चीनले दिने निःशुल्क भिसाको औचित्य

चीनजस्तो विशाल जनसंख्या भएको देशका नागरिकलाई भिसा निःशुल्क गर्नुको अर्थ नेपालले वर्षेनी अरबौँ राजश्व गुमाउनु त हो नै , यो हाम्रो परराष्ट्रनीतिको हितविपरितको विषय पनि हुन आउँछ । विगत केही वर्षयता देखि नेपालमा जसरी पर्यटक भिसामा आउने चिनियाँहरुमध्ये कतिपय सुन तस्करी, डलर तस्करी, नक्कली मुद्रा, बैंक ठगी, मानव ओसारपसार, अनलाइन ठगी र मारपिटका घटनामा संलग्न पाइएका छन्, त्यसलाई दृष्टिगत गर्दा त चिनियाँ नागरिकलाई प्रदान गरिँदै आएको निःशुल्क भिसा सुविधा माथि पुनर्विाचर अथवा समिक्षा गर्ने समय आएको छ ।

श्रीमन नारायण

नेपालले चिनियाँ नागरिकलाई भिसानिःशुल्क गरेको ८ वर्षपछि चीनले नेपाली नागरिकलाई नियमित भिसा शुल्क नलिने घोषणा गरेको छ । नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली प्रधानमन्त्री भएका बेला नेपालले वि.सं. २०७२ सालमा चिनियाँ नागरिकलाई भिसा निःशुल्क दिने निर्णय गरेको थियो । नेपालले पनि भिसा शुल्क नलिन चीनसित आग्रह गर्दै आएको थियो । नेपालले त्यस्तो माग गरेको ८ वर्षपछि चीनको तर्फबाट यस्तो निर्णय भएको हो । हाम्रो देशमा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार अस्तित्वमा आएपछि उत्तरी छिमेकीचीनप्रति बढी सहज र सदाशयता राख्ने गरेको पाइन्छ ।

नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओली यसमा अग्रणी मानिन्छन् । उनी पहिलो पटक नेपालको प्रधानमन्त्री भएपछि उत्तरी छिमेकीको विश्वास र समर्थन हासिल गर्न कतिपय यस्ता निर्णय गरे, जो नेपालको लागि लाभकारी तथा दूरगामी महत्वका सावित नभए पनि यसबाट उत्तरी छिमेकी चीनलाई भने अवश्य नै सुखद अनुभूति हुन सक्दथ्यो । चीनजस्तो विशाल जनसंख्या भएको देशका नागरिकलाई भिसा निःशुल्क गर्नुको अर्थ नेपालले वर्षेनी अरबौँ राजश्व गुमाउनु त हो नै , यो हाम्रो परराष्ट्रनीतिको हितविपरितको विषय पनि हुन आउँछ । विगत केही वर्षयता देखि नेपालमा जसरी पर्यटक भिसामा आउने चिनियाँहरुमध्ये कतिपय सुन तस्करी, डलर तस्करी, नक्कली मुद्रा, बैंक ठगी, मानव ओसारपसार, अनलाइन ठगी र मारपिटका घटनामा संलग्न पाइएका छन्, त्यसलाई दृष्टिगत गर्दा त चिनियाँ नागरिकलाई प्रदान गरिँदै आएको निःशुल्क भिसा सुविधा माथि पुनर्विाचर अथवा समिक्षा गर्ने समय आएको छ ।

नेपालमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन चलिरहेका बेला चिनियाँ अधिकारीले आगामी मे १ देखि शुल्क नलिने जानकारी दिएर नेपालप्रति चिनियाँ सद्भाव रहेको देखाउन खोजिएको छ । यस अघि गत महिना चीनले स्वीटजरल्याण्ड, आयरल्याण्ड, हँगेरी, अष्ट्रेलिया, बेल्जियम, लक्जमवर्गलाई भिसाशल्क नलिने निर्णय गरेको थियो । चीनले दुई देशबिच मित्रता प्रवद्र्धन गर्न र सर्वसाधारणको आवतजावत बढाउन यो निर्णय लिएको बताएको छ । यस कदमबाट धेरै नेपाली चीनजाने सम्भावना त छैन, तर चीनले भने यहाँका आफ्ना समर्थकहरुलाई अवश्य नै खुसी पार्न सकेको छ । अब यसलाई ऐतिहासिक उपलब्धिको रुपमा बढाई चढाई पेश गरिनेछ । उत्तरी छिमेकी चीनको भ्रमणमा जाने नेपालीले ४५–५० हजार जति विमान भाडा तिर्नुपर्ने हुन्छ । त्यसमा २–३ हजार रुपैंया भिसा शुल्क छुटको के फाइदा ?

नेपालको उत्तरी चीनसँगको सम्बन्ध सुमधुर भएपनि समस्या रहित भने छैन । चीनसँग भाषाको समस्या भएकाले नेपालले आफ्ना कुरा सही ढंगले राख्न सकेको छैन । चिनियाँहरुले आफ्नो अनुकुलको विषयमा नभएमा कुरा नबुझेको अभिनय गर्ने गरेका छन् । यसको उदाहरण लामो समयदेखि बन्द रहेका उत्तरी सीमा नाका हुन् । वि.सं. २०७२ सालमा आएको भूकम्पका कारण क्षतिग्रस्त हुनपुगेको तातोपानी नाका आठ वर्षसम्म सुचारु हुन सकेन । उत्तरी छिमेकी चीन जस्तो विश्वको ठूलो अर्थतन्त्रको निम्तित ातोपानीनाकाको मर्मत सम्भार कुनै खासो ठूलो समस्या थिएन, तर होइन चीनले यसमा अभिरुचि नै देखाएन । त्यतिबेला चीनसित दुईपक्षीय व्यापार गर्ने प्रमुख उत्तरी सीमानाका तातोपानी नै हुने गर्दथ्यो । नेपालको निम्ति चीन आवश्यकता अथवा अत्याधुनिक प्राथमिकता र महत्वको देश हुन सक्दछ तर चीनको निम्ति हामी होइनौँ भन्ने यथार्थलाई हामीले बुझ्नुपर्छ । आर्थिक, कुटनीतिक, राजनीतिक र रणनीतिक कुनै पनि दृष्टिकोणले चीनको प्राथमिकतामा पर्ने मुलुक नेपाल होइन । चीनले बिनाकारण आयात बन्द गर्ने गरेको छ भने नेपालबाट सामान निर्यात गर्न पनि अवरोध खडा गर्ने गरेको छ । तसर्थ चीनसँगको सम्बन्धमा नेपाल बढी सतर्क हुनुपर्ने देखिन्छ ।

कोभिड १९ को संकटपछि नेपाललाई सर्वाधिक सहयोग सद्भाव र समर्थनको आवश्यकता थियो । दक्षिणी सिमानाकाबाट नागरिक आवागमनमा रोक रहे पनि खाद्यान्न, औषधी, फलफुल तरकारी र आवश्यक सरसामग्रीको निर्वाध आपूर्ति भइराखेको थियो । कोभिड १९ को संकटका दौरान कतिपय तराईवासीहरु भारतीय र नेपाली सीमा सुरक्षाकर्मीलाई छलेर आफ्नो आवश्यकताका सामान सीमापारिबाट ल्याइ हाल्थे । कोभिड १९ को संकटको दुष्प्रभाव त पुरै विश्वको अर्थतन्त्रमाथि परेको छ, स्वभाविक रुपमा नै यसबाट नेपाल पनि मुक्त रहन सकेन । तर कोभिड १९ को प्रभाव कमभए पनि तीन चार वर्षसम्म हाम्रो उत्तरी सिमा नाका खुल्ला भएन । यसले गर्दा चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुको भविष्य माथि पनि प्रश्न चिन्ह खडा भएको थियो । आयात निर्यात त ठप्प भयो नै । उत्तरी सिमानाका भएर व्यापार गर्ने नेपालीहरु आर्थिक रुपले कङ्गाल भए । अहिले पनि ८–९ वर्ष अघिको जस्तो व्यापार सुचारु भएको छैन । यस्तो चिनियाँ उत्पादनको प्रयोग गर्न अभ्यस्त भइसकेको नेपाली ग्राहक र उपभोक्ता अब महंगो तर टिकाउ सामान खरिद गर्ने बानी बसालिरहेका छन् ।

नेपालको पूर्वाधार निर्माणका थुप्रै परियोजनामा चिनियाँ ठेकेदारहरुले काम गरिरहेका छन् । अन्य देशमा राम्रो र छिटो काम गर्ने भनी नाम कमाएकै कम्पनीले नेपालमा सही ढंगले काम गरेका छैनन् र भौतिक प्रगति निकै सुस्त छ । चीनको निर्माण कम्पनीले पाएको ठेक्कामा कुनै पनि काम समयमा सम्पन्न भएका छैनन् । नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नतिको काम कछुवाको गतिमा चलिरहेको छ । निर्माण कार्य सम्पन्न गर्ने पूर्व निर्धारित समय सकिन लाग्दा पनि आधाजति काम पनि भएको छैन । पुनःम्यादथप गरिएको छ । यसले गर्दा यात्रुहरुले गर्मी मौसममा धुलो र वर्षा याममा हिलोको सामनागर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । समयको लागत त बढी हुन्छ नै यात्रीहरुले बाटोमा नानाथरीका सास्ती खेप्दै गन्तव्यसम्म येन केन प्रकारेण पुग्ने गरेको अवस्था छ ।

कमला–कन्चनपुर सडकखण्डको स्तरोन्नति र मर्मत सम्भारको कामपनि एउटा चिनियाँ कम्पनीले नै लिएको छ, त्यसको प्रगतिपनि साह्रै कमजोर छ । ठेकेदारको ढिलासुस्तीका कारण यात्रुहरुले दैनिक रुपमा सास्ती खेप्नुपर्ने अवस्था छ । एक ठाउँमा त ठेकेदारले बनाएको सडक तीन महिनामै कालोपत्रे उप्किरहेको अवस्था छ । स्थानीय जनताले कामको गुणस्तरको विरोधमा सम्बन्धित निकायमा उजुरी पनिदिएका छन् । विगतमा चिनियाँ ठेकेदारहरुको काम नेपालमा राम्रो मानिन्थ्यो तर जनआन्दोलन–२ को सफलतापश्चात् नेपालका सत्ताधारी र कतिपय राजनीतिकदलहरुले आवश्यकता भन्दा बढी स्वामि भक्ति देखाएपछि चिनियाँ ठकेदारहरुले निर्माण कार्यको गुणस्तरमा पनि कमी आएकोे छ, समय पनि बढी लाग्ने गरेको छ र पैसा पनि बढी खर्च भइरहेका छन् ।

नेपालमा चिनियाँ पर्यटक आकर्षित गराउन भिसा निःशुल्क गरिएको भनिन्छ तर विगत ८ वर्षमा कति चिनियाँ पर्यटकहरु नेपाल भित्रिएका छन् ? हाल चीनले नेपालीहरुको निम्ति भिसा निःशुल्क गरेको छ तर चीनमा पुगेपछि थप नयाँ सेवा करहरु लाग्ने सम्भावनालाई सोझै खारेज गर्न सकिँदैन । भाषागत समस्याका कारण नेपाली पर्यटकहरु चीन घुम्न गएपनि त्यसबाट आउने उपलब्धि के ? चीन हाम्रो निम्ति साँस्कृतिक, राजनीतिक, सामाजिक र धार्मिक कुनै पनि कारणले गन्तव्य मुलुकको परिभाषाभित्र पर्दैन । हाम्रो आफ्नो गौरवशाली सभ्यता, सँस्कृति, परम्परा र विरासतलाई बिर्सेर हामी चीनबाट के सिक्ने ? मृगभित्रै कस्तुरी रहे पनि ऊ वासना खोज्दै चारैतिर हिँडे जस्तै हामी नेपाली पनि आफ्नो अथाह विरासतलाई थाम्न नसकी आफ्नो पहिचान र गौरवलाई चिन्न नसकी पश्चिमको र चीनको प्रगतिबाटै रमाइरहेका छौँ । चीनले आज निःशुल्क भिसा दिने घोषणा गरेको छ तर भोलि कुनै नयाँ बहाना झिकेर त्यसमा रोक पनि लागाइ दिन सक्दछ तसर्थ यसबाट हामी बढी खुसी हुनुपर्ने कारण छैन ।

प्रतिक्रिया