आर्य नागार्जुनको शून्यताको सिद्धान्त

एउटा सुन्दर आइमाईलाई कामरागले पिडित मानिसले आफ्नो कामराग मेटाउने साधनको रूपमा देख्छ, एउटा आशक्ति काटेको साधुले मासककंपिण्ड, रक्त/सिगान/कफ जस्ता दुसित कुराहरूलाई छालाले लपेटेको अस्तिको ढांचा भनेर देख्छ भने मांसभक्षि जनावरले आफ्नो भोक मेटाउने भोजनको रूपमा देख्छ ।

महायानलाई समग्ररूपमा बुझ्न, आर्य नागार्जुनको शून्यताको सिद्धान्तलाई बुझ्न जति आवश्यक छ त्यतिनै आवश्यक चौथो शताब्दीका दुई ब्राह्मण भाईहरू आर्य असंग र आचार्य वसुबन्धुका दर्शनहरूलाई पनि बुझ्न जरूरी छ । आर्य असंग योगाचार माध्यमिक दर्शनका प्रवर्तक मानिनुहुन्छ भने वासुबन्धु शुरूमा वैभाषिक÷सर्वास्तिवादको मतलाई दाजु असकंगको शास्त्रार्थ पश्चात त्यागेर महायान धर्ममा लाग्नु भएको भनिन्छ । बाहुन जात हिन्दुको पेवा जस्तो मान्ने बाहुनहरूले यो कुरा बुझ्न जरूरी छ कि वादविवाद झगडा होइन, सत्यको नजिक पुग्ने एउटा तरीका हो र जब सम्म ‘म यो जातको’ भ्रम त्यागिदैन, चित्तपनि खुल्दैन र सत्यको नजिक पनि पुगिदैन ।

चित्तमात्र÷विज्ञानवाद÷योगाचार पनि शून्यतावाद जस्तै भगवान बुद्धको शिक्षाबाट बाहिरिएको दर्शन कसरी होइन ? थेरावदि त्रिपिटकमा भगवान बुद्धले चित्त वस्तुतः निर्मल हुन्छ र सबै क्लेश आगन्तुक हुन् भनेको पाइन्छ अनि त्यस सँग सम्बन्धित सबै अभ्यास यहि आगन्तुक क्लेशरूपि फोहोरलाई पखाल्ने तरीकानै हो । अज्ञानता÷कल्पनाहरू विभिन्न लोभका सृजना हुनुको कारण हुन् भनेर त्रिपिटकमानै बताइएको पाइन्छ । प्रतीत्यसमुत्पाद÷भव सागरका द्वादश निधानहरू भनेर श्रावकयान र महायान दुवैले स्विकारेकै कुरा हो ।

महायान अन्तर्गतको लंकावतार सूत्रमा पनि यहि अवधारणालाई विस्तारमा ब्याख्या गरेको देख्न सकिन्छ र यहि अवधारणलाई नै आर्य असंग लगायत अन्य योगाचार÷चित्तमात्रका समर्थकहरूले विस्ताररूपमा ब्यख्या गरेको पाइन्छ । योगाचार, चित्तमात्र, विज्ञानवाद भनेको ती सिद्धान्त हुन् जहाँ चित्तलाई प्रथमिकता दिइन्छ । यो सिद्धान्तमा बस्तुहरूको स्वतन्त्र सत्तालाई नकारिन्छ र चित्तलाई प्राथमिकता दिइन्छ ।

चित्तमात्र/योगाचार/विज्ञानवादले बस्तुहरूको स्वतन्त्र सत्तालाई कुन तर्कले नकार्छ ? भन्ने जिज्ञासा साधकहरुमा पाइन्छ । चित्तको सत्तामात्र स्विकार्ने यी दर्शनले एउटै बस्तुलाई कसरी छुट्टाछुट्टै चित्तले छुट्टाछुट्टै देख्छ भन्ने तर्क दिएर बस्तुहरूको वास्तविक स्वतन्त्र सत्तालाई नकार्छन् । जस्तै एउटा सुन्दर आइमाईलाई कामरागले पिडित मानिसले आफ्नो कामराग मेटाउने साधनको रूपमा देख्छ, एउटा आशक्ति काटेको साधुले मासककंपिण्ड, रक्त/सिगान/कफ जस्ता दुसित कुराहरूलाई छालाले लपेटेको अस्तिको ढांचा भनेर देख्छ भने मांसभक्षि जनावरले आफ्नो भोक मेटाउने भोजनको रूपमा देख्छ ।

सपनामाको उदाहरण दिने चलन पनि छ । सपनामा रहदा सपना देख्ने चित्तलाई मैले सपना देखि रहेको छु भन्ने होस हुदैन र सपनामा देखिएको दृष्यले उसमा दुःख/सुःखको अनुभव साच्चिकै भएको जस्तो भान गराइ रहेको हुन्छ । सपनामा त्यस्तो स्वतन्त्र बस्तु त केहि छैन जसले पिडा दिइरहेको छ तर चित्तले आफै आफै कल्पिने हुनाले चित्तधारीलाई दुःख÷सुखको अनुभव भइरहेको हुन्छ ।


बस्तुहरूलाई अनन्त मात्रामा टुक्र्याउन सकिने तर्क दिएर विज्ञानले कुनै बेला अणुलाई सानो भन्थ्यो, त्यसपछि इलेक्ट्रोन , प्रोटोन र न्युट्रनको तर्क सिद्ध भयो, त्यसपछि तरंगको कुरा आयो, त्यसपछि अनन्त संभावनाको आयो । योगाचार/चित्तमात्र/विज्ञानवादले पनि बस्तुहरूको अनन्त मात्रामा टुक्रुयाउन सकिने ( तर्क दिएर बस्तुको स्वतन्त्र अस्थित्वलाई नकार्छ ।

योगाचार/चित्तमात्र/विज्ञानवादमा चित्तलाई कसरी ब्याख्या गरिएको छ ? भन्ने प्रश्न पनि यहाँनिर सान्दर्भीक हुन आउँछ । भगवान बुद्धका थेरावादका त्रिपिटकको जस्तो लंकावतार सूत्रले पनि नित्य/अनित्य, सत्/असत्, समान÷फरक जस्ता द्वेत कुराहरू विकल्प (कल्पना) बाट उब्जेका कुरा हुन् भन्छ । जब चित्तमा म र परको भेद र कल्पना हुन थाल्छ लोकहरू सृजना हुन थाल्छन्, लंकावतार सूत्र र योगाचार अनुसार ।

यहि अवधारणा अनुसार विज्ञान/चित्त लाई ८ प्रकारको भनिएको छ । जतिपनि देख्ने/सुन्ने/सुघ्ने/स्वाद लिने/स्पर्श गर्ने र यी गरेको थाहा पाउने ६ प्रकारका चित्त भए । सातौ चित्त भनेको राग, द्वेष र मोहले क्लिष्ट भएको चित्त भयो । आठौ चित्तलाई तथागत गर्भ भनिन्छ । थेरावादको अविधर्ममा यसैलाई भवांग भनेको पाइन्छ । अंग्रेजीमा यहि आठौ चित्तलाई भण्डारण चेतना पनि भनिन्छ । यहि आठौ चित्तमा आफुले गरेका कर्महरू विऊको रूपमा रहेका हुन्छन् । र यो चित्त कुनै स्थिर आत्मा जस्तो नभएर पलपल बदलिने खालको हुन्छ ।

यहि आठौ विज्ञान जसलाई अंग्रेजीमा मा स्टोर हाउस र नेपालीमा भण्डारण चेतना भनिन्छ नै दुःखको र निर्वाणको हेतु/चययत भनेर मानिन्छ योगाचार अनतर्गत । राग/द्वेष/मोह युक्त (सातौ प्रकारको चित्त)ले स्व र पर भन्ने द्वेत कल्पना गरेर भेद गर्ने हुनाले भण्डारण चेतना (आठौ प्रकारको चित्त) बाट पहिलाका दुःखका हेतुहरू सक्रीय हुन्छन् । जसले गर्दा ६ प्रकारका अनुभवजन्य दिमाग (हेर्नु, सुन्नु) हरू पनि सक्रीय हुन्छन् र दुःख/सुख रूपि जगत/संसार देखा पर्न थाल्छ । तर यो क्लिष्ट चित्तबाट स्व र परको द्वेत दृष्टि हट्नासाथ निर्वाणको अनुभव बन्छ । यहि सन्दर्भमा यहि आठौ विज्ञानमानै संसारबाट तर्ने संभाव्यता रहेको हुन्छ, मानिन्छ लंकावतार सूत्र र योगाचार अन्तर्गत । र महायानका जतिपनि अभ्यास छन् यहि द्वेत दृष्टिलाई हटाउने प्रयास हुन् ।

थेरवाद त्रिपिटकमा भगवान बुद्धले, शून्यताको बारेमा थोरै भए पनि कुरा उठाएको देख्न पाइन्छ । उहाँले यसलाई गहिरो र शब्दमा व्याक्त गर्न नसकिने आशय दिएको देख्न सकिन्छ । त्यसैगरी उहाँले रूप र वेदनादि स्कन्धहरूलाई पानीको बुलबुला, भ्रामक र आफैमा स्वतन्त्र अस्तित्व नभएका भनेर बताएको पाउछौं । थेरावादि लगायत सबैले भगवान बुद्धका अकल्पनिय र अलौकिक गुणहरूलाई मान्दै आएका छन् । थेरावादमा भगवान बुद्धले आफुलाई तथागत भनेर सम्बोधन गरेको पाइन्छ र थेरावादले पनि भगवान बुद्धले सत्व हितका लागि विभिन्न चर्या गरेको पनि स्विकारेकै कुरा हो । थेरवाद त्रिपिटकहरूमा पाइने यिनै अवधारणालाई महायानका सद्धर्मपुण्डरीक, प्रज्ञापारमिता, लंकावतार जस्ता सूत्रहरूले अझ गहिरो रूपमा विस्तारमा वर्णन गरिएको पाइन्छ ।

प्रथम शताब्दीको अन्त्य र दोस्रो शताब्दीको शुरुवात बीचको साझा युगमा ब्राह्मण कुलमा जन्मिनु भएको आर्य नागार्जुन माध्यामिक सिद्धान्तको प्रवर्तक र प्रज्ञापारमिताको व्याख्या कर्ता हुनुहुन्छ र स्वयम् भगवान बुद्धले उहाँको भविष्यवाणि गरेको मान्यता माहायान बौद्धहरूको रहेको छ । माध्यमिका बौद्ध दर्शनलाई शून्यताको दर्शन र आनात्माको दर्शन पनि भनेर चिनिन्छ । हामीले यो पनि बुझ्न जरूरी छ कि आर्य नागार्जुनले भगवान बुद्धले सिकाएको भन्दा फरक कुनै नौलो सिद्धान्त दिनु भएको होइन । उहाको माध्यमिकको सिद्धान्तको विउ (अग्रदूत) त माथि देखाए जस्तै थेरवाद र महायानका सूत्रहरूमा नै छन् । भगवान बुद्धले निर्वाण लगायतका १४ प्रश्नहरूलाई अब्याकृत भनेको त पालिमानै पाइन्छ ।

आत्माको स्वतन्त्र अस्तित्वको खण्डन

आर्य नागार्जुनले जे कुरापनि हेतु र प्रत्ययमा आश्रित हुन्छन् भन्ने कुरा प्रमाण गरेर आत्माको निशेध गर्नु भएको छ । जे कुरा अरूमा आश्रित रहेको हुन्छ त्यो स्वतन्त्र नभएर परतन्त्र हुन्छ भन्ने कुरा त जस्ले पनि बुझ्ने कुरा हो । हेतु/प्रत्यय र यसले जन्माउने प्रभाव (असर–नतिजा) को सम्बन्ध हामीले सोचे/अनुभव गरे जस्तो रेखिय हुदैन ।


कुनै कुराको प्रभाव/फल हेतुमा आश्रित भएपनि हेतु र फलको सम्बन्ध (कारण र प्रभाव) हामी सामान्य जनले सोचेको जस्तो रेखिय हुँदैन र यो सम्बन्ध तर्क भन्दा परको हुन्छ भन्ने कुरा चतुष्कोटि तर्क (चार गुण द्धन्दात्मक विश्लेषण) बाट प्रमाणित गरेर देखाउनु भएको छ, आर्य नागार्जुनले । ठ्याक्कै यो अभिव्यक्ति स्वयं भगवान बुद्धले भनेको कुरा थेरवाद त्रिपिटकमानै पढ्न पाइन्छ र यहि कारण थियो उहाँले निर्वाण तर्क भन्दा परको भनेर ती १४ प्रश्नहरूको जवाब नदिनु भएको ।

शून्यता जुन अनुत्पन्न र अनिरोध हुने स्वभावको छ । यदि तपाईंहरूले प्रज्ञापारमिता हृदय सूत्र नामक महायान सूत्र पढ्नुभएको छ भने थाहा हुनुपर्छ कि त्यहाँ आर्यावलोकितेश्वरले रूप भनेको शून्यता हो र शून्यतानै रूप हो जस्ता कुरा गर्नु भएको छ । त्यस्तै त्यहा शून्यता उत्पन्न नहुने र निरोध पनि नहुने हुन्छ भनेको पनि पाउनु हुनेछ । आर्य नागार्जुनले माथि बताए जस्तो तर्कको आधारमा यो पनि प्रमाणित गर्नु भएको छ कि, हेतु र फलको सम्बन्ध अभिब्यक्तिबाट परको छ । किन कि हेतु र फललाई एउटै खालको भन्न पनि सकिदैन, फरक खालको भन्न पनि सकिदैन । दुवै खालको भन्न पनि सकिदैन । त्यहि भएर यिनिहरू न उत्पन्न भएको भन्न मिल्छ न निरोध भएको नै । आत्मा छ भन्न पनि सकिदैन किनकि यो हेतु÷प्रत्ययमा आश्रित छ । फेरी आत्मा छैन पनि भन्न सकिदैन किनकि यसको महसुस भइराख्छ ।

यहि सन्दर्भमा आर्य नागार्जुनले अद्वेत अवस्था अर्थात छ र छैन भन्दा परको अवस्था भनेर शून्यतालाई भन्नु भएको हो । यस्तै कुरा थेरवाद त्रिपिटकमा पनि पाइन्छ जहाँ बुद्धले शून्यतालाई गहिरो, निर्माणलाई अब्याकृत भन्नु भएको छ । माथि वर्णन गरिए अनुसार प्रज्ञापारमिताको हृदय सूत्रमा पनि यस्तै कुरा पाइन्छ । जान्ने चित्त र जानिने कुरा एक अर्कामा निर्भर हुन्छ ।

अन्तमा, आर्य नागार्जुनले आफ्नो तर्कले देखाउनु हुन्छ कि चित्त र यसले देख्ने कुरा एक अर्कामा आश्रित रहेका कारण दुवै नै स्वतन्त्र अस्तित्वको हुन सक्दैनन् । यसरी, आफ्नो तर्कको प्रयोग गरेर आर्य नागार्जुनले हेतु (फलको हेतुमा भएको निर्भरताको कारण र त्यो निर्भरतालाई तर्कबाट ब्यक्त गर्न नसकिने कारण) र जान्ने र जानिने कुराको एक अर्कामा निर्भरताको कारण शून्यतालाई सत र असत जस्ता द्वेत तर्कबाट परको भनेर बताउनु भएको छ । जुन प्रज्ञापारमिताको मुलभुत सिद्धान्त पनि हो र जसको बारेमा स्वयम् भगवान बुद्धले बोलेको पालि त्रिपिटकमा पनि भेटिन्छ ।

प्रतिक्रिया