असमान शिक्षक दरबन्दीविरूद्ध आजपाकाे प्रदर्शन

गौर । आम जनता पार्टीले विभिन्न मागसहित संघर्षका कार्यक्रम तय गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएकाे छ । असमान शिक्षक दरबन्दी वितरण सच्याउन, तहगत र विषयगत शिक्षक दरबन्दी एवं विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपूर्तिको माग गर्दै आम जनता पार्टी मधेस प्रदेश कमिटी र आम विधार्थी मोर्चाले संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका हुन् ।


गौरको मधेसी क्रान्ति चोकबाट सयौंको संख्यामा विद्यार्थी तथा पार्टी कार्यकता सहभागी रहेका ¥याली ‘अपुग शिक्षक तुरन्त व्यवस्थापन गर, शिक्षामा विभेद गर्न पाइँदैन’ जस्ता नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर ५ सूत्रीय माग र संघर्षका कार्यक्रमसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बुझाएका हुन् । ¥याली शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा पुगी त्यहाँ पनि ज्ञापनपत्र बुझाएका छन् ।


ज्ञापनपत्रमा रौतहट जिल्लामा आवश्यक शिक्षकभन्दा १ हजार ७०० शिक्षक सामुदायिक विद्यालयमा अपुग रहेको दावी गरिएको छ । जिल्लामा ३ हजार ७ सय शिक्षक हुनुपर्नेमा २ हजार मात्र शिक्षक कार्यरत रहेको हँुदा विद्यार्थीको भविष्यसँग राज्यले खिलवाड गरिरहेकोले तत्काल अपुग शिक्षकको दरबन्दी व्यवस्थापन नगरे सरकारविरुद्ध संघर्ष गर्नेसमेत चेतावनी दिइएको छ ।


बुझाइएको ज्ञापनपत्रमा शिक्षा ऐनअनुसार आवश्यकताभन्दा बढी दरबन्दी रहेको विद्यालयबाट तत्काल दरबन्दी कटौती गर, प्रत्येक विद्यालयमा तहगत र विषयगत शिक्षक आपूर्ति गर्नुप¥यो, शिक्षा विभागको मापदण्डअनुसार प्रत्येक तहको विद्यालयमा तह अनुसारको न्यूनतम शिक्षक दरबन्दी आपूर्ति गर, मधेसका अधिकांश विद्यालयमा १०० देखि ३०० सम्म विद्यार्थी रहेको विद्यालयमा तत्काल सेक्सन छुट्ट्याई अपुग शिक्षक र आवश्यक भौतिक संरचना पूर्ति गर विद्यार्थीको जनसंख्या हरेक वर्ष वृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियानसँगै अपुग हुने शिक्षक दरबन्दी वैशाख महिनाको पहिलो साताभित्र शिक्षक सेवा आयोग खोली अनिवार्य रूपमा पूर्ति गर्ने व्यवस्था गर्नुपर्ने माग उल्लेख रहेको छ ।


उल्लिखित माग सरकारले सम्बोधन नगरे चरणबद्ध रूपमा आन्दोलनको कार्यक्रमसमेत तय गरिएको छ । वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, वैशाख २५ गतेदेखि ३० गतेसम्म प्रत्येक जिल्लामा अपुग दरबन्दी पूर्ति गराउन संघर्ष समिति गठन गर्ने, वैशाख ३० गतेदेखि अभिभावक र विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, जेठ १५ गते जिल्ला शिक्षा समन्वय इकाई कार्यालय घेराउ तथा जेठ २० गते शिक्षा विभाग घेराउ गर्ने कार्यक्रम सार्वजानिक गरिएको आमविद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन् । आम जनता पार्टीको प्रदर्शनमा उपाध्यक्ष समीना हुसैन, जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, आम सांस्कृतिक महासंघका इन्चार्ज विजय यादव निर्विज, आइटी आर्मीका महासचिव नरेश तुरहा लगायतका नेताहरू सहभागी रहेका थिए ।

प्रतिक्रिया