सेनाको निःशुल्क स्वास्थ्य शिविरमा ७ सयभन्दा बढीले लिए लाभ

सर्लाही । सर्लाहीको चन्द्रनगर– ७ नाडीमन ताल परिसरमा विभिन्न स्वास्थ्य संस्थाको समन्वयमा सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा ७०८ जनाले सेवा लिएका छन् । शनिबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानीयले विभिन्न रोगको जाँच गराएका हुन् ।

चन्द्रनगर गाउँपालिकाको सहयोग तथा सेनाको श्री मध्य पूर्वी पृतना हे. क्वा., श्री नम्बर ९ बाहिनी अड्डा, श्री भैरवीदल गण पाँचकुमारी ब्यारेकको आयोजना एवं फिल्ड स्पताल बर्दिवास, नगर अस्पताल लालबन्दी, सर्लाही ईमेजिङ एण्ड डाईगोनोस्टिक सेन्टर लालबन्दी र सत्यनाम हस्पिटल नवलपुरको सहकार्यमा उक्त शिविर सञ्चालन भएको थियो ।

शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा, वाल रोग विशेषज्ञ सेवा, मनोचिकित्सक विशेषज्ञ सेवा, दन्त रोग विशेषज्ञ सेवा, जेनेरल वहिरंग सेवा, भिडियो एक्सरे सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।

श्री फिल्ड अस्पताल बर्दिवासको प्रा. प्र. से. डा. कविता कर्माचार्य, लालबन्दी नगर अस्पतालको डा. राम विश्वास राय, सत्यनाम हस्पिटल प्रालिका डा. अनिल, चन्द्रनगर गाउँपालिका स्वास्थ्य शाखाका डा. अमीत लगायतले सेवाग्राहीको चेकजाँच गरेको श्री भैरवी दल गण लालबन्दी १ नवलपुर पाँचकुमारीका नि. गणपति सेनानी पवन विष्टले जानकारी दिए ।

शिविर स्थानीय बासिन्दा एवम् सेवाग्राहीलाई हाल जिल्लामा भइरहेको आगलागीको घटनासम्बन्धी सचेतना, विपद् व्यवस्थापन, सर्पदंश उपचारसम्बन्धी जानकारीसँगै सेनाको भर्नासम्बन्धी Mine Risk Education, Heat Wave सम्बन्धी जानकारी समेत गराइएको थियो । साथै शिविरलाई संचालन र व्यवस्थापनमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई प्रशंसा पत्रसहित सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया