काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्काशित भएका छन् ।
असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नवलपरासीका खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरिएको पार्टीले एक विज्ञप्तिमार्फत जनाएको छ ।
समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले खनाललाई कारबाही गरिएको जानकारी पार्टी सभापति शेरबहादुर देउवा र उनीसम्बन्धित प्रदेश र जिल्लालाई पनि बोदार्थ पत्र पठाएका छन् ।
उजुरीपछि खनाललाई स्पष्टीकरण सोधिएको तर जवाफ चित्त बुझ्दो नदेखिएकोले प्राप्त प्रमाणको आधारमा कांग्रेसको विधान २०२७ (संशोधनसहित) धारा ३४ को उपधारा १ क ख र घ तथा उपधारा ङ बमोजिम १ वर्षका लागि पार्टी सदस्यबाटै निष्काशन गर्ने निर्णय गरिएको संयोजक ढुंगानाले पत्रमा उल्लेख गरेका छन् ।
२०७९ मंसिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी बर्दघाट १० घर भएका महामन्त्री खनालले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई असहयोग गरेको आरोपमा अनुशासन समितिमा उजुरी परेको थियो ।
नवलपरासीमा कांग्रेसका उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेल थिए । चौधरी नवलपरासी क्षेत्र नम्बर १ मा उम्मेदवार भएर चुनाव जिते भने नवलपरासी क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका कँडेल पराजित भएका थिए ।
चुनावमा चौधरी र कँडेललाई असहयोग गरेको आरोप खनालमाथि लागेको थियो । अनुशासन समितिले महामन्त्री खनालमाथि स्पष्टीकरण पनि सोधेको थियो । खनालले दिएको स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै अनुशासन समितिले एक वर्षका लागि पार्टी सदस्यताबाट नै निस्कासन गर्ने निर्णय गरेको छ ।
खनाल कांग्रेस संस्थापनइतर समूहका हुन् । असार १६ गतेदेखि असार २३ गतेसम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमितिमा पनि अनुशासन कारबाहीमाथि केन्द्रित रहेर प्रश्न उठेका थिए ।
केन्द्रीय सदस्यद्वय चौधरी र कँडेलले चुनावमा असहयोग गर्नेलाई कारबाही गरिनुपर्ने धारणा राखेका थिए । केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको अनुशासन समितिमा केन्द्रीय समितिभन्दा बाहिरका सिनियर साथीहरूलाई राख्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया