लोक सञ्चारकर्मी नेपालले मनायो कलाकारहरुको साथमा रोपाईँ उत्सव

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले विभिन्न कलाकारहरुको साथमा २२औँ रोपाईँ उत्सव मनाएको छ । असार १५ गते आइतबार लोक सञ्चाररकर्मी नेपालले आयोजना गरेको रोपाईँ उत्सव धेरै कलाकारहरुको साथमा सम्पन्न भएको हो ।

गोकर्णेश्वर नगरपालिका– ७ शिवचोकको फाँटमा आयोजना गरिएको कार्यक्रममा धेरै कलाकारहरुले सहभागीता जनाएका थिए । कलाकारहरु केही बेरको सांस्कृतिक कार्यक्रम गरेसँगै धान रोपाईमा सरिक भएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले जानकारी दिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालले लोक सञ्चारकर्मीको नेपालले सांस्कृति र नेपालको पहिचान जोगाउनका लागि भूमिका खेलेकोमा धन्यवाद दिए । कृषिमा नेपाललाई आत्मनिर्भरता बनाउनका लागी हामी सबै कृषकहरुकै मुख्य भूमिका हुने भन्दै उनले कृषीमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीसँगै गायक बद्री पंगेनी, नवीन पौडेल, गायिका मञ्जु पौडेल, सरोज लामिछाने र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगर, मोडल एलिजा गौतम, सन्जु न्यौपाने, बालगायिका आयुशा गौतमलगायतको सहभागीता रहेको थियो ।

यस्तै उक्त रोपाईँ उत्सवमा घाँसे गीतका ज्ञाता शिवनारायण जोशी र नारायण रायमाझीलाई सम्मान पनि गरिएको थियो । आयोजक राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष गौतमले नेपाल कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यका साथ संस्थाले हरेक वर्षको असार १५ मा रोपाईँ उत्सव गर्दै आएको जानकारी दिए ।

उनले संस्थाले विशेष गरी नेपाली मौलिक, संस्कृति झल्किने कार्यक्रममा जहिले पनि जोड दिने बताए । उक्त रोपाईँ उत्सवमा कलाकारहरुले विभिन्न गीत गाउँदै र हिलो खेल्दै धान रोपेका थिए । अध्यक्ष गौतमले आगामी वर्षहरुमा पनि रोपाई उत्सवलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया