सुनकोसी–मरिण सुरुङमा चामत्कारिक प्रगति

प्रधानमन्त्रीले ‘ब्रेक थ्रू’ गर्दै, विश्व रेकर्डका लागि पहल

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण सकिएको छ । सुरुङ निर्माण सकिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (बुधबार) एक समारोहका बीच स्विच थिचेर ब्लास्टिङ गरी सुरुङ छिचोल्ने (ब्रेक थ्रू गर्ने) कार्यक्रम छ । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड मंगलबार नै सिन्धुली पुगिसकेका छन् ।

नेपालको कृषि क्षेत्रमा भरपर्दो सिँचाइ, विद्युत् उत्पादन तथा तराई मधेसका जिल्लामा खानेपानीको बढ्दो समस्या समाधान गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । अहिले बाग्मती सिँचाइ योजनाले सर्लाही तथा रौतहट जिल्लाका ४५ हजार ६०० हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ गर्ने गरिएको छ ।

आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा बारा जिल्लाको १ लाख २२ हजार हेक्टर कृषियोग्य भूमिमा बाह्रै महिना सिँचाइ सेवा पुग्ने आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । मधेस प्रदेशको कृषि क्षेत्रका लागि वरदान मानिएको आयोजनाको सम्पूर्ण काम सक्न भने अझै केही वर्ष लाग्नेछ ।

सुनकोसी–मरिण डाइभर्सन आयोजनाअन्तर्गत १३ दशमलव ३ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएको हो । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) विधिको प्रयोग गरिएको थियो । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई पनि गति दिइएको छ ।

तर, बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकिरहेका छैनन् । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ ।

सुनकोसीको करिब ६७ क्युसेक पानी सुरुङमार्फत् सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने तथा खानेपानी आवश्यक भएको खण्डमा शुद्धीकरण गरेर खानेपानी अभाव भएका ठाउँमा वितरण पनि गर्न सकिनेछ । साथै, यस आयोजनाबाट ३१ दशमलव ७ मेगावाट बिजुलीसमेत उत्पादन हुनेछ ।

सुरुङ निर्माण गर्न २ वर्षको समय तोकिएको भए पनि १९ महिनामै काम सकिएको हो । आयोजना प्रमुख बरालका अनुसार केही समय भौगोलिक समस्याका कारण काम नरोकिएको भए १९ महिना पनि नलाग्ने जानकारी दिए ।

१ महिनामै १ दशमलव २ किलोमिटर सुरुङ खनेर विश्व रेकर्ड राख्ने विषयमा समेत आयोजनाले छलफल गरिरहेको बरालले बताए । भौगोलिक हिसाबले चुरे पहाड र महाभारत पर्वतमा पर्ने क्षेत्रमा पनि १ महिनामै १ दशमलव २ किलोमिटर सुरुङ खनेकाले रेकर्डका लागि पहल भइरहेको बरालले बताए ।

‘जेठमा मात्रै १ दशमलव २ किलोमिटर सुरुङ मार्ग खनेको र विश्व रेकर्डमा नाम लेखाउन पहल भइरहेको छ । हामीले विश्वमा यस्तो भौगोलिक ठाउँ भएको स्थानमा यसरी सुरुङ खनिएको छ वा छैन भनेर खोजिरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म कुनै देशले यस्तो भौगोलिक संरचना भएको ठाउँमा यति छिटो खनेको पाएका छैनौँ ।’

प्रतिक्रिया