मदात्यय र आयुर्वेद

नसाले मानिसको मनमा रहेको नकारात्मक सोचलाई कृत्रिमरूपमा बढाउँदै लैजाने गर्दछ । कोमल स्वभावको मानिस छ र मायाप्रितिका कुरा निस्किए भने ऊ रोमियो र जुलियट बनिदिन्छ अनि रुनसमेत थाल्दछ । अलि क्रूर स्वभावको मानिस छ भने अति उत्तेजित हुन थाल्दछ र बित्तण्डा मच्चाउन थाल्दछ । मिश्रित स्वभावको मानिस भए आफूभन्दा बलियो व्यक्ति अगाडि भए रुन र निर्धो व्यक्ति अगाडि भए शूरो हुन थाल्दछ । सँगै बसेर नशा लिइरहेका साथीले उसलाई जुन भावमा लैजान्छन् त्यही भावमा गहिरिन थाल्दछ । यसैले एकपटक मदात्यय भएको मानिसलाई त्यो लतबाट बाहिर निस्कन अति नै कठिन हुन्छ । चिन्तामा परेको मानिस चिन्ता मेटिएको भ्रममा, शोकमा परेको मानिस शोक मेटिएको भ्रममा, बल भएको मानिस बल बढेको भ्रममा आदि जस्ता आआफ्ना स्वभाव अनुसारको भ्रममा रमाउने गर्दछ ।

मोहनप्रसाद सापकोटा

विशेषगरी नशा दिने खालका विभिन्न थरी मदिराको गलत प्रयोगबाट शरीरमा देखिने विकृतिलाई मदात्यय रोग भनिन्छ । समग्रमा भने यसको अर्थ व्यापक छ र मदिरा बाहेकका जुनसुकै कुराको गलत प्रयोग गरेर शरीरमा नशा लागी विकार उत्पन्न भए त्यसलाई मदात्यय रोग भनिन्छ भनिएको छ । सुपारी, भाङ, धतुरो आदि नशा लगाउने अनेक पदार्थ हुन्छन् । अहिले मानिसलाई कोदाको नसाले समात्ने लक्षण देखिएको छ । आयुर्वेदका अनुसार कोदोमा मन्द किसिमले नशा दिने गुण हुन्छ, रक्सी नै बनाएर पिउनु पर्दछ भन्ने छैन । यसैले आयुर्वेद बाहेकका अन्य शास्त्रले कोदोलाई कुअन्न, बाहुनले खान नहुने अन्न आदि भनेर वर्णन गरेका हुन् । आयुर्वेदले पनि विधिपूर्वक नखाइए कोदोले समेत मदात्यय रोग निकाल्दछ भनेका छन् । आयुर्वेदमा एकाध बाहेक कोदोका लाभ दिइएको छैन । जसरी बु्रफिन, सिटामोल आदिले रोग निको नपारी रोगले दिएको पीडालाई शरीरको चेतानाशक्तिले थाहा नपाउने मात्र बनाउँदछ त्यसरी नै कोदोको खोलेले पनि बनाउँदछ । मानिसहरू कोदोको खोले खाएर मलाई यो रोग ठिक भो त्यो रोग ठिक भो भनिरहेका छन् । तर, आयुर्वेदका दृष्टिले यो ब्रुफिन खाएर रोग निको भएको भ्रम भएजस्तै भ्रम भएको मात्र हो ।

आयुर्वेदबाहेक अन्य सबै शास्त्रमा दिमाग चलाएर आजीविका चलाउनुपर्ने एवं मन्त्र उच्चारण गरिरहनुपर्ने (पढ्ने, पढाउने आदि) वर्गका लागि मदिरापान पूर्णरूपमा निषेध गरिएको छ । मत्स्य पुराणले कलियुगमा मात्र यो वर्गलाई मदिरापान निषेध गरिएको हो भनेको छ । मसँग भएका मदिरासम्बन्धी सबै शास्त्रीय संकलनलाई मन्थन गर्दा शरीरको वृद्धिक्रम जारिरहँदासम्म कुनै पनि वर्गले ओखतीकारूपमा बाहेक सोझै मदिरा सेवन गर्न नहुने देखिन्छ । यसले दिमागको मेधा (ग्रहण गर्ने क्षमता), स्मृति (सम्झने क्षमता), धैर्यधारणको क्षमता र बुद्धि एवं विवेकको वृद्धिदरलाई नियन्त्रित गरिदिन्छ । यसैले अनियन्त्रितरूपमा मदिरा पिउने वर्ग यी कुरामा अपेक्षाकृत कमजोर देखिएका हुन् ।

आयुर्वेदले ओखतीका लागि मदिरा बनाउने र प्रयोग गर्ने अनेक विधि लेखिदिएको छ । रावणले त अर्कप्रकाश नामक बेग्लै ग्रन्थ नै लेखेका थिए ।


मातापितामा भएका खराब वा राम्रा गुणहरू आनुवंशकिरूपमा सन्तानमा सर्दछ । यसैले कुनै एक पुस्ता गलत आदतमा फसेको छ भने तीन पुस्तासम्मले त्यसको असर गलत आदतमा नफसे पनि बोक्नु पर्दछ । सन्तान बिग्रे भनेर कोकोहोलो गर्नुअघि वा कुनामा बसेर आँखा रसिला पार्नुअघि हामीले आफ्नो अनुहार ऐनामा हेर्नुपर्ने हुन्छ ।

मदात्ययले गर्ने असर

विधिपूर्वक पिउने गरेमा मदिरा आदिले पनि हलाहल विषले दिए जसरी नै फाइदा दिन्छ भनेर पहिलेका श्रेष्ठ मुनिजनले बताएका छन् । तर धेरै मदिरा पिए (वा विधि नमानी पिए) यसले तिर्खा लगाउने, वाकवाकी गराउने, दम निकाल्ने, मोह गर्ने, डाह गर्ने, अर्काको अति भर पर्नुपर्ने बनाउने तथा इन्द्रियलाई पंगु बनाउनेजस्ता असर निकाल्दछ ।

नोट : मोहको अर्थ स्पष्ट पार्न चाहेँ । मोह भनेको मानसिक भ्रम हो । मदिरा पिएको मानिसमा विवेकले काम गर्दैन । भन्न हुने भए पनि नभए पनि सत्य कुरा उकेल्न थाल्दछ । आफू कुन स्वभावको छ त्यस प्रकृतिका स्वभाव बढी उत्तेजित हुने गर्दछन् । नसाले मानिसको मनमा रहेको नकारात्मक सोचलाई कृत्रिमरूपमा बढाउँदै लैजाने गर्दछ । कोमल स्वभावको मानिस छ र मायाप्रितिका कुरा निस्किए भने ऊ रोमियो र जुलियट बनिदिन्छ अनि रुनसमेत थाल्दछ ।

अलि क्रूर स्वभावको मानिस छ भने अति उत्तेजित हुन थाल्दछ र बित्तण्डा मच्चाउन थाल्दछ । मिश्रित स्वभावको मानिस भए आफूभन्दा बलियो व्यक्ति अगाडि भए रुन र निर्धो व्यक्ति अगाडि भए शूरो हुन थाल्दछ । सँगै बसेर नशा लिइरहेका साथीले उसलाई जुन भावमा लैजान्छन् त्यही भावमा गहिरिन थाल्दछ । यसैले एकपटक मदात्यय भएको मानिसलाई त्यो लतबाट बाहिर निस्कन अति नै कठिन हुन्छ । चिन्तामा परेको मानिस चिन्ता मेटिएको भ्रममा, शोकमा परेको मानिस शोक मेटिएको भ्रममा, बल भएको मानिस बल बढेको भ्रममा आदि जस्ता आआफ्ना स्वभाव अनुसारको भ्रममा रमाउने गर्दछ । मदले सबैलाई समान किसिमले असर गर्दैन । मद पिउँदाका बखतमा मानिसको शरीरमा वायु, कफ र पित्तमध्ये के कुरा बढी विकृत भएको छ सोही अनुसारका लक्षण देखिने गर्दछ ।

मदले गर्ने पहिलो असर

शरीरलाई फाइदा गर्ने प्रायः सबै कुराहरू पहिले बिस्तार पच्दछन् र त्यसपछि रस बनेर पुनः पच्दै शरीरभर फैलन्छन् । तर विष, मदिरा तथा अन्य नशा लगाउने कुराहरू र केही अन्य खानेपिउने कुराहरू खानासाथ पहिला शरीरभरि फैलिन्छन् र त्यसपछि अति छिटो पच्दछन् ।
मद्यले आफूसँग रहेको तिक्खर आदि १० गुणमार्फत् शरीरको ओजमा रहेका मन्द आदि १० गुणलाई तुरुन्त उत्तेजित पारी मनमा विकृति उत्पन्न गराउँछ । यो पहिलो प्रकार (चरण) को मद्यले शरीरमा गर्ने पहिलो असर हो । अर्थात् जतिसुकै कम मात्रामा खाइए पनि मदिराले पहिलो असर यही नै गर्दछ ।

यहाँ प्रयोग गरिएको ओज शब्दका बारेमा स्पष्ट पार्न चाहेँ । आयुर्वेदका अनुसार गर्भभित्रै आठौँ महिनामा ओज आमामार्फत् बालकमा सरेको हुन्छ । शरीरमा रहेको सम्पूर्ण तेज यही ओजका कारण आउने गर्दछ । जन्मिसकेपछि भने वीर्य वा रजसमेत पचेपछि ओजको निर्माण हुने गर्दछ । ओज बढ्नु वा यथास्थितिमा पर्याप्त मात्रामा रहनु आयु बढ्नु र ओज घट्नु आयु घट्नु हो । जथाभावी मदिरा पिउने वा अन्य कुनै नसा लिने मानिसको शरीरमा ओज विकृत भएको हुन्छ । त्यसैले तिनको शरीर एवं अनुहार सधैँ मलीन हुने गर्दछ ।

दोस्रो चरणको मद्यले गर्ने असर

(क) दोस्रो खाल (वा मद्यपानको दोस्रो चरण) को मदिराले गर्ने असर भनेको यसले प्रमाद अर्थात् पागलपन देखाउन थाल्दछ । यसबेला मूर्ख मानिसमा अत्यन्त आनन्द वा सुख भएको अनुभूति (अनुभव) हुने गर्दछ । दोस्रो चरणको मद्य पागलपनको आश्रयस्थल हुने गर्दछ । यो चरणमा पुगेका मदिरासेवीहरू निन्दनीय खालका विकृत कल्पना र विचारका खाल्डोमा डुब्न थाल्दछन् । तिनलाई गर्न हुने नहुने कुराको सोच नै हुँदैन, तैपनि ती यो अवस्थालाई सुखको अवस्था भनी सम्झने गर्दछन् । यस्तो खालको मद (नशा) लाई मध्यम मद भनिन्छ ।

(ख) मद्यपानको दोस्रो चरणमा मानिसलाई प्रमाद (पागलपन) हुन थाल्दछ । गलत विकल्पले आहत भएको (भ्रमित) मूर्ख मानिस गर्न हुने नहुने कुरा थाहा नपाउने भई यो चरणमा बढी आनन्द मान्ने गर्दछ ।

मद्यले गर्ने दोस्रो र तेस्रो चरणका बीचको संगमकालीन असर

(क) मध्यम र उत्तम (ठिकै र धेरै) मद्यपानको संगमकालमा पुगेपछि रजोगुणी र तमोगुणी मानिस हिंस्रक पशुसमान बन्न पुग्दछ । यसबेला उसले कुनै पनि दुष्कर्म गर्न सक्दछ वा गर्न थाल्दछ अथवा चेतना गुमाई मुढोजस्तो हुन पुग्दछ ।

(ख) रजोगुणी र तमोगुणी मानिस मदको दोस्रो र तेस्रो चरणको बीचमा पुगेपछि कोही मत्ता हात्ती जसरी जे पनि गर्ने अर्थात् उन्मत्त हुन्छन् भने कोही केही काम नगर्ने हुन पुग्दछन् । मद पिएर हुने यस्तो अवस्था निन्दनीय मानिस तथा खराब आदतको क्षेत्र बन्दछ । अर्थात् यसबेला मदिरा नै अनेकौँ दुर्मुख (गलत बाटो) भएको दुर्गतिको आचार्य हुने गर्दछ ।

नोट ः समग्रमा भन्नुपर्दा मदिरा पिउँदै जाँदा जब दोस्रो चरण पार गर्दछ तब तेस्रो चरणमा प्रवेश गर्नुअघिको अवस्थालाई दोस्रो र तेस्रोचरणको संगमकाल भनिन्छ । मानिसले नसाको आडमा जेजस्ता गलत कार्यका बारेमा छलफल, निर्णय र कार्यान्वयन गर्ने गर्दछ त्यो यही संगमकालमा गर्ने गर्दछ ।

व्याख्या : जुन गुणले दुःखको अनुभूति दिन्छ, अपनाउनाले आत्मालाई अप्रिय लाग्दछ तथा मन र इन्द्रियलाई परमात्माबाट हटाएर विषयमा भुलाउँदछ त्यसलाई रजोगुण भनी जान्नू । आत्मा–परमात्माको यथार्थ ज्ञान हुनु सत्व, नहुनु तम तथा राग र द्वेष हुनु रजोगुण हो । जसमा जुन गुण बढी छ त्यसलाई त्यही गुणको मानिन्छ । राजस प्रकृतिको (रजोगुणी) मानिस नुनिलो, अमिलो, तीतो, पिरो र प्रायः तातो खान मन पराउँदछ । यस्ता मानिस चलाख, गम्भीर वा अभिमानी, कम दुब्लो, चाँडै कपाल फुल्ने, रिसाहा, झगडालु, ठूलो शरीरका, महिलाको जस्तो स्वभाव हुने, क्षमताभन्दा बढी दान दिन खोज्ने, गोरो, सुनको जस्तै चम्किलो शरीरका, राम्रो वा कामुक सपना बढी देख्ने र पित्तप्रकृतिका हुन्छन् । धेरै सुत्न चाहने, बोलिरहनुपर्ने, धूर्त, निष्ठुर, नास्तिक, प्रायः बासी र अति चिसो कुरा खान रुचाउने, रुखो, खानमा बढी ध्यान दिने, अल्छी, काममा अति घमण्डी, इच्छाअनुसार दान दिने, दुब्ला, सपनामा आकाशमा उडिरहने, कालो शरीरका र वातप्रकृतिका मानिसलाई तामसप्रकृतिका (तमोगुणी) मानिस भनिन्छ । रजोगुणले मनलाई रुखो पार्दै अन्याय गर्नतिर लगाउँदछ । तमोगुणले मनलाई अन्धकारमा राखी बुद्धिलाई सही मार्गबाट विचलित पार्दछ । यो गुणले मानिसलाई धेरै सुस्त बनाई बढ्दो अज्ञानताको अन्धकारमा डुबाउँदछ । मदिरा वा नसालु पदार्थ पिएर हुने अपराध नियन्त्रण गर्ने निकायले यी कुरालाई मनन गर्न जरुरी छ ।

तेस्रो चरणको मद्यपानले गर्ने असर

पिउँदा पिउँदा तेस्रो चरणमा पुगेपछि मानिस होस हराएर लाशजस्तो हुन पुग्दछ । वास्तवमा भन्ने हो भने यस्तो पापात्मा मानिस मरेकोभन्दा पनि दयनीय हालतमा पुग्दछ ।

प्रतिक्रिया