शिक्षामा राजनीति बढी हावी – इकाइ प्रमुख पोखरेल

जनकपुरधाम । शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख चेतकुमार पोखरेलले धनुषाको शिक्षामा राजनीति बढी हावी भएकोले शिक्षा अवस्था खस्किँदै गइरहेको बताएका छन् ।

विभिन्न दलहरूले आफनो दलगत शिक्षक संघ बनाएर आफूखुसी प्रधानाध्यापक राख्ने र शिक्षकलाई आन्दोलनकर्मीको रूपमा प्रयोग गर्ने गरेकाले शिक्षामा बेथिति बढेको उनको भनाइ छ । विद्यालयभित्र आइसकेको बालबालिकालाई गुणस्तरीय शिक्षा दिन नसकिएको बताउँदै उनले दरबन्दी मिलानदेखि लिएर भौतिक पूर्वाधारको कमीजस्ता चुनौती पनि शिक्षा अवस्थामा परिवर्तन ल्याउन नसकिएको बताए ।

‘विद्यालय भर्ना अभियान सञ्चालन गर्ने तर त्यही बालबालिका इँटाभट्टामा काम गरिरहेको होटलमा मजदुरी गरिरहेको, विभिन्न गाडीमा खलासीको काम गरिरहेको देख्दा पनि सम्बन्धित निकाय चुप छन्’, उनले भने, ‘विद्यालय व्यवस्थापन समितिसमेत बन्न सकेको छैन । त्यसका लागि चुनाव गराउने प्रष्ट व्यवस्था छैन । यस्ता अफ्टारोे व्यवस्थाको कारण समस्या दिनप्रतिदिन बढ्दो रहेको छ ।’

प्रमुख पोखरेलले सामुदायिक विद्यालयप्रति अभिभावकको रुची कम रहेको अहिले पनि नजरियामा परिवर्तन आउने नसक्नु खराब शिक्षा नीतिकै कारण रहेको भएको बताए । कसैका पुस्ताले बनाएको विद्यालयमा अहिले पनि उनकै व्यक्तिले कब्जा गर्ने परिपाटी, हजारौँ विद्यार्थी भएको ठाउँमा शिक्षकको कमी र आवश्यक बजेट व्यवस्थापनको कमीका कारण शैक्षिक स्तर दुर्गतितर्फ अग्रसर भइरहेको उनले बताए । संघीय सरकारले शिक्षाको सम्पूर्ण जिम्मा पालिका निहित गरेको र पालिकामा ८ कक्षा पास भएकाहरूले शिक्षा नीति बनाउन थालेपछि धराशायी नहुने कुरै छैन, शिक्षा कार्यालयलाई अहिले इकाई बनाइएको छ तर पावर केही नदिँदा इकाइले पनि शिक्षाको दुर्गति हेरेर पनि चुपचाप बस्नुपरेको अवस्था छ’, उनले भने ।

प्रतिक्रिया