‘लमजुङे ठाडो भाका बेसीसहरकै पहिचान’

काठमाडौं । लमजुङको बेसीसहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले मौलिक गीत संगीतमार्फत पर्यटन र प्रवद्र्धनमा भूमिका खेल्ने कलाकारहरू तथा सांगीतिक क्षेत्रका कुनै पनि संघसंस्थालाई जनप्रतिनिधिका हैसियतले आफू विभिन्न कोणबाट सहयोग गर्न तत्पर रहेको बताएका छन् ।

साथै उनले कलाकारको नाममा हाल भइरहेकै मौलिक सिर्जना भत्काउने र पर्यटन प्रवद्र्धनमा अवरोध गर्ने काम नगर्न सुझाव दिए । मंगलबार राजधानीमा लोकदोहोरी गायक राजु परियार र गायिका मञ्जु विकको ‘लमजुङे ठाडो भाका’ को गीत विमोचन समारोहमा बोल्दै नगरप्रमुख अर्यालले यस्तो बताएका हुन् । उनले केही समय अघि बेसीसहरमा आयोजित कार्यक्रममा पनि सोही आशयको अभिव्यक्ति दिएको स्मरण गरे ।

प्रमुख अर्यालले मौलिक सिर्जना र लोक संस्कृतिको जगेर्नामा अघि बढ्न आवश्यक रहेको बताए । ‘गीत संगीतको नाममा महोत्सवको स्टेज नै भत्काउनेतर्फ नजानुस्, कलाकारहरू त भएका मौलिक लोक संस्कृतिको संरक्षण गर्न र थप जगेर्ना गर्न पो लाग्ने हो’, उनले भने । प्रमुख अर्यालले मौलिक सिर्जना बिगारेर महोत्सवमा आराजक शैली अपनाउने प्रवृत्ति बढेकोमा दुःख व्यक्त गरे ।

कलाकारहरूले गीत संगीतमा राज्यले लगानी नगरेको भन्ने गुनासो आफूले सुनिरहेको बताउँदै उनले कलाकारहरूले पनि राज्यलाई गीत संगीतमार्फत मौलिक सिर्जना र संस्कृति तथा पर्यटन प्रवद्र्धनमा भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । कलाकारहरूका मौलिक सिर्जनाले राज्यको विकासमा महत्त्वपूर्ण भूमिका हुनुपर्ने उनकोे भनाइ थियो ।

कलाकारहरूले आफ्ना गीतले आफूलाई मात्र आकर्षित गर्ने नभई राज्यको ध्यान पनि गीत संगीततर्फ आकर्षित गर्न नगरप्रमुख अर्यालले आग्रह गरे । मंगलबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा आयोजित उक्त ठाडो भाका गीत विमोचनका लागि नगरप्रमुख अर्याल लमजुङबाटै काठमाडौं आएका थिए ।

गीत विमोचन गर्दै उनले गायक राजुु परियारले सानै उमेरदेखि गाउँमा माइक समातेर गीत गाउँदा आफूले त्यो समय नै त्यति मिठो गीत गाउने केटो भविष्यमा केही गरेर देखाउने अपेक्षा राखेको सुनाउँदै हाल आफ्नो अपेक्षाअनुसार नै नगरपालिकाको मात्रै नभई समग्र जिल्लाकै मौलिक संस्कृति झल्काउने र स्थानीय ‘लमजुङे ठाडोभाका’ संरक्षण र प्रवद्र्धनमा लागेको बताए ।

कार्यक्रमका अतिथिसमेत रहेका नगरप्रमुख अर्यालले यस गीतले आफ्नो नगरपालिका मात्रै नभई समग्र लमजुङ जिल्लाको मौलिक पहिचान र महत्व बोकेको बताए । साथै उनले गीतको प्रशंसा गर्दै गायक राजु परियार र गायिका मञ्जु विकलाई धन्यवाद ज्ञापन गरे ।

नगरप्रमुख अर्यालले लमजुङे ठाडो भाकाका सुरुआतका गायक देउबहादुर दुरा र उनी पछिका गायक भेडिखर्के साइलाको स्मरण गर्दै आगामी दिनमा नगरपालिकाको पर्यटन प्रवद्र्धन र यस मौलिक स्थानीय ठाडो भाकाको संरक्षणमा राजु परियारको मूख्य भूमिका रहने विश्वास व्यक्त गरे । नगरप्रमुख अर्यालले बेसीसहर नगरपालिकामा गीतसंगीतमार्फत विकासका लागि अघिल्लोपटक बजेट विनियोजन भएको तर समय ढिलाइका कारण त्यो लागू हुन नसकेको बताए ।

त्यसैगरी उनले आफ्नो नगरपालिकामा एक मन्दिर निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै सो उद्घाटन गर्दा गायक राजु परियारकै नेतृत्वमा राष्ट्रिय कलाकाररहरूलाई बोलाएर मौलिक लोक संस्कृतिसहित नगरपालिकाको विकासका लागि पर्यटन प्रवद्र्धनमा अघि बढ्ने बताए । साथै, नगरप्रमुख अर्यालले मन्दिर उद्घाटनको समय पनि कलाकारहरूका प्रस्तुति हेरेर सांगीतिक क्षेत्रको लागि नीति तथा कार्यक्रम ल्याइने बताए ।

उनले कार्यक्रमका लागि गायक परियारलाई मौलिक संस्कृति प्रस्तुत गरेर पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने राष्ट्रिय कलाकारहरू जुटाउन आग्रह गरे । त्यसैगरी लमजुङे ठाडो भाका गीत विमोचनमा बेसीसहर नगरपालिका–२ का वडाध्यक्ष मदन रानाले यस ठाडो भाकाले आफ्नो वडाका लागि विशेष महत्व दिने बताउँदै पर्यटन प्रवद्र्धन र मौलिक लोकसंगीत संरक्षणमा ठूलो योगदान दिने उल्लेख गरे ।

वडाध्यक्ष रानाले गायक परियारको नाममा आफ्नो वडाभित्र पहिचान झल्किने नामकरण गर्ने योजना बनाइरहेको समेत बताए । गायक राजु परियारले जिल्लाको समग्र पहिचानसहित बेसीसहर नगरपालिका र आफ्नो जन्मस्थान नगरपालिका–२ चिसापानीको पहिचान झल्किने गरी मौलिक स्थानीय महत्वको गीतमा शब्द समावेश र भिडियो निर्माण गरेर बजारमा ल्याएको बताए ।

गायक राजु परियार र गायिका मञ्जु विक

लामो समयदेखि लोकदोहोरी गायनमा क्रियाशील रहेर आफ्नो पहिचान उचाइमा पुर्याएका गायक परियारले हालसम्म आफूले गाएका र सिर्जना गरेका कुनै पनि गीत यसअघि विमोचनको आयोजना नै नगरेको सुनाउँदै पछिल्लो समय आफ्नो बेग्लै पहिचान भएको ‘लमजुङे ठाडो भाका’ लोप हुने अवस्थामा पुगेकाले यस गीतको संरक्षण र प्रवद्र्धनमा विशेष चासो दिएको बताए ।

गीतमा बेसीसहर नगरपालिका र आफू जन्मेको वडा–२ को विशेष भूमिका र सहकार्य रहेको उनले बताए । भिडियोमा प्रकाश भट्टको निर्देशन रहेको छ । गीतको भिडियो लमजुङ बेसीसहरमै छायांकन गरिएको गायक परियारले जानकारी दिए । त्यसैगरी यस गीतका गायिका मञ्जु विकले राजु परियारजस्तो गायनका बादशाहसँग आवाज मिसाएर आफ्नै गाउँ–ठाउँको मौलिक लमजुङे ठाडो भाका बजारमा ल्याउन पाउनु नै आफैँलाई भाग्यमानी ठानेको बताइन् ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले पछिल्लो समय गीत संगीतमा छाडापन मौलाउँदै गएको भन्दै यस्ता मौलिक गीत संगीतको विमोचनको आयोजना गर्न पाएकोमा गायक राजु परियारलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिए । सो ‘लमजुङे ठाडो भाका’ गायक राजु परियार आफैँले शब्द रचना र संगीत भरेका छन् भने संगीत संयोजन विश्वास नेपाल र ध्वनी सम्पादन राजेन्द्र बाजुरालीले गरेका छन् ।

प्रतिक्रिया