत शिक्षा र स्वास्थ्यमा राज्यको ग्यारेन्टीजस्ता महत्वपूर्ण समाजवादी आधारहरू तयार हुनेछन् । नेपालको पराश्रयी विकासले उत्पन्न गरेका समस्याहरु समाधान हुनेछन् । भारत र अन्य मुलुकसँगको सम्बन्ध समानतामा आधारित हुनेछ ।

-जनताको शक्तिलाई राजनीतिक तथा सामाजिक मुद्दाहरुका आधारमा व्यापक रूपमा सङ्गठित गर्नु, त्यसैका आधारमा जनप्रतिनिधिहरू निर्वाचित गर्नु, विद्यमान राज्यलाई त्यो लक्ष्यअनुकूल नीतिहरू बनाउन दबाव सिर्जना गर्दै जानु र जनप्रतिनिधि संस्थाहरुमा समाजवादी वर्चस्वको दायरा बढाउँदै सरकारलाई राष्ट्रिय पुँजीको विकासको पक्षमा ल्याउनु आजको मुख्य राजनीतिक र साङ्गठानिक अभिभारा हो । त्यसले जनताको राजनीतिक र साङ्गठानिक शक्तिलाई अझ बलियो बनाउँछ । त्यो बलियो जगमा बढीभन्दा बढी जनतालाई सङ्गठित गर्दै जनप्रतिनिधि सभा र सरकारमार्फत– सामाजिक रूपान्तरणको कार्यक्रम पूरा गर्न अगाडि बढ्नु आजको हाम्रो बाटो हो ।

-हाम्रो कार्यक्रम नीजी पुँजीको स्वच्छन्द विकासमा आधारित कार्यक्रम होइन बरु सार्वजनिक, सहकारी र नीजी पुँजीको सन्तुलित र योजनाबद्ध विकास गर्ने हुँदा नीजी पुँजी पनि राष्ट्रिय चरित्रको हुन्छ । क्रान्तिकारी पार्टी र समाजमा उसको वर्चस्वले श्रम र पुँजीको अन्तरविरोधमा मध्यस्थता गर्छ र त्यो अन्तरविरोध शत्रुतापूर्ण बन्न दिँदैन । यसरी समाजवादको बलियो आधार तयार हुनेछ ।

-यो कार्यक्रम उदारवादी÷नवउदारवादी तथा दलाल पुँजीवादी राजनीतिक शक्तिले पूरा गर्न सक्दैन । यो कार्यक्रम लागू गर्ने राजनीतिक तथा साङ्गठानिक शक्ति कम्युनिष्ट पार्टी मात्रै हुन सक्छ । त्यस्तो राजनीतिक तथा साङ्गठानिक शक्तिले समाजवादको अर्को चरणतर्फ समाजवादलाई डोर्याउन सक्छ ।

-यस क्रममा लोकतान्त्रिक अधिकारहरुलाई विस्तार गर्दै, आवश्यकताअनुसार संविधान तथा कानूनहरुमा संशोधन गर्दै र समाजवादी राजनीतिक तथा संवैधानिक संरचनाहरु निर्माण गर्दै, सबै जात–जाति र क्षेत्रका नागरिकहरुलाई राज्यको मूल प्रवाहमा ल्याउँदै अगाडि बढिने छ । यो काम तात्कालिकरूपमा सामाजिक न्यायका लागि आवश्यक मात्रै होइन समाजवादको आधार तयार गर्नका लागि अनिवार्य शर्त हो । त्यसपछि हाम्रो कार्यक्रम बहुसङ्ख्यक श्रमजीवी वर्गको भौतिक तथा सांस्कृतिक सम्पन्नताका लागि आवश्यक राष्ट्रिय योजनाहरू पूरा गर्ने समाजवाद निर्माणको अर्को चरणमा प्रवेश गर्नेछ ।

हाम्रा ऐतिहासिक अनुभवहरु

माक्र्सवाद—लेनिनवादको प्रयोग गर्ने सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलनले नेपाली समाज र राजनीतिलाई महत्वपूर्ण हिसाबले प्रभावित पारेको छ । त्यस क्रममा २००६ सालमा कमरेड पुष्पलालको अगुवाईमा कम्युनिष्ट पार्टी स्थापित भयो । त्यसले नेपाललाई समाजवादतर्फ लैजानका लागि तात्कालिन सामन्ती व्यवस्थालाई अन्त्य गर्न नयाँ जनवादी क्रान्तिको अनिवार्यतालाई स्थापित गर्यो । त्यो क्रान्ति सम्पन्न हुन करिब ५६ वर्ष लाग्यो । २००६ सालदेखि २०६२/६३ सम्मको जनवादी क्रान्तिको अवधिमा कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले अनेकौँ प्रयासहरु गरे । त्यसका जगमा कम्युनिष्ट आन्दोलनले कैयौँ महत्वपूर्ण अनुभवहरु हासील गरेको छ ।

यी अनुभव र योगदानको यथेष्ट विवेचना हुन बाँकि नै छ तापनि सैद्धान्तिक हिसाबले ती अनुभवलाई यस प्रकार सूत्रबद्ध गर्न सकिन्छ :

१. नयाँ जनवादी सिद्धान्तले कम्युनिष्ट पार्टीलाई नेपालको श्रमजीवी वर्गमा स्थापित गर्यो । समाजमा हेपिएका मजदुर, किसान, सुकुम्बासीलगायत वर्ग र समुदायलाई सामन्ती शोषण—दमनका विरुद्ध राजनीतिक आन्दोलनमा ल्यायो ।उनीहरुलाई सङ्गठित आन्दोलनमा उतार्यो । त्यसले नेपाली राजनीति र साहित्य तथा सँस्कृतिमासमेत ठूलो क्रान्तिकारी परिवर्तन गर्यो । इतिहासको चालकशक्ति र निर्माता श्रमजीवी वर्ग हो भन्ने तथ्यलाई समाजमा स्थापित गर्ने, राजतन्त्रको ठाउँमा श्रमजीवी जनताको गणतन्त्रको चेतना फैलाउने काम राजनीतिक तथा बौद्धिक हिसाबले ऐतिहासिक महत्वको काम थियो । नेपालको संविधानमा ‘समाजवादउन्मुख’ भन्ने अवधारणा नेपालको वर्गीय आन्दोलनकै योगदान हो । त्यस्तै, नेपालको राष्ट्रिय स्वाधिनता तथा स्वतन्त्रताकोरक्षागर्न कम्युनिष्ट आन्दोलनले खेलेको भूमिका उत्तिकै महत्वको विषय हो ।

२.जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीलाई प्रचलित लोकतान्त्रिक मूल्यहरुसँग सघनरूपले परिचित गरायो । लोकतान्त्रिक आन्दोलनमा कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको महत्वलाई समाजमा स्थापित गर्ने र कम्युनिष्ट पार्टीको सामाजिक दायरालाई विस्तार गर्ने अवसर दियो । खासगरी २०४७ सालको संविधानपछि कम्युनिष्ट पार्टीले अरु बुर्जुवा पार्टीहरुसँग प्रतिस्पर्धामा खडा भएर चुनौति दिन राजनीतिक बाटो खोल्यो । र, विश्वव्यापीरूपमा कम्युनिष्ट आन्दोलनले व्यहोरिरहेको कठीन अवस्थामा नेपालमा कम्युनिष्ट पार्टीलाई प्रभावकारी हैसियतका साथ उभिने परिस्थितिको निर्माण गर्न ठूलो भूमिका खेल्यो।

३. जनयुद्धले कम्युनिष्ट पार्टीलाई नेपाली समाजका जातीय, लैङ्गिक, क्षेत्रीय विविधता र विभेदसँग बढि परिचित गरायो र भत्किरहेको पुरानो सामन्ती सामजिक—साँस्कृतिक बनोटमा जबर्जस्त धक्का दियो । त्यसलेसामाजिक मुद्दाहरुलाई नेपाली राजनीतिको अग्रभागमा ल्याइदियो र सामाजिक—साँस्कृतिक विभेदका विरुद्ध महिला, दलित, जनजाती, मधेशी, अल्पसङ्ख्यहरुलाई सङ्गठित गर्यो ।गणतन्त्रको मुद्दालाई बौद्धिक विमर्श र राजनीतिक प्रचारको तहबाट आन्दोलनको क्रियात्मक नाराको तहमा ल्यायो ।

४. उपरोक्त अनुभवहरु र उपलब्धीहरुका आधारमाहामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका साथैजनवादी क्रान्ति सम्पन्न गर्यौँ ।हाम्रा अनुभव र अध्ययनका आधारमा हामी नेपाली समाज र राजनीतिको अबको दिशा समाजवादी हो भन्ने निष्कर्षमा पुगेका छौँ । यो निष्कर्ष नेपालका सबैजसो कम्युनिष्ट तथा माक्र्सवादीहरुको साझा विचार बनेको छ ।समाजवाद निर्माणको कार्यक्रम र सङ्गठननिर्माणका ठोस प्रस्तावले आजका राजनीतिक तथा सामाजिक जटिलताहरुलाई चिर्दै अगाडि बढ्नका लागि हामीलाई बाटो देखाउने छ । र, नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरणगर्ने सैद्धान्तिक, कार्यक्रमिक र साङ्गठानिकआधार तयार हुनेछ ।

(नेकपा (एकीकृत समाजवादी) को आगामी असार १६—२० गते हुने १०औं महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको अंश)

प्रतिक्रिया