काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजायकाे फैसला सुनाएको छ । आज सोमबार विशेष अदालतका न्यायाधिश टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले मेयर बस्नेतलाई ८ वर्ष ३ महिना कैद सजायकाे फैसला सुनाएको हो ।
उनलाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ ८ पैसा जरिवाना पनि तोकिएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा बस्नेतलाई १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो दाबी गरिएकोमा ३ वर्ष कैद सजाय हुने ठहर भएको छ भने बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ ८६ पैसा जरिवाना हुने ठहर भएको छ ।
त्यस्तै गैरकानुनी रुपमा कमाएको ठहर भएको सम्पत्तिसमेत जफत हुने भएको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणकै कसुरमा राष्ट्रसेवकलाई हुने अतिरिक्त १० प्रतिशत कैद सजायसमेत (३ महिना १० दिन) थप हुनेछ।
बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा पद्मा कोलोनी प्रालि, पद्मा मर्चेन्ट कम्पनी प्रालि र सो कम्पनीका अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ २२ पैसा क्षतिपुर्ति शूल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने समेत ठहर भएको छ ।
त्यस्तै कँडेललाई पनि ८ वर्ष कैद सजाय हुने भएको छ । कँडेल र दुई कम्पनीले पनि २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ बिगो दामासायीले भराउनुपर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका मेयर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टचारको अभियोगमा मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया